काठमाडौं, कात्तिक ७ गते । विवेक र इमान गुमेको, राजनीतिमा तस्कर, कालोबजारी, माफियातन्त्र, अनि कालो धन हावी भएको र सरकार र सरकारी संयन्त्र समेत माफियाको इसारामा चलिरहेको महसुस नेपाली बुद्धिजीवी र सचेत नागरिकले गर्ने गरेका छन्। यही मेसोमा अहिले समानुपातिक सांसदको सिट खरिद बिक्रीको बोलकबोल चलिरहेको चर्चाले काठमाडौंका रेष्टुरेन्ट, पार्टी कार्यालयहरु तातेको बताइन्छ।
राष्ट्रियस्तरका दलहरुलाई कालो धनको प्रभावमा पारेर समानुपातिकको टिकटबाट सांसद बन्न चाहनेहरु अहिले लिलाम बढाबढमा प्रतिस्पर्धा गरिरहेको थाहा भएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्न चाहनेहरुका लागि टिकट सबैभन्दा महँगो पाँच करोड रहेको चर्चा छ। समानुपातिक सांसद बन्न चाहने उमेश श्रेष्ठहरु जस्ता अकुत सम्पत्तिवालाले नेपाली कांग्रेसलाई यो पटक पनि पाँच करोड दिने सर्तमा पाँच नम्बरमा नाम राख्न सफल भएको चर्चा पीडित काङ्ग्रेसहरुले गर्दैछन्। संघीय फोरम, राजपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा (कमल थापा) र राप्रपा पशुपति जस्ता भारेभुरे दलहरुबाट समानुपातिक सांसद बन्न चाहनेहरुका लागि अलिक सस्तो रु. साढे तीन करोडसम्ममा अग्रिम भुक्तानी गरेर २०७४ कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्म नाम संशोधन गर्न पाइने छ।
राजनीतिक दल निकट स्रोतका अनुसार, रु. एक करोड भेटी चढाएर समानुपातिकबाट सांसद बन्न चाहने मानिसहरु भने हजारको संख्यामा रहेको खबर छ । तर, दुर्भाग्य रु. एक करोड भेटी चढाएर पनि साँसद बन्ने सपना कसैले नदेखे हुन्छ, पाँचको करोड(पांच खोका) हुने तस्कर, माफिया र कालो धन हुनेहरुका लागि २०७४ कात्तिक १२ गतेसम्म सबै दलको ढोका खुला राखिएको दलहरु निकट स्रोतहरुबाट बुझिन आएको छ। निर्वाचन आयोगले कात्तिक १२ गतेसम्मका लागि समानुपातिकको नामावली संशोधनको समय तोकेको छ।



