सन् २०१० सम्म सिरिया सुन्दर सुखी र शान्त देश थियो । तन र मनका सुन्दर सिरियाली भएर जन्मनु वरदान सम्झिन्थे । देश विकसित र जनता धनी थिए । खान, लाउन, पढ्न, लेख्न, हाँस्नु स्वतन्त्रता थियो । गुराँसजस्तै सुन्दर बच्चाबच्चीहरु आमाको न्यानो काखमा लुटपुटिँदै निदाउँथे ।
एक बर्षपछि सुरु हुने युद्धको रुथलेस सुनामीले ल्याउन खोजिरहेको बर्बादीबारे विल्कुलै बेखबर थिए उनीहरु । सायद नियतिलाई सिरियाली खुसी मञ्जुर थिएन । शनिको कडा नजर परेजस्तै सन् २०११ बाट सिरियाको खुसी लुटिन सुरु भयो । सिरियाको भाग्यमाथि युद्धको चट्याङ बज्रियो ।
सुपरपावर अमेरिकाको मामुली अहम्को कारण हाँसो र खुसीमा रमाइरहेको देश हेर्दाहेर्दै आँशु र रगतमा डुब्यो । मध्यपूर्वको भूस्वर्ग सिरिया स्वर्गबाट नर्कमा फेरियो † गडबडीको चक्र त्यहीँबाट सुरु हुन्छ, जब जनताले रुचाएर जिताएका राष्ट्रपति बसर अल असद अमेरिकालाई पटक्कै मन परेन ।
त्यसैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका यी हितैषी अमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘शत्रु’ सूचीमा चढिहाले । सोकल्ड जस्मीन रेभोल्युसन भड्काएर असदलाई दोस्रो कर्णेल गद्दाफी बनाउने अमेरिकाले विद्रोही लडाकु दस्ता बनाइदियो ।
पश्चिमा हतियार र पैसाको आडमा उफ्रिएका तिनै कट्टर मुस्लिम धर्मान्ध जेहादलीहरु अन्तत आइएसमा बदलिए । आतंकको ब्यान्ड बजाउने विद्रोहीलाई अमेरिकाले बोक्यो र असद सरकारलाई रुसले काखी च्याप्यो । यसरी शुरु भयो सिरियाको तबाहीको दारुण कथा ।
सिरियामा अहिले क्रुर बमको धमाका छ । जनताका घर, महलहरु खरानीमा परिणत भएका छन् । न पढाई छ, न कमाई छ, न व्यापार छ, न घर छ, न अन्न छ, न धुन छ, न बाबुआमा छन् । छ त केवल भोक, रोग, गरिबी, अभाव, मृत्यु र बारुदको धुवाँले बनाएको निष्पट्ट अँध्यारो ! खरानीमा परिणत हुँदैछ सिरिया । कठै ! हेर्नै नसकिने युद्धपीडित बालबालिकाहरुको कारुणिक चित्कार ! सहनै नसकिने त्यो विनाशलीला !
भोक र घाउको असह्य पीडामा गुमाएका अभिभावक र भत्किएको घर सम्झँदै कहालिँदै रोइरहेका लाखौलाख टुहुरा बालबालिलकाहरुको हालत अब के होला ? अब के गर्ने ?
सिरियाको भाग्य बदल्ने गरी स्थायी शान्ति बहाल गर्न संसारभरीबाट दबाब दिऔं । जसरी दोस्रो विश्वयुद्धले ध्वस्त पारेको युरोप र जापानलाई मार्शल प्लानमार्फत भव्य पुननिैर्माण गरियो त्यसरी नै संसारभरीबाट खर्बौं डलर सहयोग गरेर सिरियालाई पहिलेभन्दा ज्यादा विकसित, धनी र सुखी बनाआंै । युद्धपीडितलाई चाहिंदो क्षतिपूर्ति दिलाऔं ।
ता कि सिरियाको आकाशले चील गिद्धको उडानबाट हमेशाको निम्ति मुक्ति पाओस् । स्वच्छ आकाशमा परेवा जोडीहरु उन्मुक्त उड्न सकुन् । सिरियालीहरु आँशुको भेल तरेर हाँसोको पूmलबारीमा रम्न सकुन ।
द्वन्द्व पीडित बालबालिकाहरु पहिलेभन्दा ज्यादा निर्भयका साथ जताततै हाँस्दै, खेल्दै र पढ्दै गरेको देख्न पाइयोस् र युद्धबाट तङग्रिएका सिरियालीले कुनै दिन आजको विभत्स त्रासदीलाई दुस्वप्नको रुपमा भुल्न सकुन । बुद्धको देशमा जन्मिएर मानवताको पूजारी कहलिएका हामी शान्तिप्रिय नेपालीहरुको यही कामना छ । विश्व शान्ति, मानव अधिकार र लोकतन्त्रका ठेकेदारहरु सिरियाको नरसंहारबारे किन मौन छन् ?
