काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयबाट रजिष्ट्रार महेश बरालको सरुवा भएको छ । उनको राष्ट्रिय योजना आयोगमा सरूवा भएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्यालयमा कसलाई खटाउला भन्ने चासो बढेको छ । रजिष्ट्रार बरालले यो हप्ता भित्र मात्र रमाना लिएर हिंड्ने सोच बनाएको बुझिएको छ ।
उनले पटक पटक सरुवा माग गरे पनि नयाँ कम्पनी दर्ता, नामसारी, पुँजी बृद्धिलगायतको लागि सेवाग्राहीलाई सहज हुने गरी नयाँ सफ्टवेर जडान गर्ने तयारीमा जुट्दै आएका थिए । यही बिचमा उनको सरुवा भएकोले उक्त कार्य भने अधुरो हुन पुगेको कम्पनी स्रोतले जनाएको छ । हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर मन्त्रालयमा सहसचिवद्वय तीर्थ चिलुवाल र दिवश आचार्य भित्रिएका छन । तर मन्त्रालयमा अब आपूर्ति महाशाखा मात्र रिक्त रहेको छ ।
त्यसकारण यी दुई मध्ये एकजनालाई कम्पनीमा खटाउने अनुमान मन्त्रालयका कर्मचारीले गरेका छन । त्यसो त यस अघि उद्योग विभागको नेतृत्व गरेका सहसचिव रामचन्द्र तिवारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्व गरिसकेका र हाल मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका लीलाप्रसाद शर्मा पनि रजिष्ट्रारको लागि प्रयास गरिरहेको स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८० भदौ २५)



