काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले अघिल्लो साता लेखा समूहका २१ जना उपसचिवहरुको काज सरुवा गरेको छ । उक्त सरूवामा विभिन्न कार्यालयदेखि ठूला, आकर्षक प्रोजेक्ट र मालदार मानिएका निकायका प्रमुखहरूको लाखौ रकम लेनदेन र थेली सेटिङ्गसहित सरूवा गरिएको स्रोतले जानकारी दिएको छ । निजामती प्रशासन वृत्तमा २०६० सालमा लेखा अधिकृतमा निय्क्ति भएकाहरुको सरूवामा थैली सेटिङ आतंक व्याप्त रहेको अर्थ स्रोतले बताएको छ । विशेषगरी उक्त समयमा लोक सेवा पास हुनेहरुले समूह बनाएर सेटिङ्गको धन्दा संचालन गरिरहेको चर्चा छ ।
यतिखेर यही समूह विभिन्न मन्त्रालय, विभाग, आयोग र सरकारी निकायमा हावी भएको बताइन्छ । अर्थ मन्त्रालयबाट भरखरै प्रदेश मन्त्रालयमा सरूवा भएका रितेश कुमार शाक्यदेखि हाल कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, भैरहवा भन्सारमा कार्यरत नारद गौतम, राजश्व अनुसन्धान विभागका उपसचिव ईन्द्र गौतमसम्म लेखा समूहबाटै प्रशासन समूहमा जम्प हान्ने कर्मचारीहरुमा दर्ज भएका छन् । लेखा समूह कब्जा जमाएर बसेका २०६० सालका अधिकृतहरु नै यतिवेला यो समूहका डन लेखा उपसचिव भनेर परिचित रहेको चर्चा छ ।
आफ्नो ब्याचभन्दा अरुलाई सक्षम कर्मचारी नै नदेख्ने उनीहरुले मालदार, आकर्षक र अतिरिक्त कमाई हुने निकायमा सरुवा भएर मालामाल बन्ने गरेको आरोप सोर्सफोर्स थैली भेट गर्न नसक्ने पीडित कर्मचारीले लगाएका छन् । मालदार र आकर्षक अड्डा, विभिन्न विकास आयोजनालगायत कमिशन आउने अड्डामा उनीहरुले आलोपालो गरी सरुवा हुने र पुन महालेखा नियन्त्रक कार्यालयमा सरुवा हुने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएर पनि प्रशासन, आन्तरिक प्रशासन जस्ता शक्तिशाली शाखाहरु हत्याउने र पुनः पालो मिलाएर मालदार र आकर्षक अड्डाहरुमा थैलीको बलमा सरुवा भएर जाने चक्र लामो समयदेखि चलिरहेको बताइन्छ । यो समूहमा प्रकाश पुडासैनी, दिनेश रेग्मी, रबिन कोइरालालगायत अग्रपंक्तिमा रहने गरेको महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरु बताउछन् । पुडासैनी त शेयर कारोबारीसमेत रहेको चर्चा छ । अरु केही उनका पार्टनरहरूको पनि शेयर धन्दा राम्रै चलेको बताइन्छ ।
२०७२ साल बैशाखमा गएको महाभूकम्प पश्चात क्षति भएका संरचनाहरुको निर्माणको जिम्मा पाएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा कार्यरत रहेका भुवन काफ्ले मलेनिकाको कर्मचारी प्रशासन शाखा हुँदै सडक विभाग र त्यसपछि अहिले स्वास्थ्य सेवा विभागमा पुगेका छन् । मलेनिकाको आर्थिक प्रशासन शाखा हुँदै कर्मचारी प्रशासन शाखामा रहेर काम गरिसकेका रेग्मी सडक विभागसमेत भ्याएर हाल हेटौंडा पुगेका छन् ।
सडक विभाग, सिँचाई कार्यालयलगायत राम्रो कमिशन आउने कार्यालयहरुमा कार्यरत रहँदा राम्रै अवसर पाएका पुडासैनी यतिखेर मलेनिका पुगेका छन् । अर्का शक्तिशाली मानिने उपसचिव रविन कोईराला आलोपालोमा हाल भूतले खाजा खाने समयमा सडक विभाग पुगेका छन् ।
पशु सेवा विभाग, रानीजमरा सिँचाई आयोजना, काठमाडौं खानेपानी निर्देशनालय, मलेनिकाको कर्मचारी प्रशासन शाखा हुँदै कोइरालाले सडक विभागको लेखा प्रमुखको पद पड्काउन सफल भएका हुन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा भुवन काफ्ले, ज्ञानेन्द्रराज ओझा, निरज केसी पालैपालो गरेर ‘तर’ मारेर बसिसकेको चर्चा छ । अहिले मलेनिकाको कर्मचारी प्रशासन शाखामा उनै निरज केसीले हालीमुहाली गरिरहेको कर्मचारीहरु बताउछन् ।
उपसचिव को कहाँ पुगे ?
महालेखा नियन्त्रकको कार्यालयले अघिल्लो साता गरेको सरुवा सूची अनुसार भिम प्रसाद रेग्मीको खानेपानी तथा ढल व्यवस्थापन विभागमा सरुवा भएको छ । नवराज घिमिरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र केशवराज सुवेदीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको बताइन्छ ।
रमेश अर्याल कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीमा पुगेका छन् । मुक्तिनाथ न्यौपानेको स्वास्थ्य बीमा बोर्डमा सरुवा भएको छ । भिमार्जुन ज्ञवालीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाईमा सरुवा गरिएको छ । पुष्प गुरागाईको विद्युत विकास विभाग र जागुराम चौधरीको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । रमेश पौडेलको वन तथा भूसंरक्षण विभाग र कमल सापकोटालाई कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुपाल्चोकमा खटाइएको छ । शरणहरि लुइटेलको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुपाल्चोक, र अशोक कुमार गिरीको कोष तथा लेखा नियन्त्रक कार्यालय सिराहामा सरुवा भएको छ ।
छविन्द्र बेलबासेको कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँची र मञ्जुकुमारी जैसी ढकाललाई कोषको रुपन्देही कार्यालयमा सरुवा गरिएको छ । भवराज जोशीलाई लमजुङ र महालेखा नियन्त्रक कार्यालयमा कार्यरत दिनेश रेग्मीको मकवानपुरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ । कोषको सर्लाही कार्यालयका निर्मल न्यौपानेको सुनसरीस्थित सोही कार्यालय सरुवा भएको बताइन्छ ।
रौतहटस्थित कार्यालयमा कार्यरत राजनकुमार फुयाललाई सुनसरी मोरङ सिँचाई आयोजना मोरङमा खटाइएको छ । सल्यानमा कार्यरत रुक्मागत अर्याल कपिलवस्तु कार्यालयमा लखेटिएका छन । कोषको ओखलढुंगा कार्यालयका भुपेन्द्रबहादुर मल्ल रामेछापमा र बैतडीका प्रमुख मदन मगराती सुर्खेतस्थित सोही कार्यालयमा सरुवा भएको मलेनिका स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८० फागुन ७)



