काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै सचिवको सरुवा गरेको छ । २०७४ असोज २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिव सरुवा र एक सहसचिबको बढुवा गर्ने निर्णय गरेको हो ।
उता केही समयदेखि नेतृत्व नपाएको सतर्कता केन्द्रले पनि सचिव पाएको छ । त्यहाँ माधव कार्कीलाई सचिवमा बढुवा गरेर पदस्थापन गरिएको हो । १० दिन पनि कार्यदिन नभएका सचिव कार्की भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिवमा कार्यरत थिए। सचिवमा बढुवा गरेर सतर्कताको प्रमुख बनाइएको छ । यद्यपि, उनी लामो समय सतर्कता केन्द्रको नेतृत्व गर्न पाउने छैनन् । स्रोतका अनुसार, उनको २०७४ असोज १९ गते नै उमेर हदका कारण अवकाश हुँदैछ । उनले केपी ओली नेतृत्वको सरकारको पालामा सडक विभागको महानिर्देशक बन्ने अवसर पाएका थिए।
यद्यपि, दुई सचिव सापकोटा र बरालको सरुवाको निर्णयबारे कसैलाई पनि जानकारी गराइएको छैन । यो समाचार तयार पार्दासम्म उनीहरुले सरुवाको पत्र भने पाएका छैनन्। उनीहरुले मौखिक जानकारी पाएको खबर छ।
स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बराल र सामान्य प्रशासन मन्त्रालयका विवादास्पद सचिव मोहनकृष्ण सापकोटाको जिम्मेवारी हेरफेर भएको हो । सापकोटालाई सामान्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगेर थन्क्याइएको छ । सापकोटासँग काम गर्न सामान्य प्रशासन मन्त्रीले असहज भएको गुनासो प्रधानमन्त्रीसँग गरेपछि उनको हतार–हतार सरुवा गरिएको चर्चा छ । सचिव सापकोटाले काममा असहयोग गरेको, अन्य मन्त्रीकोमा मन्त्रालयको गोप्य काम–कारबाहीबारे सूचना पुर्याएकोलगायत आरोप सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले सार्वजनिक रुपमा नै लगाउँदै आएका थिए । मन्त्री र सचिवबीच तालमेल नमिलिरहेका बेला सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । ‘सचिव सापकोटाको सरुवा मन्त्रीले नै मागेपछि उनको सरुवा भएको हो’, स्रोतले भन्यो, ‘सूचना आयोगमा सरुवा गर्ने अन्तिम तयारी गरिए पनि अन्तिममा प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।’
प्रधानमन्त्री कार्यालयबाट सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएका बराल केही महिनाअघि मात्रै महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट काजमा मन्त्रिपरिषद् कार्यालय लगिएका थिए ।



