अंग्रेजहरू बंगाल कब्जा गर्ने प्रयत्न गरिरहेका थिए । किन्तु नवाव सिराजुद्दौलाको कुशल नीति र वीरताको अगाडि अंग्रेजको दाल गलेको थिएन । बारम्बार हार खाएपछि अंग्रेजले कूटनीतिबाट काम लिने सोचे । उनीहरूले सिराजुद्दौलका सेनापति मीर जाफरलाई अंकुश हाल्न थाले । उनीहरूले पत्ता लगाए कि मीर जाफर एक कुशल सेनापति हुँदाहुँदै लोभी पनि छ । अंग्रेजले उसलाई बंगालको नवाव बनाउने लोभ देखाएर आफ्नोतर्फ मिलाए । मीर जाफर नवावीको सपना देख्न थाले । उता अंग्रेजले नयाँ तयारीका साथ बंगालमाथि आक्रमण गरे ।
सिराजुद्दौलले आफ्ना सेनापति मीर जाफरलाई युद्धमोर्चामा खटाए । नवावका सिपाही वीरतापूर्ण ढंगले लडे । तर मीर जाफरको विश्वासघातको कारण युद्ध अंग्रेजले जिते र बंगालमा राज गर्न थाले । युद्ध जीतपछि सेनापति मीर जाफर जब अंग्रेजहरूसँग आफ्नो बचन पूरा गर्न भन्न गए तव अंग्रेजले यसो भनेर सेनापतिलाई तलवारले गर्धन छिनाले ‘जब तिमी आफ्ना राजा सिराजुद्दौलको त हुन सकेनौं भने हाम्रो त झन् के हुन्थ्यौं ?’



