🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिन्दूराष्ट्र घोषणा गर : पाँचौँ पण्डित सम्मेलन

काठमाडौँ, १० कात्तिक (रासस) : पाँचौँ पण्डित सम्मेलनले ९३ प्रतिशतभन्दा बढी ॐ कार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ । 

सम्मेलनले आज ११ बुँदे घोषणापत्र जारी गर्दै आन्दोलनको माग नभए पनि छलफल नभई नेपाललाई धर्म निरपेक्ष बनाइएकाले पुनःस्थापना गर्न ध्यानाकर्षण गराएको हो । सम्मेलनले दशैँमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा काग तिहारदेखि भाइटीकासम्म, रामनवमी, जनैपूर्णिमा र तीजमा दर खानेदिनदेखि ऋषिपञ्चमीसम्म बिदा दिन माग गरेको छ । 

सडकमा छोडिएका गाईको अपमान र हत्या रोक्न, नाटक, चलचित्र, टेलिचलचित्र एवं सञ्चारमाध्यममा धार्मिक कृत्य तथा पण्डितप्रति अनादर फैल्याउने गरी निर्माण हुने सामग्रीको प्रसारण रोक्न पनि जोडदार माग गरेको छ । 

सम्मेलनले माध्यमिक तहसम्मको शिक्षामा सरल संस्कृत र नैतिक शिक्षाका पाठ्यक्रमको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । सम्मेलनले पण्डितलाई पनि आचार एवं निष्ठाका साथ विधिपूर्वक आफ्ना कर्म गर्न आह्वान गरेको छ ।

श्रीमद्भागवत सप्ताह, चातुर्मास पुराणजस्ता धार्मिक कृत्यलाई अर्थोपार्जनका रुपमा प्रयोग गरी विधिविधानलाई बेवास्ता नगर्नसमेत पण्डितलाई सचेत गराएको छ । 

सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रा डा माधव भट्टराई, कार्यक्रम संयोजक पवित्रबहादुर खड्का, प्राध्यापक श्रीकृष्ण अधिकारी लगायतले पण्डितले राष्ट्र र समाजको नेतृत्व गर्ने गरी आफ्नो ज्ञान र क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए  । 

सम्मेलनमा पूर्व राज्यमन्त्री कान्ता भट्टराईले ‘वर्तमान कानूनमा व्यवस्था भएका धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। 

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ‘धार्मिक क्षेत्रमा देखिएका समस्या’ विषयक कार्यपत्र प्रस्तुत गरे  । दुवै कार्यपत्रमाथि छलफल गरी आज घोषणापत्र जारी गरिएको हो । 

यसअघिका चार वटा सम्मेलनले पारित गरेका घोषणा पत्रको कार्यान्वयनका विषयमा धर्मसभाका अध्यक्ष भट्टराईले पनि आज कार्यपत्र प्रस्तुत गरे  । सहभागीले उठाएका धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम लगायतले जवाफ दिएका थिए। 

सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता थियो । सम्मेलनमा भाग लिन भारतबाट ३० जना पण्डितको समूहसमेत आएका थिए ।

नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजकिरिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका थिए । 

बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनले यसअघि नै जारी गरेको पण्डितको आचारसंहिता पालनाका लागि सरकारीस्तरबाट नीतिगत व्यवस्था गर्न पनि सहभागीले माग गरेका छन् । 
–––