(सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सरकार सन् २०१९ को मध्यतिरबाट यसको तयारीमा जुटिसकेको थियो । पर्यटन वर्ष सचिवालय गठनदेखि तयारी समिति, उपसमिति धमाधम गठन भइरहेका थिए । विदेश, स्वदेश सबैतिर प्रचार प्रसार चलिरहेको थियो । पर्यटन व्यवसायी पर्यटक स्वागत गर्न आतुर थिए । व्यवसाय गुल्जार हुने आशले उनीहरू उत्साहित थिए ।
ठीक यही बेला चीनको वुहानबाट कोरोना भाइरस उत्पत्ति भयो । एक देश, दुई देश गर्दै त्यसले विश्वव्यापी महामारीको रूप लियो । पर्यटन वर्ष मनाउन त परको कुरा विदेशीको प्रवेशलाई नै रोक लगाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भइदियो । जसका कारण भर्खरै लय पक्डिएको पर्यटन क्षेत्रमा मन्दी आयो । जुन सिलसिला लामो समय कायम हुँदा अहिले यो क्षेत्र शिथिल प्रायः छ ।
यसमा आबद्ध झण्डै ६० प्रतिशत व्यवसायी तथा मजदुर त पेशाबाटै पलायन भएको अनौपचारिक तथ्यांक बाहिर आएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नवराज दाहाल नेपालको पर्यटन कोरोना महामारीले अकल्पनीय रूपमा पछाडि धकेलिएको बताउँछन् । दाहालका अनुसार पर्यटन व्यवसाय कोरोना महामारीपूर्वको अवस्थामा अझै दुई वर्ष फर्किने छाँटकाँट छैन ।
पर्यटन व्यवसायीको छाता संगठन टानको एक कार्यकाल नेतृत्व सम्हालेका दाहालसँग पर्यटन व्यवसायमा कोरोनाले पारेको प्रभाव, क्षति न्यूनीकरणको उपाय र अहिले भइरहेका प्रयासलगायत विषयमा केन्द्रित रहेर साँघु प्रतिनिधि सुयोग शर्माले गरेको सवाल: सम्पादक)
० कोरोना भाइरस महामारीले सबैजसो क्षेत्रहरू प्रभावित भएका छन् । पर्यटन क्षेत्रमा यसको प्रभाव र असर कस्तो छ ?
–कोरोना भाइरस महामारीबाट कुनै पनि क्षेत्र अछुतो रहेन । सबैजसो क्षेत्र यसबाट प्रभावित भए । यसमा पनि सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रमा परेको छ । भर्खर–भर्खर अघि बढ्न थालेको, लय पक्डिएको पर्यटन क्षेत्र कोरोनाले घाइते भएरशिथिल बनेको छ भन्दा फरक पर्दैन । पर्यटन क्षेत्रतर्फ पनि माउन्टेन, ट्रेकिङ, ट्राभल, क्लाइम्बिङ पर्यटन बढी प्रभावित भएको अवस्था छ । माउन्टेन टुरिजम त योबीचमा तहसनहस नै भयो । होटल, रेस्टुरेन्ट विदेशीको आवागमन ठप्प रहँदा पनि हल्काफुल्का चले तर यसमा विदेशी पर्यटक नै चाहिने भएकाले प्रभावित भए ।
० समग्रमा कति क्षति भयो ? केही अनुमान गर्न सक्ने अवस्था छ ?
–कति क्षति भयो भनेर ठ्याक्कै तथ्यांक नै दिन सकिँदैन । तर कोरोनाकालमा पर्यटन क्षेत्रले अकल्पनीय क्षति व्यहोरेको छ । ९९ प्रतिशत पर्यटन व्यवसाय त कोरोनाकालमा डामाडोल नै भयो । एड्भेन्चर टुरिजममा आबद्ध मजदुरहरूको त गाँस नै खोसियो । सारमा भयावह अवस्था यो क्षेत्रले झेल्यो ।
० यो क्षेत्रमा आबद्धमध्ये धेरै पेशाबाटै पलायन भएको विवरणहरू बाहिरिएका छन् । यथार्थ के हो ?