इराक र इजरायलको बीचमा रहेको १ लाख ८५ हजार १ सय ८० वर्ग किमि क्षेत्रफल र झण्डै अढाई करोड जनसंख्या भएको देश सिरियाको प्रतिव्यक्ति आय सन् २०१२ सम्म २ हजार ९० डलर थियो । तर युद्धले गर्दा आज त्यहाँको अर्थतन्त्र धरासायी छ । सिरिया सन् १९४६ मा फ्रान्सेली उपनिवेशबाट मुक्त भएपनि शैन्य विद्रोहको चपेटामा प¥यो ।
सन् १९६७ मा भएको इजरायल–अरब युद्धमा (इजरायल तथा सिरिया, लेबनान, इजिप्ट र जोर्डनबीच भीषण युद्ध) सिरियाले गोलान हाइट र सिनाई गुमाउन बाध्य भयो । बाथ पार्टीको नेतृत्व सम्हाल्दै सन् १९७१ मा हाफेज अल असद सत्तामा पुगेपछि त्यहाँ स्थिरता र विकासको सुरुवात भयो ।
झण्डै ३० बर्ष शासन गरेका हाफेजको निधनपछि उनका छोरा बल असद सन् २००० देखि अहिलेसम्म लगातार राष्ट्रपति छन् । बाथ पार्टीको वामपन्थीसहित अन्य साना ६ वटा पार्टीको सहायतामा सत्तामाथि वर्चश्व जमाएपनि अमेरिका समर्थित विद्रोहको सामना गर्नुपरेको छ । रुसले बसरको वैधानिक सत्ता जोगाउन आइएसविरुद्ध कारवाही गरेको घोषणा गरेको छ ।
अहिले संसारकै पुरानो मध्ये एक मानिने शहर राजधानी दमास्कस, डेरा, अलेप्पो, हामालगायत क्षेत्रहरु द्वन्द्वग्रस्त भएका छन् । लासहरुको पिरामिड बन्दैछ त्यहाँ रफिक हत्याकाण्ड पश्चात लेबनानमा साद हरिरी(पुत्र) सत्तामा आए ।
त्यही लेबनान समर्थिन हेजबुल्लाह समूह र इरानले सिरियालाई सहयोग गर्दैछ । अमेरिकाको विश्व–नीति एकदमै विवादास्पद छ । उसैले अफगानिस्तानमा सोभियत समर्थित तात्कालीन राष्ट्रपति डा.हनिबुल्लाहविरुद्ध बिन लादेनहरुलाई मुजाहिद्दिनको भेषमा डलर र हतियार दिएर उता¥यो । त्यही समूहपछि अलकायदा बनेर अमेरिकाको टेन्सन बन्यो ।
कुनै समय अमेरिकाको आशीर्वाद प्राप्त महाजीर कवामी मुभमेन्ट, लस्कर ए तोएवा, जैसे–ऐ–मोहम्मद, अंगोलाको युनिटी, हज्वे इश्लामिक, अबु सैयाफ, कुर्द मुसलमान, मुल्लाह मोहम्मद ओमार नेतृत्वको तालिवान, हक्कानी नेटवर्कलगायत विश्वभरीका इस्लामिक अतिवादीहरु यतिबेला किन पश्चिमा शक्तिको ज्यानी दुश्मन भएर निस्किए होलान् ?
सन् १९६४ सेप्टेम्बर ११ मा दमास्कसमा जन्मिएका बसरले बेलायतमा अध्ययन पश्चात बाबु हाफेजको मृत्यु लगत्तै सिरियाको शासकीय कमाण्ड सम्हालेका हुन् । हाल साम्राज्यवादी हस्तक्षेप र आइएसको आतंकको कारण गृहयद्ध भड्किएर सार्वभौमसत्तामाथि नै चुनौती खडा भएको छ ।
त्यहाँ स्थायी शान्ति बहाल गरेर गृहयुद्ध समाप्त पारि सिरियालाई पुन विकासको समृद्धिको मार्गमा हिंडाउन विश्व समुदायले सिरियालाई सक्दो सहयोग गर्नुपर्ने आवश्यकता छ । असंलग्न परराष्ट्र नीतिमा विश्वास राख्ने नेपाल, चीन, संयुक्त राष्ट्रसंघलगायतका देश एवं संस्थाहरुले सिरियामा शान्ति बहाल गरेर त्यहाँ पुन विकासको मूल फुटाउन मद्दत पु¥याउनु नितान्त जरुरी छ ।



