• शुक्रबार-चैत-१६-२०८०

तस्करीमा रमाउने एसपीहरूको सपना तुहियो 

 

काठमाडौं । सशस्त्र प्रहरीले ७१ एसपीको सरुवा गरेको छ । २२ वटा सीमा जोडिएका जिल्लामा जान एसपीहरूबीच चर्काे प्रतिस्पर्धा भएपनि यो वर्ष सरुवा विगतभन्दा पारदर्शी गर्न आईजीपी शैलेन्द्र खनाल बाध्य भएका छन् । पटक पटक सीमा क्षेत्रका गणको प्रमुखमा सरुवा भएकाहरू पुनः त्यहीं जान आर्थिक चलखेल गर्दै आएको इतिहास सशस्त्रमा छ । तर यसपटक पटक पटक सीमा क्षेत्रका जिल्लामा गणपति भएकाहरूलाई मौका नदिई नयाँलाई दिइएको छ ।


  अवकास हुने बेलामा गणपति भएर तस्करीको लाइन चलाई अकुत कमाउने एसपीहरूको सपना तुहिएको छ । आईजीपी खनालले चाहेर पनि यो वर्ष पटक पटक सीमाको गणपति भएकाहरूलाई सरुवा गर्न सकेनन् । सरुवा मापदण्ड बनाएर एकपटक सीमा क्षेत्रमा बसिसकेकालाई पुनः नपठाउने नीति बनाएका कारण आईजी खनालले मनपरी सरुवा गर्न सकेनन् । 


यो पटकको सरुवामा सकेसम्म गणपति नभएकालाई मौका दिइएको छ । दोहोरिएर गणपति हुने कमै छन् । नयाँ एसपीहरूको संख्या नपुगेका ठाउँमा मात्र एकाध दोहोरिएका छन् । दुई पटक गणपति भएकाहरूले यसपटक अन्यत्रै चित्त बुझाउनु परेको छ । सशस्त्र प्रहरीमा विगतमा सीमा सुरक्षा कार्यालयलाई गणमा परिणत गरेको छ । ती गणमा सरुवा हुन्, ठूलो आर्थिक चलखेल हुने गरेको थियो । ती गणमा जाने एसपीहरूले तस्करीको लाइन चलाएर घुस लिने गरेका थिए । 


  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमाका सशस्त्र प्रहरीलाई घुस लिंदालिंदै धेरै नै नियन्त्रणमा लिइसकेको छ । सशस्त्र प्रहरी सीमाको सुरक्षाका लागि राखिएको भएपनि गणका एसपीहरूले तस्करहरूसँग साँठगाँठ गरी अकुत कमाउने र त्यसको हिस्सा माथिसम्म बुझाउने गर्दै आएको आरोप छ । केही दिन अघि नवलपरासीको महेशपुर नाकाबाट तस्करी भएको पाँच ट्रकभन्दा बढी मरिच र केराउ भारतमा बरामद भयो । 


 भारतीय मिडियाले नेपालको नाकाबाट व्यापकरुपमा तस्करी हुने गरेको समाचार प्रसारण गरे । नेपाल प्रहरीका ५ नम्बर प्रदेशका डीआईजी रविन्द्रसिंह धानुकले महेशपुर प्रहरी कार्यालयका इन्स्पेक्टर महेश्वर उपाध्यायलाई तत्कालै ताने, तर सशस्त्र प्रहरीले गणपति भरत खनियालाई कुनै कारवाही गरेन । महेशपुर नाकाबाट मरिच र केराउको तस्करी हुने गरेको भनेर नेपालको बदनाम हुँदा पनि सशस्त्र प्रहरीले एसपी खनियाँलाई संरक्षण ग¥यो । 


 नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल उर्फ मुन्नाको संरक्षणमा महेशपुर नाकाबाट केराउ र मरिच तस्करी हुँदै आएको भारतीय मिडियाले आरोप लगाएपनि सशस्त्र प्रहरीले भने त्यसलाई बेवास्ता गरेको छ । एसपी खनियाँको आईजीपी शैलेन्द्र खनालसंग निकट सम्बन्धका कारण कुनै कारवाही नभएको बताइन्छ । खनियाँ एक दृष्टान्त हुन्, भारतसँग सीमा जोडिएका २२ वटा जिल्लाका एसपीहरूले तस्करीको लाइन चलाएर अकुत पैसा कमाउँदै आएको आरोप सुरक्षा पनकायबाटै लाग्ने गरेको छ । यो पटक सरुवा भएका नयाँ एसपीहरूले सीमा क्षेत्रको तस्करी नियन्त्रण गरेर सशस्त्र प्रहरीको छवि गिर्न नदिने अपेक्षा गरिएको छ । 

प्रतिकृया दिनुहोस