काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
घिमिरेको निधनको कारण बारे भने केही बताइएको छैन ।
नेपाली साहित्यकाशका उज्ज्वल नक्षत्र घिमिरे १०२ वर्षका थिए । लमजुङको पुस्तुन बाँहुनडाडाँडामा जन्मिएका घिमिरेले कैयन गीत, कविता र काव्यको रचना गरेर नेपाली साहित्यकाशलाई फराकिलो पारेका थिए । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।
उनले रचना गरेका ‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे…’, ‘गाउँछ गीत नेपाली…’ लगायतका गीत अहिले पनि जनजनका मनमा गढेर बसेको छ । स्वर सम्राट नारायण गोपालले गाएको ‘आजै राति के देखेँ सपनी, मैं मरी बाँचेको…’ गीत पनि घिमिरेकै सिर्जना थियो ।
नवमञ्जरी , घामपानी , नयाँ नेपाल , किन्नर-किन्नरी उनका चर्चित कविता संग्रहमा पर्छन् ।
घिमिरे जीवनको अन्तिम कालखण्डसम्म पनि लेखमा सक्रिय थिए । उनको महाकाव्य ऋतम्भरा प्रकाशनको अन्तिम चरणमा रहेको बताइन्छ । तर घिमिरेको त्यो अन्तिम सपना पूरा हुन पाएन ।
कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धजस्ता सबै विधामा बिरलै साहित्यकारले कलम चलाउन सक्छन् । घिमिरे तिनै साहित्यकारमध्ये एक हुन् । प्रकृतिसँग जोडेर रचना गर्नु उनको विशेषता थियो ।
दिवंगत घिमिरेको बाल्यकाल वियोग र संघर्षमय थियो । जन्मिएको तीन वर्षमै उनले मातृत्व गुमाएका थिए । ६ वर्ष हुँदा अक्षरारम्भ गरेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए ।



