काठमाडौं । नेकपा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच पुनः संवाद सुरु भएको छ । संवादले सकारात्मक दिशा पक्डिएको स्रोतले जनाएको छ ।
राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वानपछि दुवै समूह अप्ठ्यारोमा परेका छन् । माधवपक्षीय सांसदले राजीनामा दिएर जाँदा पार्टीसँगै अहिले रहेको सत्तासमेत गुम्ने भयले केपी शर्मा ओली त्रस्त छन् भने माधव नेपाल आफूपक्षीय सांसद सामूहिक राजीनामा दिन तयार नभएपछि सकसमा छन् । यहीबीच दोस्रो तहका नेताहरूले पार्टी एकता जोगाउन पुनः संवाद थालेका हुन् ।
‘माधवपक्षीय सांसदले राजीनामा दिँदा सत्ता गुम्ने भयपछि केपी र सोचेअनुसारका सांसद राजीनामा दिन तयार नभएपछि माधव नेपाल पुनः संवादका लागि नजिकिएका छन्,’ स्रोतले भन्यो ।
पार्टीलाई एकीकृत राख्न एमालेको दोस्रो तहका नेताहरू विष्णु पौडेल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत सक्रिय बनेका छन् । बिहीबार बिहानै मात्र पनि पौडेलले नेता माधवकुमार नेपालसँग पार्टी एकता जोगाउनेबारे संवाद गरेका छन् । ओली स्वयंले पनि संवादका लागि माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरेको खबर प्रकाशमा आएको छ ।
केपी शर्मा ओलीले कारबाही गरेपछि यसको वैधानिकतामाथि माधव पक्षले प्रश्न उठाउँदै आएको छ । माधव नेपाल पक्षले सुरुदेखि नै कारबाही खारेज गरेर ०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने माग राख्दै आएको छ । नवौं महाधिवेशनको निर्णयलाई ओलीले आफूखुसी बदर गर्न नमिल्ने यो पक्षको तर्क छ ।
एमाले २०७५ जेठ २ गतेकै अवस्थामा फर्किएमा वरिष्ठ नेता माधव कुमार नेपाल, नेता झलनाथ खनाल, उपाध्यक्षहरू वामदेव गाैतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पाेख्रेल उपमहासचिवद्वय विष्णु पाैडेल, घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ्ग, याेगेश भट्टराई, भीम आचार्य र गाेकर्ण विष्टलाई पुरानै हैसियतमा फर्काउनुपर्नेछ ।
अप्ठ्यारोमा पूर्वमाओवादी खेमाका नेतालाई समेटेकाले ओलीले माधवको यो गुनासोलाई पन्छाउँदै आएका छन् ।
माधव नेपालहरूकाे कारवाही फिर्तापछि अब उल्लेखित पदाधिकारी सहितकाे स्थायी समित बसे मात्रै २०७५ जेठ २ गते फर्किने माधव नेपाल पक्षहरूकाे अडान रहेकाे छ । यी सबै विषयमा छलफल गर्न आज अध्यक्ष के पी शर्मा ओली र माधव नेपाल छलफल हुने भएकाे छ । यसमा स्वयं केपी शर्मा ओलीसमेत सकारात्मक बनेको बताइएको छ ।
बिहीबार बिहान बसेको एमाले स्थायी समिति बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गरेको छ । यो फुकुवालाई यसकै पूर्वसंकेतका रूपमा बुझिएको छ ।
‘ओलीले अब ०७५ जेठ २ मा फर्कंने निर्णय गरे आश्चर्य नमाने हुन्छ,’ स्रोतले भन्यो ।
यहीबीच, माधव नेपाल पक्षले केपी ओलीको विकल्पमा अब सुवास नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने अर्को प्रस्ताव पनि घुसाएको छ । यसो गर्दा एमालेको एकता पनि जोगिने र माओवादी केन्द्रसहितको वामगठबन्धनले पनि निरन्तरता पाउने माधव पक्षको तर्क छ ।
प्रधानमन्त्री के पी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भर्खरै ट्वीट गरेका छन्-''पार्टीको एकतालाई ध्यानमा राखी नेकपा (एमाले) स्थायी समितिको आजको बैठकले पार्टीका नेताहरू- माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको छ।''