–पर्यटन दिनदिनैको ट्रान्जेक्सनबाट चल्ने व्यवसाय हो । अझै हामी नेपालीले त सानो लगानीबाट व्यवसाय चलाइरहेका हुन्छौं । त्यसैले यो क्षेत्रमा लामो समय प्रतीक्षा गर्ने सुविधा हुँदैन । मलाई जहाँसम्म लाग्छ, ६० प्रतिशत हाराहारीमा व्यवसायी र झण्डैझण्डै त्यही हाराहारीमा मजदुरहरू यो व्यवसायबाट पलायन हुनु भएको छ ।
० उहाँहरू सदाकै लागि यो क्षेत्रबाट पलायन हुनु भएको हो कि, फेरि फर्किने सम्भावना छ ?
–अवसर पाउने मजदुरहरू विदेशतिर जानु भएको छ । कतिपय कृषिलगायतका अन्य पेशामा आबद्ध हुनु भएको छ । पर्यटन व्यवसायीहरूचाहिँ बिलखबन्दमा परेका छन् भन्दा अत्युक्ति हुँदैन । यही पेशामा लामो समय बिताएका तर अन्य क्षेत्रको ज्ञान, सीप नभएका पर्यटन व्यवसायीहरू अहिले अप्ठ्यारोमा पर्नु भएको हो । उहाँहरूसँग न टेक्ने आधार छ न समाउने हाँगो । ऋणमा चुर्लुम्म डुब्नु भएको छ ।
० आधाभन्दा बढी पर्यटन व्यवसायी र मजदुर पलायन भएको बताउनु भयो । पर्यटन व्यवसायमार्फत राष्ट्रलाई योगदान दिइरहेका यी जनशक्तिको पलायनले तत्काल र दीर्घकालमा कस्तो असर पर्ने देख्नुहुन्छ ?
–नेपालको अर्थतन्त्रमा पर्यटनले उल्लेख्य योगदान दिँदै आएको छ । रोजगारी सिर्जनामा पनि यसको अहं भूमिका छ । पलायन भएकालाई तत्काल यो क्षेत्रमा फर्काउने अवस्था देखिँदैन । त्यसैले पर्यटकहरू आइहाले भने पनि जनशक्तिको अभाव खड्किने खतरा छ । व्यवसायी पनि पर्यटक आउनेबित्तिकै व्यवसाय सञ्चालन गर्ने अवस्थामा छैनन् । केही समय अलमलिनु पर्ने देखिन्छ । तर यसको मतलब पर्यटन व्यवसायमा अब केही नहुने भो, खत्तम भो भनेर हतास हुनुपर्ने अवस्थाचाहिँ छैन । सहज हुनेबित्तिकै धेरै पर्यटक नेपाल आउने सम्भावना छ । अहिले जसरी संकटको बादल पर्यटन व्यवसायमा मडारिएको छ, यो विस्तारै हटेर सहज हुने छ भन्ने विश्वासमा हामी पर्यटन व्यवसायी छौं ।
० पर्यटन क्षेत्रमा कोरोनाले पार्ने प्रभाव न्यूनीकरण गर्ने ओखती हुँदाहुँदै पनि राज्य र सरोकारवाला चुके भनिन्छ नि । वास्तबिकता के हो ?
–हामी व्यवसायीहरूले मात्र नभएर यससँग सम्बन्धित संघ–संगठनहरूले पटक पटक राज्य जवाफदेही हुनुप¥यो भनेर झक्झकाउँदै आएका हौं । अरू केही गर्न नसके पनि पर्यटन पेशामा आबद्ध मजदुरलाई टिक्नका लागि राहत र व्यवसायीहरूलाई सरल र सुलभ व्याज दरमा कर्जा उपलब्ध गराइदिने हाम्रो जोड थियो । मुखले पर्यटनलाई अति प्रभावित क्षेत्र त भनियो तर यसलाई उकास्नेतर्फ सरकारले गम्भीरताबोध देखाएको छैन ।
० बजेट र म्रौद्रिक नीतिमा त यो विषय समेटिएको छ नि होइन र ?
–हो, बजेट र म्रौद्रिक नीतिमा कतै कतै यो विषय समेटिएको छ । तर भइदियो के भने राहत पाउनुपर्ने वास्तविक पीडितले त्यसको अनुभूति नै गर्न पाएनन् । जसका लागि राहत आवश्यक नै थिएन, उनीहरूले पहुँचका आधारमा हडप्ने काम गरे ।
० पर्यटन आवागमन सहज पार्नेतिर पनि यथोचित ध्यान पुगेन भनिन्छ नि ?
