संघीय संरचनाअनुसार पहिलोपटक चुनाव हुन लागिरहेका बेला तपाईंको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई किन यति साह्रो टाउको दुःखेको ?
–संविधान राष्ट्रको स्वाधनीता र जनताको अधिकार सुनिश्चित गर्ने गरी बन्नुपर्दथ्यो । तर, यो संविधानले जनतालाई केन्द्रमा नराखी पुरानै असफल संसदीय व्यवस्था अर्थात् औपनिवेशिक अवस्थालाई पुनर्जीवित गरेको छ । त्यसैले यो संविधानप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ । यसलाई खारेज गरेर जनपक्षीय संविधान निर्माण गर्नुपर्छ भन्ने हाम्रो पार्टीको प्रष्ट धारणा हो ।
तपाईंहरुको असहमति हल गर्नका लागि अहिलेकै संविधानलाई उपयोग गरेर अघि बढेको भएपनि त हुन्थ्यो होला नि त होइन ?
–हेर्नुस्, यतिबेला हामीले दुई कुरा प्रष्टसंग उठाएका छौं । पहिलो नेपालमा शान्ति प्रक्रिया नै ठीक ढंगले व्यवस्थापन भएको छैन । अर्को कुरा जनताको संविधान बनाउने दायित्व नै दलहरुले पूरा गर्न सकेनन् । हामीले उठाएको यी राजनीतिक विषयलाई विधिबाट हल गरेर नहुने भएकाले हामीले यसको सशक्त विरोध गरेका हौं ।
तपाईंहरु संविधान बहिष्कार गरिरहनु भएको छ । यसलाई शान्तिपूर्णरुपले अवरोध गर्नुभएको भए हुन्थ्यो होला । किन बम र बारुदकै साहरा लिनुभएको ?
–हामी शान्तिपूर्णरुपले नै निर्वाचनको बहिष्कार गरिरहेका छौं । तर, राज्य हाम्रा नेता तथा कार्यकर्तालाई धरपकड गरिरहेको छ । घरमा बसिरहेका नेता कार्यकर्तालाई पक्राउ गर्नेदेखि शान्तिपूर्ण सभा गर्नबाट रोकिरहेको छ । जनताको बीचमा हामीलाई जान नदिएर सरकारले नै अशान्तिको विजारोपण गरिरहेको छ, हामीले होइन ।
तर, देशभर बम र बारुद त पड्किरहेको छ त ?
–यहाँ हतियार बोकेका सेना र प्रहरीले जनतामाथि दमन गरिरहेका छन् । जनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार खोसिरहेका छन् । जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध स्वभाविकरुपमा हुन्छ । अहिले भएको पनि त्यही हो । बरु राज्यले मच्चाएको स्वेत आतंकको तुलनामा अहिले भएका घटना कमै हुन जस्तो मलाई लाग्छ ।
तपाईंहरु राष्ट्रियता र स्वाधीनताको कुरा गर्नुहुन्छ । तर, तपाईंहरुले चलाएको हिंसाले अस्थिरता चाहने,देशमा चुनाव हुन नदिने शक्तिकै सेवा पो भइरहेको छ त ?
–शासकहरुले भन्नलाई त सधैं स्थिरता, शान्ति र विकास भनिरहन्छन् । तर, रटानले मात्र त्यो शान्ति आउँदैन । त्यही अनुरुपको व्यवहार भयो भने मात्रै देशमा शान्ति र विकास सम्भव हुन्छ । तर, राज्यको करनी र कथनीमै एकरुपता छैन । हामी शान्तिको बाटोमा भएपनि ऊ द्वन्द्व र युद्धको बाटोमा हिंडिरहेको छ । त्यसैले देशको राजनीति एकपछि अर्को अस्थिर बन्दै गइरहेको छ । मैले अघि नै भनें हिंसा र अशान्ति हामीले नभएर राज्यले नै मच्चाइरहेको छ । अस्थिरता चाहने तत्वहरुको सेवा हामीले नभएर राज्य र यहाँका संसद्वादी दलहरुले गरिरहेका छन् । यो घामजत्तिकै छर्लंग तथ्य हो ।
यतिबेला देशमा निर्वाचन हुन नदिन विदेशी शक्ति राष्ट्रहरुले चलखेल गरेको कुरा आइरहेको छ । राष्ट्रमाथि नै प्रहार भइरहेका बेला तपाईंहरुले राष्ट्र रहे मात्रै हामी रहन्छौं भनेर सोच्नु पर्ने होइन ?
–यो देशमा यसरी सोच्ने शक्ति नै हामी हौं । त्यसैले हामी नयाँ संविधानले राष्ट्रिय स्वाधीनता र जनताको अधिकार खोस्यो, यो विदेशीको चासो समेटिने गरी बन्यो भनेर भनिरहेका छौं ।
विप्लव समूहको माओवादीलाई यतिबेला भारतले चुनाव बिथोल्न प्रयोग गरिरहेको भन्नेहरु उत्तिकै देखिएका छन् । तपाईंहरु भारतबाट प्रयोग हुनुभएको हो ?
–यो सरासर झुट हो । हामीले सैद्धान्तिक र व्यवहारिक ढंगले यस्ता कुराहरुको खण्डन गर्दै गइरहेकाले यसको जवाफ दिइरहन आवश्यक पर्छ जस्तो मलाई लाग्दैन ।
अर्को आरोप कै कुरा गरौं । तपाईंहरु कांग्रेसप्रति नरम र अरुप्रति अलि बढी पूर्वाग्रही हुनु’भा हो ?
