काभ्रे । काभ्रेमा जंगली जनावरले बाली नस्ट गरेपछि किसानहरु मारमा परेका छन् ।
विशेष गरि भुम्लु गाउँपालिका वडा १ सापिङ्गस्थित कात्तिकेका किसानहरूले लगाएको मकै भित्र्याउन नपाउँदै बाँदर, दुम्सी र बँदेलले सखाप पारेपछि स्थानीय मारमा परेका हुन् ।
पटकपटक पालिकाले बन्यजन्तु नियन्त्रणमा पहलकदमी भइरहेको भने पनि चासो नदिंदा बन्यजन्तुबाट सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ।
कृषिमा क्रान्ति गर्ने भन्दै किसानलाई चुनावी बेला भोट हाल्न प्रलाेभन पारेर अहिले बन्यजन्तु नियन्त्रणमा कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।
"वर्षभर खाने अन्न जङ्गली जनावरको सकाइदिएपछि के खाने ? पालिकाले दिएको अलिकति क्षतिपूर्तिले के नै हुन्छ र ",- स्थानीय राधा पहरीले साँघु डट कमसँग गुनासो गरिन।
तर, पालिका अध्यक्ष प्रेम बहादुर भुजेल भने अहिले बिरुवा रोप्न ब्यस्त रहेको पाइको छ। बुझेअनुसार पालिकाभित्र साल घारी, अमला घारी, गुराँस घारी र बेल घारी बनाउने भन्दै पालिकाबाट रु ८ लाख बजेट हालेर बिरुवा रोपेका बताइएको छ।
तर, रोपेका बिरुवा सबै मरिसकेको स्थानीय बताउँछन् । न त रोपेको बिरुवालाई संरक्षण छ ,न त जंगली जनावर नियन्त्रणमा पहलकदमी छ । जनतालाई भोटको लागि मात्र प्रयोग गरेर अहिले कुनै वास्ता नगरेको भन्दै स्थानीयले पालिका प्रति चर्को आलोचना गरेका छन् ।



