रवि बुल्फ आफ्नोे समयका एकजना प्रसिद्ध यहुदी धर्मगुरु थिए । एकपटक उनको घरमा एउटा चाँदीको कचौरा चोरी भयो । रवि बुल्फकी श्रीमतीलाई त्यो कचौरा नोकर्नीले चोरेको शंका थियो । उनले यस विषयमा नोकर्नीसँग सोधपुछ गरिन् । तर नोकर्नीले चोरीको आरोपको ठाडै अस्वीकार गरी । रवि बुल्फले आफ्नी श्रीमतीलाई विनाप्रमाण कसैमाथि पनि झुटो आरोप लगाउनु पाप हो भनेर सम्झाए । तर उनकी श्रीमतीले मानेकै होइन । बुल्फकी श्रीमतीले नोकर्नीका विरुद्धमा यहुदी धर्म अदालतमा चोरीको मुद्दा दायर गरिन् ।
मुद्दाको बहस हुने दिन पत्नी तयार भएर अदालततिर जान थालिन् भने रवि बुल्फ पनि धर्मगुरुले लगाउने पहिरन लगाएर श्रीमतीसँगै निस्किए । श्रीमान श्रीमती दुवै जना एउटै कारमा सवार भए । बाटोमा श्रीमतीले बुल्फसँग सोधिन्–आज तपाईं कसको मुद्दाको बहस गर्न गइराख्नुभएको छ ? बुल्फले जवाफ दिए– आज मलाई एउटी गरीव नोकर्नीको तर्फबाट बहस गर्नु छ, जसमाथि विनाप्रमाण चोरीको झुटो आरोप लागेको छ । प्रत्येक निर्दोष व्यक्तिको रक्षा गर्नु हरेक धर्मगुरुको कर्तव्य हो । श्रीमानको यस्तो कुरा सुनेर श्रीमती उनको अनुहार हेरेको हे¥यै भइन् ।



