काठमाडौं । बजारमा यतिखेर चिनीको मूल्य अत्यधिक बृद्धि भएको छ । गएको भदौ अन्तिम सातासम्म खुद्रा बजारमा प्रति किलो रू. १ सय ५ देखि १ सय १० मा बिक्री वितरण हुँदै आएको थियो । तर, असोज महिना लागेसँगै एकाएक मूल्य बृद्धि भएर १ सय ३०–१ सय ३५ रुपैयाँ प्रति किलो पुगेको छ ।
अझ खुद्रा बजारमा त प्रति किलो १ सय ४० दखि १ सय ४५ रूपैयाँमा बिक्री–वितरण भइरहेको छ । रातारात चिनीको प्रति किलो ३०–३५ रूपैयाँ बढनुको कारण आम उपभोक्ता पत्ता पाउन सकेका छैनन् ।
उता, व्यापारीहरूले भने बजारमा चिनीको अभाव रहेको भन्दै उपभोक्ताले मागे जति परिमाणमा उपलव्ध गराउन नसकेको दावी गर्दै आएका छन । बजारमा चिनीको अभाव देखाउँदै निरन्तर रुपमा मूल्य बढाइरहेको समाचारस्रोतहरुले बताएका छन । तर सरकारले प्रभावकारी रूपमा बजार अनुगमन गर्न सकिरहेको छैन ।
बिना कारण बढेको मूल्य घटाउन र कालो बजारी गर्ने व्यापारीहरूलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले कारवाही गर्न सकिरहेको छैन ।
विभागले गएको असोज ८ गते कालोबजारी गरेको आरोपमा काठमाडौं कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिंकको गोदाममा छापा मारेको थियो । जसबाट भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको करिब ७० हजार किलो चिनीको गोदाम सिल सिल गरेको थियो ।
विभागको टोलीले चिनीको गोदाम सिल गरेर गुणस्तर परीक्षणका लागि पठाइएको थियो । व्यवसायी सन्तोष खेतानको गृहेश्वरी ट्रेड लिंकले उद्योगहरुबाट सस्तोमा चिनी खरिद गरेर काठमाडौंमा बिल बिजक विना नै महँगो मूल्यमा बिक्री गर्दै आएको थियो ।
खेतानले १ सय २७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर १ सय ५ रुपैयाँमा बिक्रीवितरण गरेको बिल दिने गरेको आरोप लागेको छ । भदौ अन्तिम साता सम्म खुद्रा बजारमा प्रति किलो १ सय १० रूपैयाँमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक प्रतिकिलो १ सय ४० रूपैयाँसम्म मुल्य पु¥याइएको थियो ।
काठमाडौं उपत्यकामा चिनीको थोक बिक्रेता मानिएका खेतानको फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा चिनी खरिद गरेर गोप्य रूपमा भण्डारण गर्दै चाडपर्वको मुखमा महँगोमा बिक्री गर्दै आएको बिभागको ठहर रहेको छ । उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद गरिएको छ ।
बजारमा दालको पनि मूल्य बृद्धि
बजारमा दालको पनि मूल्य बृद्धि भएको छ । अहिले बजारमा रहरको दालको मूल्य प्रतिकिलो रू. १ सय ८५ बाट २ सय ४० पुगेको छ । चना दालको मूल्य १ सय ३० बाट बढेर १ सय ४० रुपैयाँ पुगेको छ ।
काबुल चनाको मूल्य २ सय १० बाट बढेर प्रतिकिलो २ सय ३५ पुगेको छ । मुग छाटा दालको मूल्य १ सय ८० बाट बढेर २ सय पूगेको छ । हरियो केराउ १ सय ३० उपलव्ध हुँदै आएपनि मुल्य बढेर १ सय ५० पुगिसकेको छ ।
मासको दाल १ सय ९५ बाट २ सय १५ पुगेको छ । राजमाको मूल्य २ सय २५ बाट बढेर २ सय ४० रूपैयाँ प्रतिकिलो पुगेको बताइन्छ । सनफ्लावर तेलको मूल्य २ सय ५ बाट बढेर २ सय ८० रुपौयां पूगेको छ । दैनिक भान्सामा प्रयोग हँुँदै आएको जिरा दाना १ हजार ५० बाट बढेर प्रतिकिलो १३ सय पुगेको छ ।
यसरी छोटो अवधीमा नै मुल्य बढ्दा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहत निकायलाई प्रभावकारी रुपमा परिचालन गरी अनुगमन कार्यलाई सचेत बनाउन सेको छैन । साथै मूल्य नियन्त्रणतर्फ अग्रसरता देखाउन नसकेको आरोप खेप्दै आएको छ । यतिसम्म कि संसदका समितिहरुले दिएको निर्देशनको अवज्ञा गर्दै सरकारी निकाय अनदेखा जस्तै गरेर मौन बसेको गुनासो बढेको छ ।
चिनीको कालोबजारी र मूल्यवृद्धि किन ?
