• बिहीबार-चैत-७-२०८१

फ्रान्सेली नेताले फिर्ता मागे ‘स्ट्याचु अफ लिबर्टी’, अमेरिकाले भन्यो, दिइन्न’

 

पेरिस, ६ चैत । फ्रान्सका एक नेताले ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ता गर्नु पर्ने माग गरेपछि अमेरिका र फ्रान्सबीच कूटनीतिक तनाव बढेको छ । यसबारे ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै अमेरिका नभएको भए आज फ्रान्सका जनताले जर्मन भाषा बोल्न बाध्य हुने जवाफ दिएको छ ।

 

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फ्रान्सेली नेताको मागको जवाफ भनिन, ‘बिल्कुल होइन, म ती नेतालाई सम्झाउनेछु कि यदि संयुक्त राज्यले हस्तक्षेप नगरेको भए फ्रान्सेली जनताले आज जर्मन बोल्ने थिए । तिनीहरू हाम्रो महान देशप्रति कृतज्ञ हुनुपर्छ ।’

 

अमेरिकाको यो कथनले दोस्रो विश्वयुद्धको ऐतिहासिक घटनाहरू तर्फ औंल्याउँछ। सन १९४० मा नाजी जर्मनीले फ्रान्सलाई कब्जा गर्यो, जसको कारण फ्रान्सेली सेनाले आत्मसमर्पण गर्नुपर्‍यो । तर, १९४० मा अमेरिकी र सहयोगी सेनाहरूले नर्मन्डी ल्यान्डिङ (डी.डे) मार्फत फ्रान्सलाई स्वतन्त्र गराएका थिए ।


‘स्ट्याच्यू अफ लिबर्टी’ न्यूयोर्कको हार्बरमा अवस्थित ऐतिहासिक मूर्ति हो, जुन फ्रान्सले सन् १८८६ मा संयुक्त राज्य अमेरिकालाई उपहार स्वरूप दिएको थियो। यसको कुल उचाइ ३०५ फिट छ र यसलाई लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिने गरिन्छ । यो फ्रान्सेली मूर्तिकार फ्रेडरिक अगस्टे बार्थोल्डीद्वारा डिजाइन गरिएको थियो, जबकि आधार संरचना गुस्ताभ एफिल (एफिल टावरको निर्माता) द्वारा बनाईएको थियो । यो मूर्ति फ्रान्सद्वारा स्थायी उपहारको रूपमा दिइएको थियो ।

 

त्यसैले यसलाई फिर्ता गर्न को लागी कुनै कानूनी प्रावधान छैन । अमेरिकी प्रशासनको भनाइबाट स्पष्ट हुन्छ कि उनीहरुले यो मागलाई पूर्ण रुपमा अस्वीकार गरेका छन् ।

 

हालै डोनाल्ड ट्रम्पको पुनः निर्वाचित बलियो स्थिति र व्यापार शुल्कमा वृद्धि भएपछि अमेरिका र युरोपबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । अमेरिकाले युरोपेली आयातमा नयाँ कर लगाए पछि फ्रान्सलगायत धेरै देशहरू आक्रोशित भएका छन् । ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ताको मागलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ । 

 

‘स्ट्याच्यू अफ लिबर्टी’लाई लिएर अमेरिका र फ्रान्सबीचको बहस हास्यास्पद लाग्न सक्छ तर यसले दुई देशबीच बढ्दो कूटनीतिक र व्यापारिक मतभेदलाई झल्काउँछ। अमेरिकाले यो ऐतिहासिक प्रतीक फिर्ता गर्ने मूडमा नरहेको स्पष्ट पारेको छ ।

 

 

प्रतिकृया दिनुहोस