काठमाडौँ । ०८१ फागुन २३ गते शुक्रवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेत नेतृत्वको समितिले डा. दिलिप शर्मासहित डा. समाज गौतम र डा. अनुपमा कार्कीलाई वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरेको थियो । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री प्रदीप पौडेलले शर्मालाई दुई वर्षका लागि गत हप्ता अस्पतालको निर्देशक नियुक्त गरेको बताइन्छ ।
उपकुलपति प्रा.डा. बस्नेतले शर्मासहित कार्की र निमित्तको जिम्मेवारीमा रहेका गौतमको नाम निर्देशक पदका लागि सिफारिस गरेका थियो । मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिस भएका शर्मालाई निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका छन् । शर्मा वरिष्ठ कलेजो रोग विशेषज्ञ मानिन्छन् । उनी वीर अस्पतालम कार्यरत रहेका थिए । उनले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएरसमेत कामकाज गरिसकेका छन् ।
अघिल्लो महिना सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा सिनियर १२औं तहकी डा. संगिता कौशल मिश्रलाई पन्छाएर जुनियर डा.विकास देवकोटालाई बढुवा गरेको थियो । मन्त्री पौडेलको जोडबलमा देवकोटाको नियुक्ति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निजी चिकित्सकसमेत रहेका शर्मालाई वीरको निर्देशकमा नियुक्तिका लागि मन्त्री पौडेललाई निर्देशन दिएका थिए । सोही बमोजिम शर्माले दुई वर्षका लागि निर्देशकमा बाजी मार्न सफल भएको बताइन्छ ।
उता, मिनभवनस्थित निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मीको नियुक्ति भएको छ । ०८१ फागुन २८ गते बुधवार बसेको निजामती कर्मचारी अस्पताल विकास समितिको बैठकले रेग्मीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको उक्त अस्पतालको कार्यकारी निर्देशकका लागि डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए ।
कार्यकारी निर्देशक छनोट समितिले लोक सेवा आयोगको विधि–पद्धतिअनुसार परीक्षण गरी उत्कृष्ट ठहर गरिएका तीन जनाको नाम सिफारिस गरेको थियो । तर, समितिले डा. रेग्मीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
बीमा बोर्डमा काफ्ले
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । दुईसाता अघि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कार्यकारी निर्देशक नियुक्तका लागि मन्त्रालयले मन्त्रिपरिषदसमक्ष प्रस्ताव पेस गरेको थियो । कार्यकारी निर्देशक छनौट समितिले १० जना उम्मेदवारहरूको आवेदन स्वीकृत गरेको थियो ।
तीमध्ये गत महिना फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिएर तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्री पौडेले उनीहरुको नाम मन्त्रिपरिषद बैठकमा नियुक्तिको सिफारिस गरेका थिए । सिफारिसमा परेकामा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले रहेका थिए । मन्त्रिपरिषद बैठकले मन्त्री पौडेलको जोडबलमा जिल्लाबासी तनहुँका काफ्लेलाई नै नियुक्ति गरेको थियो । (साँघु साप्ताहिक, २०८१ चैत ४)
प्रतिकृया दिनुहोस