काठमाडौं । नेपाली कांग्रेसको संशोधित विधानअनुसार नियमावली अझै संशोधन भइसकेको छैन । रमेश लेखक संयोजक रहेको विधान संशोधन समितिले तयार पारेको संशोधित नियमावलीप्रति नेपाली कांग्रेसको केन्द्रीय समितिको चालु बैठकमा संस्थापन इतर पक्षले आपत्ति जनाएको कारणले गर्दा नियमावली विधान अनुरुप संशोधन हुन नसकिराखेको हो ।
संशोधित विधानअनुसार मुलुकको संघीय ढाँचा अनुरुप हुनेगरी नियमावली संशोधनको अवस्थामा संस्थापन इतर पक्षले भने निर्धारित समय यही २०७६ साल फागुन महिनामा चौधौं महाधिवेशन हुनुपर्छ भन्ने अडानमा रहेको छ । तर, अहिले बसिराखेको केन्द्रीय समितिको बैठकले संशोधित नियमावली अनुमोदन गरेपनि २०७७ साल फागुन महिनाभन्दा अगाडि नेपाली कांग्रेसको चौधौं महाधिवेशन हुनसक्ने सम्भावना छैन ।
नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको चयन अहिलेसम्म सुरु हुनसकेको छैन र संशोधित विधान अनुसार अगाडि बढाइएको नियमावली संशोधन भएपछि मात्र संशोधित नियमावली अनुसार कांग्रेसका विभिन्न तहहरुको गठन प्रक्रिया अगाडि बढ्नेछ र महाधिवेशन प्रतिनिधिको पनि चयन हुनेछ । मुलुकको संघीय संरचनासंग तालमेल हुनेगरी नेपाली कांग्रेसले पाँच तहको संगठनलाई बढाएर आठ तह बनाएको छ ।
महाधिवेशन प्रतिनिधि चयन हुनका लागि बुथ कमिटी, वडा कमिटीदेखि क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीसम्मको गठन भइसक्नुपर्दछ । यसैगरी निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश कमिटीहरुको गठन पनि महाधिवेशन अगाडि नै भइसक्नुपर्दछ । यी सबै प्रक्रिया पूरा गर्नका लागि कम्तीमा एक बर्ष लाग्नसक्ने कांग्रेस सचिवालयको भनाई रहेको छ । त्यसकारण संस्थापना इतरले निर्धारित समयमा नै महाधिवशेन हुनुपर्छ भन्ने अडान संस्थापन पक्षमाथि दबाब कायम राख्न मात्र दिइराखेको हो भनिन्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा दोहो¥याएर पार्टी नेतृत्व आफ्नो हातमा लिने पक्षमा छन् । कांग्रेसका अधिकांश शीर्ष नेताहरु विरोधमा भएपनि सभापतिको दौडमा भने देउवा नै सबैभन्दा बलिया र अगाडि देखिएका छन् । तर कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन् कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । कांग्रेस विधानको यही प्रावधानले नै देउवालाई सभापति हुनबाट रोक्नसक्ने स्थिति रहेको छ ।
तेह्रौं महाधिवेशनमा पनि सभापतिका निम्ति भएको पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले ५१ प्रतिशत मत नल्याएपछि सबैभन्दा कम मत ल्याउने सिटौला बाहिरिएस“गै सभापतिका निम्ति देउवा र पौडेलका बीचमा दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा सिटौलाले समर्थन गरेको कारणले गर्दा मात्र देउवा बल्लतल्ल सभापतिमा निर्वाचित भएका थिए ।
चौधौं महाधिवेशनमा पनि सभापति चयनका लागि दोस्रो चरणको निर्वाचनसम्मै पुग्नुपर्ने अवस्था आउने देखिन्छ । पहिलो चरणको निर्वाचनमा देउवा इतर पक्षबाट एकभन्दा बढी उम्मेद्वार भएपनि दोस्रो चरणको निर्वाचनमा भने देउवा इतर पक्षबाट एकजना मात्र उम्मेद्वार हुने र ती उम्मेद्वारलाई देउवा इतर पक्षले एकमुष्ट सहयोग गर्ने स्थिति अहिलेको कांग्रेस राजनीतिले देखाएको छ ।
दोस्रो चरणको निर्वाचनमा इतर पक्ष एक भए भने सभापति शेरबहादुर देउवा दोहो¥याएर सभापति निर्वाचित हुनसक्ने देखिदैंन । यही कारणले गर्दा पनि सभापति देउवा पक्ष चौधौं महाधिवेशनको समय सकेसम्म बढाउने पक्षमा छ र कांग्रेसको विधानअनुसार एक बर्ष थप गरेर पाँच बर्षमा कांग्रेसको महाधिवेशन हुनसक्छ भने नेपालको संविधानअनुसार अर्काे ६ महिना पनि महाधिवेशनका निम्ति थपिन सक्दछ ।



