सत्यम् सेवा सुरक्षणम् नेपाल प्रहरीको मूल मन्त्र हो । तर ललितपुर प्रहरी परिसरमा यो मन्त्रको ठीक विपरीत काम हुँदैआएको छ । ललितपुर परिसरकै पेरिफेरीमा १२ बर्षभन्दा बढी समयदेखि कार्यरत प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यलाई मुद्दा फाँटको प्रमुख बनाएर एसएसपी गणेश ऐरले असुली अभियानै चलाएका छन् ।
ऐर र आचार्यको असुली अभियानमा सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख राम घिमिरे पनि जोडिन पुगेका छन् । यी तीन जनाको समूहले पीडितको मिसिल समेत बिगारेर पीडकलाई उन्मुक्ति दिंदै फाइदा लिने गरेका छन् । प्रहरी निरीक्षक आचार्य असई, सई र इन्स्पेक्टर बढुवा भएपनि पनि ललितपुरमै छन् । उनी लगातार ललितपुर बसेको ६ बर्ष भइसकेको छ भने त्यसभन्दा पहिले सई हुँदा ८ बर्ष उनी ललितपुरमै कार्यरत थिए । उनले जागिरे जीवनमा ललितपुरबाट बाहिर जानुपरेको छैन भन्दा पनि हुन्छ ।
ललितपुरका सबै घुस खाने ठाउँहरू थाहा पाएकाले पनि उनलाई जो हाकिम भए पनि असुलीमा परिचालन गर्दैआएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा लामो समय कार्यरतलाई सरुवा गरे पनि जिल्लामा जागिर खाएदेखि जरा गाडेर बसेका आचार्यजस्तालाई सरुवा गरेका छैनन् । आइजीपी खनालले पद सम्हाल्नासाथ ललितपुरका एसएसपी ऐर धेरै बदनाम भएकाले उनलाई तत्काल तान्ने भनेका थिए । तर अहिले तिनै ऐर उनका विश्वासिला बनेका छन् ।
ललितपुर प्रहरी कार्यालयमा इन्स्पेक्टर आचार्य र सरकारी वकिल कार्यालयका घिमिरेको सेटिङमा धेरै मुद्दामा मिसिल बिगार्दै पीडकसंग लाभ लिंदैआएका छन् । उदाहरणका लागि निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधी यादवको घरमा २०७५ बैशाख ९ मा बम बिष्फोट गराउनेलाई सेटिङमा छाडेको घटनाले पुष्टि गरेको छ । प्रमुख आयुक्त यादवको घरमा बम बिष्फोटमा संलग्न ललितपुर जिल्ला सेक्रेटरी भिमसेन घिमिरे, बाबुराम राई, धिरेन्द्रकुमारी उपाध्याय, सफल बाबु कुँवर र विकास महर्जनको मुद्दा कमजोर बनाएर पेश गरेपछि उनीहरू तत्कालै छुटिसकेका छन् ।
प्रमुख आयुक्तको घरमा बम बिष्फोट गराउनेहरूको मुद्दा त कमजोर बनाएर पेश गर्नेले अरु कति मुद्दामा फाइदा लिए भन्ने सहजै अनुमान गर्न सकिन्छ । सरकारी वकिलको कार्यालय केही ब्यक्ति र इन्स्पेक्टर आचार्यको काम नै पीडकसंग मोलमोलाई गर्ने र मिसिल बिगारेर खाने हुँदैआएको छ । मुद्दामा पीडकसंग मिलेर सेटिङ गर्ने सरकारी वकिल घिमिरेले खतरा हुने देखेर कार्यालयमा प्रहरीको डफ्फा नै राखेर बसेका छन् । यसअघिका सरकारी वकिल कसैले पनि प्रहरीको डफ्फा कार्यालयमा राख्ने गरेका थिएनन् ।
राम घिमिरे आएपछि प्रहरीको डफ्फा सरकारी वकिलमा राख्ने गरिएको छ । एसएसपी ऐरले इन्स्पेक्टर आचार्यको असुलीलाई संरक्षण गरेका छन् । यसरी मुद्दाको मिसिल बिगारेर पीडकसंग मिलेर लिएको फाइदाबाट इन्स्पेक्टर आचार्यले हात्तीवनमा भर्खरैमात्र १ करोड रुपैयाँमा जग्गा खरिद गरेका छन् भने एसएसपी ऐर र सरकारी वकिल घिमिरेले झन् कति कमाए होलान् ? यस्ता भ्रष्ट र पीडकसंग मिलेर पीडितलाई दुःख दिएर लाभ लिने इन्स्पेक्टर आचार्यलाई एसएसपी ऐरले उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरेको दुखेसो परिसरका अरु अधिकृतको छ ।
एसएसपी ऐरले असुलीमा इन्स्पेक्टर आचार्यमात्र होइन, बडीगार्ड असई शिव थापालाई पनि परिचालन गरेका छन् । उनले जिल्लाका प्रभाग र बृत्तहरूमा असुली गर्न थापालाई लगाउने गरेका छन् । असई थापा ललितपुर परिसरमा बसेको १७ बर्षमात्र भएको छ । असई थापाको काम नै अरु प्रहरीका कुरा एसएसपीलाई लगाउने हो । थापाले जिल्लाभरका प्रहरीसंग पैसा माग्ने नदिए एसएसपीलाई भए नभएका कुरा लगाएर कारबाही गराउने गर्दैआएका छन् । उनको काम हरेक एसएसपीलाई पोल लगाउने हुँदैआएको छ ।
–भवदीय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी कर्मचारी



