काँकडभिट्टा, झापा १२ चैत (रासस) : झापामा घ्यूको मूल्यमा कमी आएको छ ।
घ्यूको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घ्यूको मूल्यमा रु ५० घटाएको छ । अहिले घ्यू प्रतिकिलो रु ६५० मा बिक्री भइरहेको छ ।
एनएमसीले संकलित दूध स्थानीय बजारमा मात्र खपत हुन नसकेपछि पोखरा र चितवनमा समेत बिक्री गर्न थालेको छ । बजार नपाएपछि उत्पादकले मूल्य घटाएर घ्यू बेच्न थालेका छन् ।
दैनिक १५ हजार लिटर दूध संकलन गरिरहेको एनएमसी डेरीले दैनिक करिब १५० किलो घ्यू बिक्री गर्दैआएको उक्त डेरीका बजार प्रबन्धक नवराज अधिकारीले बताए ।
जिल्लाको अर्को ठूलो डेरी ऋतिकाले घ्यू प्रतिकिलो रु ६५० मा बिक्री गर्दैआएको छ । “हामी पहिले पनि यही मूल्यमा घ्यू बेचेका थियौँ,” बजार व्यवस्थापक केशव चिमरियाले भने । ऋतिका डेरीले दैनिक करिब एक सय किलो घ्यू बेच्दै आएको छ । झापा पछिल्लो समय दूध, घिउ, दही, पनिरलगायत वस्तुमा आत्मनिर्भर बन्दै गएको छ ।



