झमक्क दशैं लागेको बेला साँघु अनलाइनमा हामीले एउटा समाचार दियौं, त्यो समाचारले राजनीतिक वृत्तमा धेरै प्रश्न उठायो । फोन गरेर समाचारबारे थप जानकारी लिनेहरु धेरै थिए । त्यो समाचार थियो, एमाले र माओवादीबीच भित्रभित्रै पाकिरहेको खिचडी । खिचडी पाकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सत्ता बहिर्गमन हुने समाचारमा उल्लेख थियो । खिचडी पाक्न त पाक्यो तर अर्कै रुपमा । शेरबहादुर देउवालाई केही महिनाका लागि नभएर वर्षाैंवर्षसम्म बहिर्गमन गराउने उद्देश्यले एमाले र माओवादीले राजनीतिक खिचडि पकाएका रहेछन् । एमाले र माओवादीको चमत्कारिक सहमति सार्वजनिक भइसकेको छ र त्यसले नेपाली राजनीतिमा भयानक भूकम्प ल्याइदिएको छ । यो भूकम्पको राजनीतिक पराकम्प निकै लामो समय महसुस हुने नै छ ।
एमाले र माओवादीको यो एकता या गठवन्धन, अथवा चुनावी तालमेलको चर्चा गर्दै गर्दा अर्काे एउटा समाचारको पनि चर्चा गरौं । जनयुद्धकालमा सा“घुमा एउटा समाचार छापियो जसमा भनिएको थियो, माओवादीसंग वार्ता गर्न एमाले नेता वामदेव गौतम रोल्पा पुगे । गौतम रोल्पा पुगेर फर्किएपछि त्यो समाचार प्रकाशित भएको थियो । त्यसबेलाको परिस्थिति हेर्दा समाचार वास्तवमै अविश्वसनीय थियो । समाचारको थप सत्यतथ्य सोधीखोजी गर्न पत्रकार, नेताहरु र जिज्ञासुहरुले मात्र नभएर गुप्तचरहरुले समेत सम्पर्क गरेका थिए ।
कालान्तरमा वामदेवले रोल्पा पुगेर गरेको वार्ताको औपचारिक पुष्टि भयो । अहिले एमाले र माओवादी नेताहरु त्यही रोल्पा वार्ताको जगमा दुई पार्टी एकीकरणको संघारमा पुगेको भनिरहेका छन् । एमाले र माओवादी कसरी र के कारणले यसरी नजिकिए ? सबैले यो प्रश्नको जवाफ खोजिरहेका छन् र जवाफ खोज्ने क्रममा अन्तर्राष्ट्रिय कारणहरु पनि देखाइरहेका छन् । वास्तवमा यो एकता घरेलु कारणले भएको हो नै, अन्तर्राष्ट्रिय कारणहरुले पनि भएको हो भन्नेमा शंका छैन । अन्तर्राष्ट्रिय कारणलाई व्याख्या विश्लेषण गर्ने तौरतरिका र दृष्टिकोण भने व्यक्तिपिच्छे फरक देखिन्छ ।
कांग्रेसले माओवादीसंग गठवन्धन गरेर आउ“दो चुनावमा एमालेलाई सखाप पार्ने तानाबाना बुनिरहेको थियो । यो कुरा कसैबाट छिपेको थिएन । माओवादी र मधेसवादीलाई उपयोग गरेर एमालेलाई प्रहार गर्ने नीति धेरै पहिलेदेखि जारी थियो । गिरिजाप्रसाद कोइरालाले संविधानसभा गठनपछि यो नीति निकै प्रभावशाली तरिकाले लागू गरेका थिए तर यसबाट उनले आफ्ना लागि फाइदा उठाउन भने सकेनन्, उनी राष्ट्रपति बन्न सकेनन् । पछि देउवाले यही नीति लिए, माओवादीलाई च्याप्ने र एमालेलाई तास्ने देउवाको नीतिले गत स्थानीय चुनावसम्म लगभग काम गरेकै मान्नुपर्ने हुन्छ ।
तर, अचानक एमाले र माओवादी कसरी मिले ? यो महत्वपूर्ण प्रश्न हो जसको जवाफ सबैले खोजिरहेका छन् ।
