२०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछि पनि नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छैनन् । कांग्रेसले जन विश्वास गुमाइसकेपछि पनि बहुमत प्राप्त सरकारले भैmं राज्यको ढुकुटीबाट आर्थिक सहयोग बाँड्ने, नियुक्ति सरुवा र बढुवा गर्ने जस्ता काम जारी राखेका छन् । अझ जनादेश गुमाइसकेको सरकारका मन्त्रीहरू विदेश भ्रमणमा जानसमेत कुनै लज्जा समेत मानिरहेका छैनन् ।
सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत १ साता जापानको सयर गरेर फर्किएका छन् । राजनीतिक सहमतिविना कांग्रेसको स्वार्थअनुरुप पेश गरिएको राष्ट्रिय सभाको अध्यादेशमा हलो अड्काएका सत्तालोलुप देउवा अहिले पनि राजीनामा नदिई कुर्सीमा टाँसिरहेका छन् ।
अध्यादेश जारी भएपछि राजीनामा दिने भनेका उनी अहिले फेरि नयाँ नयाँ बहनाबाजी गरिरहेका छन् । र, राज्यकोषबाट यसबीचमा पूर्वसभामुख तारानाथ रानाभाटदेखि विभिन्न कांग्रेस नेता कार्यकर्तालाई राज्यको ढुकुटीबाट दसौं करोड रुपैयाँ बितरण गरिरहेका छन् । गोरखापत्र संस्थान, चलचित्र विकास बोर्ड, बीमा बोर्ड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, खानेपानी संस्थानमा नियुक्ति गरिनै रहेका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिव फेरबदल समेत उनले गरिसकेका छन् ।
यसले देउवा सरकार दुई तिहाई बहुमतको नजिक पुगेको वाम गठबन्धनलाई सरकार सहजै हस्तान्तरण गर्ने पक्षमा छैनन् भन्ने संकेत गरेको छ । उनी अब ५ बर्षसम्म सरकारमा आउन नपाउने भएकाले धेरै दूरगामी महत्वका निर्णय गरी आर्थिक लाभ लिन तल्लीन छन् । आर्थिक लाभकै लागि उनले विभिन्न मन्त्रालयका कानून विपरीतका निर्णय समेत गरिरहेका छन् । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका शेरबहादुर देउवालाई पदबाट राजीनामा गराउन अब बालुवाटार घेर्ने अभियान थालौं । लूटतन्त्र रोकौं अभियान संचालन गरौं भन्ने आव्हान गर्न चाहन्छौं ।
–कृष्ण विष्ट, हरिगोपाल महर्जन, राम शर्मा, बालुवाटार, काठमाडौं ।



