🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वाणिज्य बैंकहरुको अवस्थाः ६० खर्ब निक्षेप, ५० खर्ब कर्जा लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा मौद्रिक तरलता अधिक भएपनि कर्जाको माग नहुँदा रकम थुप्रिएर समस्या बढेको बताइएको छ । जसका कारण बैंकहरूले निक्षेपकर्ताहरूलाई व्याज नदिन नसक्ने अवस्था आएको जानकारस्रोतले बताएको छ । कहिले निक्षेप नहुँदा कर्जा माग हुँदा पनि दिन नसक्ने अवस्था, त कहिले अधिक तरलता हुँदासमेत माग नहुँदा समस्या बढेको बताइन्छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुमा संकलित निक्षेप ६० खर्बभन्दा माथि रहेको जानकारहरुले बताएका छन् । 

यो अवधिमा बैंकहरुले ५० खर्ब हाराहारीमा कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब ३ अर्ब पुगेको छ । साउन महिनायता निक्षेप निरन्तर बढ्दै गएको राष्ट्र बैंकको जनाएको छ ।

आर्थिक मन्दीले लगानीका अन्य क्षेत्रहरु ठप्प हुँदा सर्वसाधारण निक्षेपकर्ताले पैसा बैंकमा राखेर ब्याज खाने प्रवृत्ति बढ्दा निक्षेपको आकार बढेको बताइएको छ । असार मसान्तसम्ममा ५७ खर्ब ७० अर्ब रहेको निक्षेप पाँच महिना यता २ खर्ब ३३ अर्ब रुपैयाँले बढेको बताइन्छ । यतिबेला अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएका छन् । तर, आन्तरिक आर्थिक सूचकहरु भने दबाबमा रहेको अर्थविद्हरुको भनाई रहेको छ । 

राष्ट्र बैंकका अनुसार कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूसँग ५३ खर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तै, अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप ६ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ । बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ६० खर्ब भन्दा बढी रहँदा कर्जा लगानी ५० खर्ब नजिक पुगेको पाइएको छ । हालसम्म बैंकिङ प्रणालीबाट ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये ४४ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह वाणिज्य बैंकहरूले मात्रै गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ५ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा कर्जा दिन सक्ने क्षमता उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।  हाल बैंक तथा वित्तिय संस्थाको कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८०.३६ प्रतिशत रहेको छ । बैंक तथा वित्तिय संस्थाहरूले अधिकतम ९० प्रतिशतसम्म मात्रै कर्जा निक्षेप अनुपात राख्न पाउने व्यवस्था रहेको छ । यस्तै बैंकहरूको अन्तरबैंक ब्याजदर २.६२ प्रतिशतमा झरेको छ ।

दुई साताअघि राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही नीतिगत लचकता अपनाएपछि सेयरबजारलगायतका क्षेत्रमा चहलपहल बढेको छ । सेयर बजार नेप्से बढेर २१ सय हाराहारीमा पुगेको छ । बैंकलाई ब्याजदर घटाउन सहजीकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिकक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।

यस्तै, राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र निक्षेप संकलन दर ४.५ बाट घटाएर ३ प्रतिशत कायम गरेको छ । नीतिगत दर घटाएसँगै बैंकहरुले पनि पुस महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर अन्तरबैंक ब्याजदर ३ प्रतिशत नजिक ल्याउन सफल भएको छ । (साँघु साप्ताहिक, २०८० पुस ९)