काठमाडौँ, पुस २१ गते। प्रदेश राजधानीको विषयलाई लिएर विभिन्न जिल्लाहरुमा संघर्ष चलिरहेको छ । सरकारले अस्थायी राजधानी तोक्न गृहकार्य गरेको कुरा समाचारमा आएका छन् । त्यसप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
चित्रबहादुर केसीले भनेका छन् ''यसबारेमा हाम्रो के स्पष्ट धारणा रहँदै आएको छ भने बेग्लाबेग्लै प्रदेशहरुमा बेग्लाबेग्लै विज्ञहरुको अधिकार सम्पन्न आयोगहरु बनाई ती आयोगहरुको सिफारिसको आधारमा प्रदेशहरुको राजधानी तोक्नु सही हुन्छ । सरकारले त्यस अनुसार काम नगर्दा नै प्रादेशिक राजधानीको प्रश्नलाई लिएर जिल्ला जिल्लाहरुमा अशान्तिको वातावरण बनेको छ र पछि यो लगातार बढ्दै जाने सम्भावना छ । यसप्रति सम्बन्धित सबैलाई जिम्मेवार बन्न हामी आग्रह गर्दछौं ।''
''हालै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको हाम्रो पार्टीले तिव्र विरोध गर्दछ । जनताको आयमा कुनै बृद्धि भएको छैन, तर दैनिक उपभोग्य वस्तुहरु लगायत सबै कुरामा छिटो–छिटो मूल्य बृद्धि हुँदै गएको छ । यस्तो अवस्थामा सरकारले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर जनविरोधी काम गरेको छ । उक्त मूल्य बृद्धि तत्काल फिर्ता लिन हाम्रो पार्टीले माग गर्दछ ।''
यही पौष १४ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक बसेको थियो । यो बैठकले निम्न निर्णयहरु गरेको छ :
(क) राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन तर्फ ४ र ५ नं. प्रदेशहरुमा १/१ जना सदस्यहरु जितेको छ । निर्वाचन आयोगले ठेगान गरेको नियम अनुसार प्रदेश नं. ४ मा आदिवासी जनजाति महिला क्लस्टरको १ नं. मा सूचिकृत र प्रदेश नं. ५ मा खस आर्य महिला क्लस्टरको १ नं.मा सूचिकृत उमेदवारलाई नै सिफारिस गर्नुपर्ने व्यवस्था भए अनुसार ४ नंं प्रदेशसभा सदस्यमा पियारी थापा (सुप्रभा), बाग्लुङ र प्रदेश नं. ५ मा तारा जिसी, प्यूठानलाई छनौट गरी निर्वाचन आयोगमा पठाइएको छ ।
(ख) यो बैठकले संघीय संसद, ४ नं. प्रादेशिक सभा र ५ नं. प्रादेशिक सभाका संसदीय समितिहरुको गठन गरेको छ । संघीय संसदको संसदीय समितिको इन्चार्ज चित्रबहादुर के.सी., सदस्यहरुमा रश्मीराज नेपाली र दुर्गा पौडेल रहेका छन् । ४ नं. प्रदेशको संसदीय समितिमा इन्चार्ज शंकर बराल, सदस्यहरुमा कृष्ण अधिकारी, अमर थापा, कृष्ण थापा, टेकबहादुर घर्ती र पियारी थापा (सुप्रभा) रहेका छन् । त्यस्तै ५ नं. प्रदेशको संसदीय समितिमा इन्चार्ज रश्मीराज नेपाली, सदस्यहरुमा बोमबहादुर खत्री र तारा जिसी रहेको सो पार्टीले जनाएको छ ।
(ग) आगामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नं. ४ र ५ मा भाग लिने निर्णय भएको छ । उक्त प्रदेशहरुमा अन्य पार्टी वा गठबन्धनसंग तालमेल गरेर निर्वाचन लड्ने प्रयास हुने बताएको छ । तालमेल नभएको अवस्थामा पनि मोर्चाका उमेदवारहरु खडा गरेर निर्वाचनमा भाग लिने बताएको छ ।



