• मंगलबार-भदौ-३१-२०८२

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

काठमाडौं । अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पूर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ ।


उनी नियुक्त भएपछि निजी क्षेत्र उकास्ने प्रतिबद्धता, सरकारी खर्च नियन्त्रणको निर्देशन तथा लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक वातावरण सिर्जना भएको प्रारम्भिक विश्लेषण गरिएको छ ।


यसै कारण लगानीकर्ताको चर्को दबाबसँगै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरूले असोज ५ गतेअघि नै बजार खोल्ने सम्भावनाबारे छलफल थालेका छन् । धितोपत्र बोर्डले आज सञ्चालक समिति बैठक बोलाई बजार खोल्ने मिति, समयावधि, सर्किट ब्रेकरको व्यवस्था जस्ता विषयमा निर्णय गर्ने बताइएको छ ।


राजनीतिक वातावरण स्थिर हुँदै गएको र लगानीकर्ताको मनोबल उकासिएको कारण बजार सुरुवाती दिन २ घण्टा मात्र वा पूरा समय नै खोल्ने विषय पनि छलफलमा रहेको छ । असोज १ गते सार्वजनिक विदा भएकाले असोज २ गते एकदिन मात्र बजार खोल्ने वा असोज ५ गतेदेखि नियमित गर्ने विषयमा अन्तिम निर्णय मंगलबार हुने जनाइएको छ ।
 

 

प्रतिकृया दिनुहोस