कुनै ठाउँका अग्रज समाजसेवीहरूले मिलेर आँखा शिविर सञ्चालन गरेका थिए । हप्तौंसम्म सञ्चालन भएको त्यो शिविरमा डाक्टरहरूले रोगीको उपचार गर्दथे भने स्वयंसेवकहरूले उनीहरूको सेवा–सुश्रुषा तथा देखभाल गर्दथे । आँखारोगीहरूको उपचारदेखि सेवा निस्वार्थ भावबाट हुने गर्दथ्यो । शिविरको समापनको दिन त्यहाँ एकजना मन्त्री आए ।
त्यहाँको वातावरण, उपचारदेखि रोगीको सेवाको प्रक्रिया देखेर अत्यन्त प्रभावित भएका मन्त्रीले आयोजकमध्येका एकजना समाजसेवीसँग सोधे– यस्तो काम सरकारले लाखौं रुपैयाँ खर्च गरेर पनि यति व्यवस्थितरुपमा सञ्चालन गर्न सक्दैन, तर यहाँ त अत्यन्त सहज ढंगबाट भएको छ, आखिर यसको रहस्य के होला ? ती समाजसेवीले स्वभाविक रुपमा मुस्कुराउँदै भने– काम र सेवामा ठूलो अन्तर छ ।
वेतनभोगी सरकारी कर्मचारी यस्ता गतिविधिलाई काम भन्दछन् । तर समाजसेवी संगठन तथा व्यक्तिहरू यसलाई सेवा मानेर गर्दछन् । त्यसैले गर्दा सरकारले आयोजना गरेका कामहरू त्यति सफल हुँदैनन् ।



