काठमाडौँ, ४ असोज । (रासस) : रक्षामन्त्री भीमसेनदास प्रधानले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाली सेनालाई स्रोत र साधन सम्पन्न बनाउनुपर्ने बताएका छन् ।
व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको ४ असोज गतेको बैठकमा ‘विपद् व्यवस्थापन तथा विकास निर्माणका सम्बन्धमा भइरहेको प्रयास र प्रगतिबारे जानकारी दिँदै उन्ले तराईमा डुबान हुँदा, बाढीपहिरो जस्ता विपद् आउँदा उद्धार तथा राहत बाँड्ने कार्यमा नेपाली सेनाको योगदान महत्वपूर्ण भएको बताएका हुन् ।
“नेपालमा बाढीपहिरोको समस्या सधैँ भइरहन्छ । यसका लागि अबदेखि अगाडि नै आवश्यक सामग्रीका साथ तयारी अवस्थामा बस्नुपर्छ ।” बन्न लागेको विपद् व्यवस्थापन ऐनका बारेमा बृहत् छलफल गरी प्राकृतिक प्रकोप न्यून गर्न जरुरी भएको मन्त्री प्रधानको भनाइ थियो ।
प्रधानसेनापति रवीन्द्र क्षेत्रीले नेपाली सेना राष्ट्रको विकास निर्माणको काममा हातेमालो गर्न पाउँदा गौरवान्वित महसुस भएको उल्लेख गर्दै क्षमताले भ्याएसम्म जिम्मेवारी आएमा वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्षेत्रीले आकस्मिक उद्धारका लागि सेनाका लागि एयर एम्बुलेन्स जरुरी भएको पनि उल्लेख गरेका थिए । स्वयम्भू बारुदखाना काठमाडौँका बढी भीडभाडपूर्ण वस्तीमा रहँदैआएकाले त्यसलाई बाहिर स्थानान्तरण गर्ने तयारी रहेकोसमेत क्षेत्रीले जानकारी दिएका थिए । प्रधानसेनापति क्षत्रीले सीमामा देखिएका समस्याको कूटनीतिक पहलबाट समाधान खोज्नुपर्ने विचार व्यक्त गरेका थिए ।
बैठकमा सांसद बालकृष्ण खाँण, डा गंगाधर पराजुली, रवीन्द्रप्रताव शाह, लोकमणि ढकाल, विक्रमबहादुर थापा, सन्तकुमार दरै, टीकाराम चेम्जुङ, रेखा शर्मा, श्यामप्रसाद ढकाल र प्रेम सुवालले विपद् व्यवस्थापनमा खटिने नेपाली सेनालाई आगामी दिन स्रोतसाधन सम्पन्न बनाउनुपर्ने धारणा राखेका थिए ।
बैठकले नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसैगरी, घुम्ती र मोड घटाउन लघु सुरुङ मार्ग बनाउन दीर्घकालीन योजना अघि ल्याउन नेपाली सेनालाई निर्देशन पनि दिइएको छ ।
त्यसगैरी, उद्धार कार्यका लागि प्रत्येक प्रदेशमा एक/एक वटा हेलिकप्टर (एमआइ–१७) र तीन वटा साना हेलिकप्टर नेपाली सेनालाई उपलब्ध गराउन बैठकले रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । तस्बिर : कालिका खड्का,
–––



