काठमाडौं, २२ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै बिदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन् ।
आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ-नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे। नितान्त निहित स्वार्थ, ब्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति हाबी भएपछि गठबन्धन परिवर्तन भइरहनु अनौठो नहुने उनले बताए ।
मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र बिदेशी शक्तिको गोटी बन्न राजी हुने दलहरूको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन,नितिविहीन,आदर्शविहीन गठबन्धनले निकास दिन नसक्नेसमेत ठोकुवा गरे । 'यो गठबन्धनको बिकल्पको खोजी शुरु भैसको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ,' उनले भने ।
साच्चिकै वैचारिक धुर्विकरण हुने हो भने त्यसलाई भने केही हदसम्म सकारात्मक रुपमा ग्रहण गर्न सकिने थापाको भनाइ थियो । यो सन्दर्भमा व्यवस्थाको विकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले विचार मिल्नेहरूले आन्दोलनमा जानु पर्नेमा जोड दिए ।
'यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो कन्जर्भेटिभ शक्ति बनाउँदै आन्दोलनमार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौं,' थापाले भने । बैठकले आगामी चैत्र १ गते काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ ।



