मेरो बिहेको कुरा चलेदेखि आमाका आँखा ओभाना छैनन्

मेरो प्यारो माइती घर : कहिल्यै ‘पराई’ नबनिदिनु

आज मेरो विवाहको दिन जीवनको एक नयाँ अध्याय सुरु हुने क्षण । यो मेरो लागि खुशीको लहर मात्र होइन, छोरीको जीवनमा आउने सबैभन्दा भावुक मोड पनि बनेको छ । आज माइतीबाट एउटा छोरी घट्दैछु, तर मनका हरेक कुनामा माइतीकै माया, सम्झना र सिकाइ बोकेर नयाँ घरतिर पाइला चाल्दैछु ।

सानैदेखि हुर्केको आँगन, आमाको माया, दाजुभाइको साथ दिदी–बहिनीको सपोर्ट यी सबैलाई पछि छाडेर आज म ‘पराइ घर’तिर जाँदैछु । यो मेरो पालोमा मात्र होइन, पुस्तौंदेखि चलिआएको परम्पराको निरन्तरता हो । तर परम्पराभन्दा माथि उठेर आज मेरो मनमा एउटा मिश्रित अनुभूति छ–खुशी पनि, पीडा पनि । आँखा रसाउँछन्, तर मुटुमा आशाको दीप पनि बलिरहेको छ ।

आजदेखि म कसैकी बुहारी, कसैकी जीवनसाथी बन्दैछु । नयाँ घर, नयाँ सम्बन्ध, नयाँ जिम्मेवारी सबैकुरा नयाँ भएपनि म आफैंलाई हराउन चाहन्न । मेरो श्रीमानको समझदारीले मलाई गर्व महसुस गराएको छ । छोरी भएर जन्मिनु कमजोरी होइन, शक्ति हो भन्ने सन्देश दिन चाहन्छु । आज म बिहे गरेर जाँदैछु, तर माइतीको माया र संस्कार सधैं मेरो साथमा रहनेछन् । यही भावनाका साथ, नयाँ जीवनप्रति आशावादी हुँदै, म आफ्नो भविष्यतिर अघि बढ्दैछु ।

आमा, तपाईँको साहारा छुट्दैछ…
सानैछँदा बुबाको सामीप्यता गुमाउनु पर्दाको त्यो रिक्तता मेरी आमाले हामी छोराछोरीको छायाँ बनेर मेट्नुभयो । आमाका लागि म एउटा छोरी मात्र थिइनँ, म उहाँको साहस र एउटा बलियो खम्बा थिएँ । बिहेको कुरा चलेदेखि नै आमाका मनमा निराशा छाएको छ, आँखा ओभाना छैनन् ।

म आमालाई सम्झाउँछु ‘आमा, तपाईँको एउटा छोरीको संख्या घटेको होइन, तपाईँलाई अर्को साहारा गर्ने एउटा छोरा (ज्वाइँ) थपिनुभएको हो । तर यसो भनिरहँदा मेरो आफ्नै मुटु भने छियाछिया भइरहेको छ । बुबा, भइदिएको भए आज म ढुक्कले ‘छोरी’ मात्र भइ बिदा भएर पराई घर जान्थें होला तर आज आमालाई एक्लै छाडेर जाँदा जिम्मेवारीको भारीले मन थिचिएको छ ।

माइतीघर र सम्झनाका तरेलीहरू

बाल्यकालमा दाजुभाइसँग खेलेका ती आँगन, सँगै खाएका ती गाँसहरू अब ‘पराई’ झैँ लाग्नेछन् । सोच्दा पनि मन भक्कानिएर आउँछ । हिजोसम्म जुन घरको म हकदारी छोरी थिए आजबाट त्यही घरमा पाहुना बनेर आउनुपर्ने छ ? एउटा छोरीका लागि यो भन्दा ठूलो विडम्बना के होला ? हुर्किएपछि छोरीले पराई घर जानैपर्छ भन्ने समाजको रित त छ, तर आफ्नै जन्मघर पराइ बन्नुको पीडा एउटी छोरीलाई मात्र थाहा हुँदो रहेछ ।

नयाँ सुरुवात : विनोद र म

आजबाट मेरो सिउँदोमा सदाका लागि सिन्दुर भरिँदैछ । चिनजान नै नभएको, एउटा अपरिचित व्यक्तिसँग अब मेरो बाँकी जीवनको नाता जोडिँदैछ । विनोद, आजबाट हामी दुई मुटु एक धड्कन बन्दैछौँ । म तपाईँको घरमा बुहारी बनेर त आउँदैछु, तर मलाई छोरीकै जस्तै व्यवहार मिलोस् भन्ने चाहना छ । म आफ्ना सासू–ससुरालाई आफ्नै आमाबुबा सरह सम्मान र माया दिनेछु ।

मेरो कामना यति मात्र छ । मेरो श्रीमानको प्रिय पात्र म मात्र बनूँ, र मेरो लागि उहाँ मात्र सर्वस्व बन्नुहोस । मैंले कसैको श्रीमती, कसैको बुहारी भएकै कारण कहिल्यै कुनै हिंसाविरुद्ध आवाज उठाउनु नपरोस्, अपहेलना सहनु नपरोस् । मेरो कर्मघरले मलाई विश्वास गरोस्, ताकि म दुवै घरको जिम्मेवारीलाई सन्तुलित रूपमा निभाउन सकूँ ।

बिदाइको क्षण

ए, मेरो प्यारो माइती घर । म तिमीबाट टाढा जाँदैछु तर तिमी मेरो लागि कहिल्यै ‘पराई’ नबनिदिनु । आमा, म बिहे गरेर टाढा गएपनि मेरो मन सँधै तपाईँकै काखमा हुनेछ । आज वैशाख १ गते, मेरो सिउँदो रङ्गिँदै गर्दा मेरो जन्मघर रोइरहेको छ र कर्मघर खुसीले नाचिरहेको छ । यो स्वभाविक प्रकृया पनि हो । यो आँसु र मुस्कानको दोसाँधबाट म आफ्नो नयाँ जीवनको यात्रा सुरु गर्दैछु । विनोद, धेरै धेरै माया ! आजबाट हाम्रो नयाँ संसारको सुरुवात भयो ।

-सन्तोषी रावल, नेपाल न्यूज बैंक