अमेरिकामा आप्रावासी सम्बन्धी विषयले चर्चा पाइरहेको छ । यस्तै आप्रावासी कानूनको धेरै ब्यक्ति तथा परिवार शिकार बनेका छन् । त्यस्तै मध्ये समस्यामा परेकी छिन् यी महिला । अमेरिकाको क्यालिफोर्नियाकी एकजना गर्भवती महिला पीडाले आत्तिदै आफैंले कार चलाएर अस्पताल जानु परेको छ । सडकमा उनीसंगै गाडीमा रहेका उनको श्रीमानलाई सुरक्षा अधिकारीले पक्राउ गरेपछि उनले यसो गर्नुपरेको हो ।
खबरका अनुसार, मारिया डेल क्रेमेन बेनेगास नाम गरेकी महिला गर्भवतीको पीडामा थिइन । उनका श्रीमानले कार चलाइरहेका थिए । जब उनका श्रीमानले तेल स्टेशनमा कार लगे तब दुईवटा कारहरू आएर उनलाई घेरा हाले । कागजपत्र माग्दा नभएपछि उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो । बेनेगास भने आफैंले गाडी चलाएर अस्पताल पुगेकी थिइन । उनले त्यहाँ आफ्नो पाँचौं सन्तानलाई जन्म दिएकी छिन् । उनका श्रीमान मेक्सिकोका नागरिक हुन् । उनी १२ बर्ष अगाडि अमेरिका आएका थिए । उनीसँग अमेरिका बस्ने कानूनी कागजात नभएका कारण प्रहरीले पक्राउ गरेको हो ।



