काठमाडौं, पुस १३ । नेकपा अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका छन् । चौतर्फी आलोचनाका कारण ओलीले आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न सकेका थिएनन् । २०७५ मङ्सिर २९ मा आरम्भ भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज तेस्रो बैठक सम्पन्न भएको छ ।
बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका विषयहरुमा अध्यक्षद्वय केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए । प्रतिवेदन उपरको छलफल सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा निर्णयार्थ प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
बैठकले छलफलका क्रममा व्यक्त भएका उपयुक्त विचारहरुलाई समेट्ने गरी सर्वसम्मतिका साथ राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी, संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गरी प्रस्ताव तयार गर्न रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठलगायतका ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।