–हो, यतातिर पनि सरकार चुकेकै हो । पर्यटक आउन लाग्दा पनि रोक्ने काम भयो । जस्तो : अघिल्लो वर्षको स्प्रिङ र एटमतिर अवस्था सहज थियो । त्यतिबेला पर्यटक भित्र्याएको भए यो क्षेत्रलाई थोरै भए पनि भरथेग हुन्थ्यो । राहत पुग्थ्यो । अहिले जसरी यो क्षेत्रमा पहिरो गएको छ, त्यो रोकिन्थ्यो तर सरकारले यसतर्फ ध्यान नदिई जबरजस्त बन्द गरिदियो ।
० भर्खरै पर्यटन आगमनलाई ध्यानमा राखेर नियम परिवर्तन गरिएको छ । अबचाहिँ राहत होला कि ?
–पर्यटक आवागमनसम्बन्धी केही नियम भर्खरै परिमार्जन गरिएको छ । कोरोना भाइरसको पूर्ण खोप लगाएका व्यक्ति क्वारेन्टिनमा बस्नु नपर्ने र पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउनुपर्ने नियम बनाइएको छ । तथापि, अझै पनि थुप्रै अन्योल, शंका, उपशंका कायमै छन् । जसलाई सरकारी तबरबाट प्रष्ट पार्न जरुरी छ ।
० कस्तो शंका उपशंका ?
–भ्याक्सिन लगाएर आएका पर्यटकको पीसीआर रिपोर्ट नेगेटिभ आए गन्तव्यमा जान दिने भनिएको छ । यो प्रावधान उपयुक्त छ । तर भ्याक्सिन नलगाई आएका, कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । यो त्रुुटिपूर्ण छ । भ्याक्सिन नलगाएका र पीसीआर नेगेटिभको रिपोर्ट लिएर आएकाको हकमा पुनः कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएको अवस्थामा चाहेको गन्तव्यमा जान दिने व्यवस्था गर्नुपर्छ । कोरोना रिपोर्ट नेगेटिभ हुँदाहुँदै पनि क्वारेन्टिनमा राख्ने नियम असंगत छ ।
० अनएराइभल भिसामा पनि अलि कन्फ्युजन भयो भन्ने छ नि ?
–हो, यसमा पनि अस्पष्टता छ । अनएराइभल भिसामा कस्तो–कस्तो कागजात चाहिने हो क्लियर छैन । उता ट्रेकिङ र क्लाइम्बिङ जान चाहने विदेशी पर्यटकलाई परमिट चाहिने भनिएको छ । परमिट बनाउन फेरि पासपोर्ट र त्यसमा लागेको भिसा चाहिन्छ । अब पर्यटक नै नआईकन कसरी पासपोर्ट हुन्छ ? यो अव्यवहारिक भयो । कि त ट्रेकिङ कम्पनीको इन्भाइटेसन भए पुग्छ भन्ने प्रावधान राख्नु प¥यो होइन भने यस्तो अव्यवहारिक व्यवस्था खारेज गर्नुपर्छ ।
० टानमा निवर्तमान अध्यक्ष पनि कार्यसमितिमा रहने प्रावधान छ । तपाईं सम्मिलित टान कार्यसमितिले यो अवस्थामा के गरिरहेको छ ?
–टान मात्र होइन, पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरू हान, नाटालगायत संस्थाले प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री, सीसीएमसीका प्रतिनिधि भेटेर विषयवस्तु राख्दै आएका छौं ।
० उहाँहरूले पनि तपाईंहरूको कुरा नसुन्नु भएको हो कि के हो त ?