शायद देउवा तथा कांग्रेस नेताहरुले के बिर्सिए भने एउटाले अर्काेलाई उपयोग गर्न खास सीमासम्म मात्र सक्छ । माओवादीले योभन्दा धेरै कांग्रेसबाट उपयोग हुन सकिंदैन भन्ने सोच्यो । एमालेलाई सिध्याउने, त्यसपछि आफूलाई सिध्याउने कांग्रेसको रणनीति माओवादीले राम्रैसंग बुझ्यो । के भुल्न हु“दैन भने दृष्यमा कांग्रेस पनि अगाडि स¥यो तर एमाले अगाडि नसरेको भए माओवादी जनयुद्ध समाप्त हुने थिएन । दुवै पार्टी कम्युनिष्ट हुन्, एमाले धेरै नै नरमपन्थी कम्युनिष्ट हो भने माओवादी जनयुद्ध त्यागे पनि केही हदसम्म गरमपन्थी हो । नरमपन्थी भए पनि, गरमपन्थी भए पनि उनीहरुको गन्तव्य एउटै हो, संसदीय सरकार चलाउने । माओवादीले आफूलाई एमालेभन्दा फरक देखाउन संसदीय कालखण्डमा विभिन्न वैचारिक कसरत गरे पनि, आफूलाई विभिन्न खोल हाले पनि अन्तत ऊ संसदीय लाइनमा आउनु नै थियो । र, आयो पनि । संसदीय फा“टमा आइसकेपछि एमालेसंग कृत्रिम वैचारिक भिन्नता देखाउनुको औचित्य सकिंदै गएको थियो । अन्तत यी दुई एक ठाउ“मा आउनु नै थियो, आएका छन् ।
एमाले नेताहरुमा केही गरौं, देशमा केही चमत्कारिक काम गरौं, विकास गरौं भन्ने भावना प्रचुर देखिन्छ, यद्यपि, अरु पार्टीहरुमा जस्तै एमालेमा पनि विकृति विसंगतिको भण्डार नै छ । तथापि, एमालेजस्तै माओवादी नेतृत्वमा पनि केही गरौं भन्ने चाहना भएका नेता छन् । एमालेले आफ्नो सरकार छ“दा विगतमा अत्यन्तै लोकप्रिय कामहरु गरेको थियो । जनताका लागि केही गरौं भन्ने भावनाले नै एमालेलाई अरुभन्दा पृथक बनाएको छ । आउ“दो चुनावपछि सरकार बनाउने एमालेको उत्कट अभिलाषाको परिणति पनि हो माओवादी एमाले एकता ।
नाकावन्दीपछि एमाले र माओवादीले संयुक्तरुपमा भारतीय हस्तक्षेप झेलेका थिए, राष्ट्रियताको मामिलामा बीचमा माओवादी दाया“वाया“ लागेपनि दुवै संगै थिए । सरकारमा छ“दा प्रचण्ड राष्ट्रघाती कामबाट धेरै हदसम्म बचेका थिए । भारतले कांग्रेस र मधेसवादीलाई नै च्याप्छ, अरुलाई प्रयोग गरेर फालिदिन्छ भन्ने एमालेले धेरै पहिले बुझेको थियो, माओवादीले पनि पछिल्लो कालमा बुझ्न थाल्यो । बुझाईमा एकरुपताले पनि दुवै पक्षलाई नजिक ल्यायो ।
तैपनि के तत्वले एमाले र माओवादीलाई नजिक ल्यायो ? कसरी उनीहरु दीर्घकालीन एकताको पक्षमा उभिए ? यसबारेमा भविष्यमा व्यापक विमर्श हुने नै छ, तथापि अहिले उनीहरु एक हुनुको मुख्य कारण चाहिं कांग्रेसको व्यवहार नै हो । कांग्रेससंग माओवादीले गठवन्धन गरेको भए त्यो गठवन्धनले लगभग बहुमत ल्याउने थियो । कांग्रेससंग गठवन्धन सरकार चलाउनु अरुका लागि गाह्रो हो, झन माओवादीका लागि अत्यन्तै कठिन हो । यो कुरा एक दशकमा माओवादीले बुझिसकेको थियो, अरु पा“च वर्ष कांग्रेससंग सहयात्रा गर्दा देश जनता र पार्टीले कुनै उपलब्धि पाउ“दैन भन्ने माओवादी बुझाई अस्वाभाविक होइन । यो कारण पनि एमालेसंग नजिकिन माओवादी बाध्य भयो । कांग्रेसले माओवादीसंग मिलेर गठवन्धन बनाएको भए आउ“दो चुनावमा एमालेलाई बहुमत ल्याउन निकै गाह्रो थियो । दुवैको आवश्यकताले एकअर्काको नजिक भए । यो मिलाप कति टिक्छ ? भन्न गाह्रो छ तर दुवै पार्टीका नेता कार्यकर्ताहरुको मुड हेर्दा यो एकता एकीकरणमा अवश्य पुग्छ भन्ने देखिन्छ ।