अर्ध सरकारी निकाय साल्ट ट्रेनिङ कर्पाेरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनी नभएको मौका छोप्दै सीमित व्यापारीले मौकामा चौका हानिरहेको स्रोतले बताएको छ । चाडपर्व सुरु भएसँगै बजारमा चिनी अभाव देखाउँदै उनीहरुले चर्को मूल्य असुली गरिरहेका छन् ।
गएको असोज ९ गतेसम्म ५० किलो बोराको चिनीको होससेल मुल्य ६ हजार ५० रूपैयाँ रहेको थियो । तर असोज १० गते प्रतिबोरा ६ हजार ५ सय भन्दा बढी भएको छ । ६ हजार बोरामा चिनी खरिद गरेका खुद्रा किराना पसलहरूले प्रतिकिलो १ सय २५ रुपैयाँमा चिनी बिक्री गरिरहेका जानकार स्रोतले बताएको छ । तर एक्कासी बोरामै ५ सय रुपैयाँ बढेपछि किराना पसलहरुले प्रतिकिलो १ सय ४० रुपैयाँसम्ममा चिनी बिक्री गर्दै आएका छन् ।
व्यापारीले जहिले पनि दशैं,तिहार र छठ जस्ता चाडपर्व सुरु भएसँगै चिनीको मूल्य बढाउँदै आएका छन् । यसपटक पनि दसैं, तिहार र छठपर्व लक्षित गर्दै अहिलेदेखि नै बजारमा चिनी अभाव देखाउँदै मूल्य बढाएको जानकारस्रोत बताउँछ ।
व्यापारीले विराटनगर, इटहरी, विरगञ्ज तथा चितवनमा चिनी लुकाएर राखेका छन् । लुकाएको चिनी विभागले छापा मार्न लागेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरको सरुवा गरिएको थियो ।
व्यवसायीले ३० हजार मेट्रिक टन भन्दा बढी चिनी लुकाएर अभाव सिर्जना गरेको बताइएको छ । व्यवसायीको कालोबजारीमा तत्कालीन सचिव मधु कुमार मरासिनी तथा मन्त्री रमेश रिजालले साथ दिंदै आएको स्रोतले बताएको छ ।
चिनीको अभाव देखाउँदै कालोबजारी गर्नेलाई कारबाही गर्न सहयोग गर्नु पर्नेमा उल्टै कमिसन खाँदै पुरस्कार दिइएको छ । अहिले सरकारी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको स्टक छैन । केही दिन अर्थात भदौ महिनामा ६० हजार टन चिनी भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयसँग अनुमति माग भएको थियो ।
तर अर्थले २० हजार मेट्रिक टन मात्र चिनी आधा भन्सार छुटमा ल्याउनका लागि अनुमति दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्दै आएको छ । अर्थले सहमति दिएको भए पनि चिनी खरिदको झन्झटिलो प्रकृयाका रहेको र भारतले पनि अहिलेसम्म स्वीकृति दिइसकेको छैन ।
यही कारण दसैँ, तिहार तथा छठपर्व अगाडि चिनी आइपुग्ने सम्भावना न्यून हुँदै गएको स्रोतले बताएको छ । यही मौका छोप्दै व्यवसायीले चिनीको मूल्यमा कालो बजारी गर्दै आएका छन ।
किन हुँदैछ निरन्तर मूल्य वृद्वि ?