–हामी पर्यटन क्षेत्रका अहिलेका ज्वलन्त समस्या समाधानका निम्ति दौडधूप गरिरहेका छौं । हुन्छ भन्ने तर नगर्ने प्रवृत्ति प्रधानमन्त्री, मन्त्रीमा देखिएको छ । अर्थात् उहाँहरूमा कत्ति पनि गम्भीरताबोध देखिएको छैन । हुन त राज्य कहिल्यै पनि पर्यटन क्षेत्रप्रति जिम्मेवार रहेन/छैन । अहिले त पर्यटन, परराष्ट्र, स्वास्थ्य मन्त्री को हुन् नै अत्तोपत्तो छैन ।
मन्त्रालय गयो कर्मचारी व्यवसायी र मजदुरको कुरा सुन्नै चाहँदैनन् । यो पहिलेदेखिकै रोग हो । यो विकृति अझै बढेर गएको छ । हाम्रा कन्सर्नप्रति बेवास्ता भएपछि पत्रकार सम्मेलन गरेर बेला बेला झक्झकाउने काम गरिरहेका छौं । फलस्वरूप केही सुधार नभएका होइनन् । तर अस्पष्टताहरू धेरै छन् । त्यसमा तत्काल सुधार आवश्यक छ ।
० पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्किन्, लय पक्डिन कति समय लाग्ला ?
–अहिले पर्यटन क्षेत्रमा एकतमासको अन्योलता छ । व्यवसायीहरू नोक्सानी झेलिरहेका छन् । मेरो विचारमा यो अवस्था अन्त्य भएर पुरानो अवस्थामा पर्यटनलाई फर्काउन कम्तीमा पनि दुई वर्ष लाग्छ । त्यसभन्दा अगाडि पनि यो क्षेत्रलाई पुनर्ताजगी गराउन सकिन्छ । तर त्यसका लागि केही काम गर्नुपर्छ ।
० त्यसभन्दा अगाडि नै यसलाई बौराउने सूत्र के हुन सक्ला त ?
–त्यसका लागि हामी सबै व्यवसायी र राज्य संवेदनशील बन्नुपर्छ । अहिले जति पनि अव्यवहारिक प्रोटोकलहरू छन्, त्यसलाई परिमार्जन गर्नुपर्छ । यदि अहिलेका अव्यवहारिक प्रोटोकल परिवर्तन गर्ने हो भने नेपालमा प्रशस्त मात्रामा पर्यटक भित्र्याउन सकिन्छ । होइन भने विश्वमै कोरोना महामारी समाधान भए पनि पुरानो अवस्थामा फर्किन दुई वर्ष लाग्छ ।
० प्रसंग बदलौं । नेपालमा पर्यटनको अथाह सम्भावना छ भनिन्छ । यसको कति प्रतिशत हामीले उपभोग गर्न सकेका छौं ?
–समुद्रबाहेक हामीसँग सबै चिज छ । त्यसको सट्टा हामीसँग नदी छ । अन्य मुलुकको तुलनामा यहाँ पर्यटकका लागि खानपान र बसोबास सस्तो छ । हस्पिटालिटी उत्कृष्ट छ । धेरैभन्दा धेरै खर्च गर्ने पर्यटक नेपालमा ल्याउन सकिन्छ । हामीले जति सम्भावना देखेका छौं, त्यसअनुरूप पर्यटक भित्र्याउन सकेका छैनौं ।
यसको खास कारणहरू के हुन् त ?
–यसका धेरै कारण छन् । एउटाचाहिँ पर्यटन व्यवसायीको क्षमता नपुगेर हो । अस्वस्थ प्रतिस्पर्धा र व्यवसायीको संकीर्णताले पनि सोचेजति पर्यटक भित्र्याउन सकेका छैनौं । पर्यटन व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ । यसबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने परेको छ । यसलाई उद्योगमा रूपान्तरण गर्न सकेका छैनौं । अर्को बाधकचाहिँ राज्यको नीति नियम हो । पर्यटनको सम्भावना ठम्याएर आवश्यक नीति बनाउनेतर्फ राज्यको ध्यान पुगेको छैन ।
० तपाईंले पनि पर्यटन व्यवसायीको छाता संगठन टानको नेतृत्व गर्नुभयो । व्यवसायीबीच यसरी अस्वस्थ प्रतिस्पर्धा हुनुमा यस्ता संघ–संगठनको पनि भूमिका छ भनिन्छ नि ?
–हो, यस्तो कमजोरी हुनुमा पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरू पनि जिम्मेवार छन् । यसलाई व्यवस्थित र मर्यादित बनाउन उनीहरू पनि कही कतै चुकेकै हुन् ।



