काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा दुईजना व्यक्तिको विषयले विवाद निम्त्याएको छ । २०८० फागुन ७ गतेबाट सुरू भएकाे नेपाली कांग्रेसको महासमिति बैठकमा विदेशी नागरिक समेत भाग लिएकाे भन्दै विवाद खडा गरिएकाे छ । कांग्रेसको महासमिति सदस्यमा दुईजना विदेशी व्यक्ति महासमिति सदस्य भएका कारण विवाद निस्केको हो ।
ती दुईजना व्यक्तिमध्ये एकजना बेलायती र अर्को एकजना क्यानडाका नागरिकता लिएका कारणले विवाद निस्केको हो । उनीहरु कांग्रेससँग आबद्ध भएपनि कांग्रेसको शुुभेच्छुक संस्थामा काम गरेका ती व्यक्तिलाई अनधिकृत रुपमा महासमिति सदस्य बनाएको आरोप लागेको छ ।
क्यानडामा रहेका बुद्धिप्रकाश लामिछानेको विषयमा निकै विवाद देखिएको छ । उनी अहिले कांग्रेसको महासमिति सदस्य रहेका छन् । त्यसैगरी, युवराज गुरुङको विषयमा पनि विवाद भइरहेको छ । गुरुङ बेलायती नागरिक हुन् । यी दुई जना विदेशी नागरिक भएका व्यक्तिहरू कसरी महासमिति सदस्य भए भन्ने विषयमा कांग्रेसभित्र विवाद उठेको हो ।
विदेशमा रहेका कांग्रेसका शुभेच्छुक संस्थामा आबद्ध नागरिकलाई महासमिति सदस्य बनाउन सकिन्छ तर उनीहरु विदेशी नागरिकता लिइसकेको अवस्थामा भने हुुनुहुँदैन । उनीहरु विदेशी नागरिकता र राहदानी लिइसेका व्यक्ति हुन् ।
कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसङ्ख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुने व्यवस्था छ ।
१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।
कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने व्यवस्था छ । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था रहेका छन् ।



