काठमाडौं, बैशाख ७ \\ राष्ट्रिय जनता पार्टीमा असहमति बोकेर बसेका असन्तुष्टहरुको ठूलो समूहले पार्टी फोडेर निस्केका छन्।
उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रीय सदस्यहरु राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् । हजारौं कार्यकर्ता साथमा रहेको उनीहरुले दाबी गरेका छन्।
नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) राखेका छन् ।
महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको उनीहरुले जानकारी दिएका छन् ।
तदर्थ समितिको संयोजकमा अशोककुमार यादव, सह-संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा रहेका छन् । प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।
मधेस आन्दोलनमा निर्दोष जनताले ज्यान गुमाउँदा राजपाका अध्यक्षमण्डले मात्रै फाइदा लिएको, जनताका समस्या बुझ्न छाडेर अन्यत्रै धाएको लगायतका आरोप उनीहरुले लगाएका छन् ।
सह-संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको बताए । राजपा नेपालका अध्यक्ष मण्डलहरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप लगाउँदै सिंहले भने, ”उनीहरुबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएका हौं ।”



