• बुधबार-चैत-६-२०८१

मन्त्री सिंहको मन्त्रालयमा काम भन्दा थैली खेती बढी

 

काठमाडौं । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा मुलुकको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्दै आएका छन् । उनी प्रोस्टेटको  विरामी रहेको कारण उनको स्मरणशक्ति निकै कम हुँदै गएको मन्त्री निकट स्रोत बताउछ । जसका कारण उनले प्रधानमन्त्री ओलीले आफू अनुकूल हुने गरी मन्त्रिपरिषद बैठकबाट गरिएका निर्णयको जमेर प्रतिवाद गर्न नसकिरहेको बताइन्छ । कतिपय निर्णय र नियुक्ति नेपाली काँग्रेस पार्टीको चाहना विपरीत हुँदै आएको चर्चा पनि छ ।
तरपनि उनले सरकारी निर्णयको मन्त्रिपरिषदमा प्रतिवाद गर्न नसकेको आरोप मन्त्रीमाथि लाग्ने गरेको छ । मन्त्रालयको हरेका निर्णयमा पनि उनी भन्दा उनका स्वकीय सचिव युपी लामिछाने हावी हुँदै आएको गुनासो छ । 


मन्त्रालयमा दरबन्दी भन्दा बढी कर्मचारी भित्र्याइएको छ । यतिसम्मकि, आगामी २०८२ बैशाखमा ५८ वर्षे उमेरहदका कारण अवकासमा जान लागेका सहसचिव विष्णु शर्मालाई तीन महिनादेखि बिना जिम्मेवारी बरण्डामा राखेर तलवलगायत सेवा सुबिधा उपलव्ध गराइएको छ । अझ रोचक कुरा त के छ भने उनलाई अवकास अगावै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअन्तर्गतको समितिमा रुपन्देहीका दुइवटा, ललितपुरस्थित गोदावरीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सुन्धारास्थित धरहरासमेत हेर्नेगरी क्षेत्राधिकार बढाएर कार्यकारी अध्यक्ष नियुक्ति गर्ने योजनामा मन्त्रालय लागेको बताइएको छ । 


यही आश्वासनका साथ सहसचिव शर्मालाई मन्त्रालयमै कामविहीन अवस्थामा राखिएको जानकार स्रोतले बताएको छ । हाल संसदमा दर्ता भएको निजामती सेवा ऐनमा भने सरकारी सेवाबाट अवकास भएपछि दुई वर्ष कुलिङ समय राख्नुपर्ने विषयमा बहस चलिरहेको छ । संवैधानिक निकाय, समिति, प्रतिष्ठान, बोर्ड आदिमा त्यसपछि मात्र सेवा निवृत्त कर्मचारीलाई नियुक्ति दिनुपर्ने सुझाव प्रशासनविद्हरूले दिइरहेको अवस्था छ । यो सुझावलाई लत्याउने गरी सहसचिव शर्मालाई भने आगामी वैशाखमै नयाँ नियुक्ति दिन मन्त्री सिंह योजनाबद्ध रुपमा लागिपरेको स्रोत बताउँछ ।


मन्त्री सिंहले त्यसपछि आफू निकटका  केही नेता र कार्यकर्तालाई यी कार्यालयहरुमा करारमा भर्ना गर्ने भित्री योजना बनाएको चर्चा पनि छ । त्यसका लागि नै उनले फाइल तयार गरेर अर्थ मन्त्रालयबाट सहमति लिने प्रक्रिया अगाडि बढाएको स्रोतले जनाएको छ । त्यसैका लागि मन्त्रालयको प्रशासन महाशाखामा फाइल बढुवाबाट सहसचिव बनेका नारायण मैनालीलाई भर्खरै सरूवा गरे भित्र्याइएको छ ।


उता, मन्त्री सिंह र स्वकीय सचिव लामिछानेको दवावमा शहरी विकास तथा भवन विभागको महानिर्देशक मचाकाजी महर्जनमार्फत शहरी विकास डिभिजन कार्यालयहरूमा सिनियर डिभिजन ईन्जिनियरलाई प्रमुख नबनाई इन्जिनियरलाई कामु प्रमुखको जिम्मेवारीमा खटाएको छ । जसवापत ठूलै थैलीको चलखेल भएको बताइन्छ । विभागमा कतिपय सिडिईहरू भने थैल िभेट नगरेका कारण जिम्मेवारी नपाएर बरण्डामा हाजिर गर्दै तलव पड्काई रहेका छन् । 


मन्त्री सिंहले पटक–पटक मन्त्री र उपप्रधान हुने अवसर पाउँदासमेत विकास, सुशासन र सुधारका नयाँ योजना ल्याएर पार्टी र जनताको मन जित्न नसकेको भन्दै उनी पार्टीमासमेत आलोचित हुँदै आएका छन् । बरू पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा केही सुधार र जनतालाई राहत दिने कार्यक्रम ल्याउन पहलकदमी लिइरहेको कांग्रेसका नेता कार्यकर्ताहरू बताउछन् । 


मन्त्री सिंहले काठमाडौंमा जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, प्रतिनिधिसभा, संविधानसभाको टिकट, मन्त्री, उपप्रधानको अवसर लिइसकेका छन् । तर, काठमाडौंबासी जनताको पक्षमा एउटा पनि उदाहरणीय काम गरेर उनले देखाउन नसकेको आरोप खेप्दै आएका छन् । जसले गर्दा सिंहप्रति काठमाडौंबासी कांग्रेसका नेताहरूले चित्त दुखाउँदै आएका छन । गत स्थानीय तहको निर्वाचनमा मन्त्री सिंहले घर व्यवहार चलाएर बसेकी र राजनीतिमा शून्य योगदान भएकी आफ्नी श्रीमती सिर्जना सिंहलाई मेयरको टिकट दिएर पार्टीमा राणाकाल र पंचायती व्यस्थामा जस्तो परिवारवाद लाद्न खोजेको आरोप उनीमाथि लाग्ने गरेको छ ।


त्यसैले सिंहका उम्मेदवार श्रीमती सिर्जनालाई काठमाडौं महानगरवासीले नराम्रो गरी पराजित गरेर असन्तुष्टि पोखेका थिए । पार्टीको १४औं महाधिवेशनमा उनी सभापतिमा उठ्दा पनि ३ सय ७५ मत ल्याएर बेइज्जतीपूर्ण हार व्यहोरेका थिए । कांग्रेस  पार्टीमा सँधै गणेशमानको पुत्रले केही नपाउने भनेर घुक्र्याउदै पार्टी र सरकारमा राम्रो अवसर पाउँदै आएका छन् । (साँघु साप्ताहिक, २०८१ चैत ४) 

प्रतिकृया दिनुहोस