२०७८ को दसैँ, तिहार र छठपर्व आसपासबाट बढेको खाने तेलको मूल्य त्यसयता निरन्तर बढिरहेको छ । साथै, साउन–भदौ महिनासम्म नेपाली बजारमा सूर्यमुखी तेल प्रतिलिटर १ सय ४० रूपैयाँको हाराहारीमा बिक्री भएको थियो । पछिल्लो समय एक्कासी तेलको मूल्य बढेर २ सय ६० देखि २ सय ८० रूपैयाँसम्म पुगिसकेको छ ।
तोरीको तेल पनि प्रतिलिटर ३ सय ७० रूपैयाँसम्म पुग्यो । यसरी बढेको तेलको मूल्य अहिले कहिले लिटरमा २० रूपैयाँसम्म घट्ने त कहिले २० रूपैयाँ बढ्नेक्रम निरन्तर स्पमा चलिरहेको बताइन्छ । अहिले पनि बजारमा सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २ सय ६० रूपैयाँभन्दा बढी नै रहेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन ।
तोरीको तेलको मूल्यमा पनि खासै कमी आउन सकेको छैन । उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन, सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका मुलुकहरुबाट आयात हुँदै आएको समाचारस्रोत बताउँछ ।
मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा बजारको व्यापार अनुरूप नै बजारको समेत मूल्य निर्धारण भइरहेको छ । डलरको मूल्य र ढुवानी भाडा बढ्दा पनि तेलको मूल्य बढिरहेको छ । तेलपछि अहिले सबै भन्दा बढी मूल्य बढेको वस्तु हो मसलाजन्य खाद्य पदार्थ ।
उक्त मसालाजन्य वस्तुमा पनि जिराको मूल्य निरन्तर उकालो लागि रहेको छ । विगत ४÷५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँ भन्दा माथि पुगेको थिएन । तर, गएको दसैँ–तिहारपछि भने बिस्तारै मूल्य बढ्दै गएको उपभोक्ताकर्मीहरु बताउँछन । खुद्रा बजारमा जिरा प्रतिकिलो १ हजार ३ सय ५० रूपैयाँ प्रति किलोसम्म पुगेको छ ।
जिराको मूल्य बढेसँगै माग पनि केही घटेको छ । विगतका वर्षहरूमा भन्दा चालु आर्थिक वर्षमा जिरा आयात कम भएको बताइन्छ । यसको बढी व्यापार दसैँ, तिहार र छठपर्व आसपासमा नै हुने गरेको छ । अहिले जिराको माग प्राय उस्तै नै रहेको व्यापारीहरु बताउछन् । कोराना महामारीपछि जिराको माग बजारमा झन् बढेको बताइन्छ । कोरोना महामारीमा विशेषगरी जिरा–पानी खाने प्रचलन स्वत बढ्दै गएको स्रोतले बताएको छ ।
तर, पछिल्लो समय भने मूल्य बढ्दा माग केही घटेको बताइन्छ । नेपालमा व्यावसायिक रुपमा जिरा खेती हुन सकेको छैन । शहरी क्षेत्रमा हुने मागको ९० प्रतिशत भन्दा बढी जिरा विदेशी मुलुकबाट आयात हुने गरेको छ । त्यसमा पनि धेरैजसो इरानबाट हुँदै आएको भएपनि रुस युक्रेन युद्ध पछि प्रतिबन्दका कारण नेपालको छिमेकी मुलक भारतबाट नै आयात भइरहेको स्रोतको भनाइ रहेको छ । पश्चिमा देशमा जिराको माग बढदा मूल्य बढेको व्यापारीहरूले बताउने गरेका छन ।