–यो संसद्वादी दलहरुको पागलपूर्ण प्रलाप हो ।
तर, तपाईंहरुको निशानामा त कम्युनिष्टहरु नै परिरहेका छन् नि त ?
–हाम्रो निशानामा नेपालको दलाल पूँजीवाद छ । अहिलेको चुनावले दलाल पूँजीवादको संस्थागत गर्ने भएकाले हामीले यसको विरोध गरेका हौं । जनताको प्रगतिको बाधक भ्रष्ट र दलाल पात्र हाम्रो निशानामा छन् । जुनसुकै पार्टीका भएपनि उनीहरुलाई प्रहार गर्ने हाम्रो घोषित नीति नै हो ।
पछिल्लो समय देशभर विस्फोटका घटनाहरु भइरहेका छन् । यसमा तपाईंहरुको मात्रै संलग्नता छ कि अरुले पनि धमिलो पानीमा माछा मारिरहेका छन् ?
–यतिबेला वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन आपसमा भिडिरहेका छन् । एकले अर्कोलाई सिध्याउन उनीहरुले विगतमा सिकेको बम बनाउने कलालाई पनि प्रयोग गरिरहेका छन् । स्थानीय चुनावमा पनि कांग्रेस आफैंले बम बनाएको थियो । अहिले आपसमा भिडेका दलहरु नै हामीतिर देखाएर बम बारुद पड्काइरहेका छन् । जनविरोधी निर्वाचन हुन लागेकाले अधिकांश स्थानमा त्यसको प्रतिरोध जनताले गरिरहेका छन् । तर, केही स्थानमा संसद्वादी शक्तिहरु एकले अर्कोलाई समाप्त पार्न हाम्रो नाममा उनीहरुले नै बम पड्काइरहेका छन् ।
फरक प्रशंगमा कुरा गरौं । एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनबारे तपाईंहरुको धारणा के हो ?
–वामको अर्थ नबुझेजसरी एमाले–माओवादीले निर्माण गरेको गठबन्धनलाई वाम गठबन्धन भनिएको छ । वास्तवमा यो वाम गठबन्धन नभएर दाम गठबन्धन हो । यो दक्षिणपन्थी, यथास्थितिवादी गठबन्धन हो । हुन त कतिपयले यो गठबन्धन चीनले बनाएको भनेर पनि भनेका छन् । हामीले यो गठबन्धन कसले बनाइदियो भन्दा पनि नेपालको अन्तरविरोध र वस्तुस्थितिलाई हेरेर यसको विश्लेषण गर्नुपर्छ । जनताको हितमा नरहेको व्यवस्था स्थापित गर्न जसले गठबन्धन निर्माण गरेको भएपनि यो धेरै समय टिक्दैन ।
तपाईंहरु लामो समयदेखि सक्रिय हुनु भए पनि अलमलिनु भएको जस्तो देखिन्छ । अब कता जाँदै हुनुहुन्छ ?
–जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध स्वभाविकरुपले हुन्छ । हामीमाथि दमन भयो भने हामी प्रतिरोध गरेर अगाडि बढ्छौं ।
कुन रुपको प्रतिरोध तपाईंहरु गर्नुहुन्छ, अलि बुझिने गरी भनिदिनुहोस् न ?
–राज्यले कुन स्वरुपको दमन गर्छ, त्यही अनुसारको प्रतिरोध हामी गर्छौं । हामी दलाल, पूँजीपति र विदेशीहरुको सामु कुनै पनि हालतमा आत्मसमर्पण गर्दैनौं ।
भनेपछि अब सशस्त्र संघर्ष गर्ने ?
–हेर्नुस् दुनियाँमा कहीँ पनि जनता सशस्त्र हुँदैनन् । सशस्त्र हुने भनेकै राज्य हो । नेपालमा पनि सशस्त्र राज्य मात्रै छ, अरु छैनन् । जनताको बीचमा दमन र उत्पीडन भएपछि जनता बाध्य भएर प्रतिरोधमा उत्रिने भएकाले राज्यले कस्तो व्यवहार गर्छ, अबको संघर्ष त्यसैबाट निर्धारण हुन्छ ।
पछिल्लो समय तपाईंहरुका नेता–कार्यकर्ता माओवादी केन्द्रतिर लस्कर लागिरहेका छन् । अलि रक्षात्मक स्थितिमा तपाईंहरु पुग्नु भा’हो ?
–हामी जनताको हक र अधिकारका लागि लडिरहेका छौं । यो कुरा जनताले बुझेका छन् । जनताले हामीलाई माया पनि गरिरहेका छन् । त्यसैले हामी हिजो पनि बलिया थियौं, आज पनि बलिया छौं । जहाँसम्म माओवादी केन्द्रमा नेकपाका नेता कार्यकर्ता लस्कर लागे भन्नु भयो, यो गलत कुरा हो । म त माओवादी केन्द्र भन्ने पार्टी नै यतिबेला देखिरहेको छैन । बरु यो सिंगो पार्टी नै पतन भएर नेकपा एमालेमा बिलय हुन लागिसकेको छ । माओवादी केन्द्र नेकपा एमालेमा विलय हुन लागेकाले बरु माओवादीका साथीहरु हाम्रो पार्टीमा गोलबद्ध हुने स्थिति बनिरहेको छ । अब माओवादीका इमान्दार सबै साथीहरु नेपाल कम्युनिष्ट पार्टीमा गोलबद्ध हुनेछन् । अस्ति भर्खर माओवादी केन्द्रका अढाइ सय कार्यकर्ता कालिकोटमा माओवादी केन्द्र छाडेर हाम्रो पार्टीमा प्रवेश गरेका छन् । अब यो लहर देशव्यापी आउने म देख्छु ।



