(मिहिनेत गर्ने सबै सफल हँुदैनन् । कहिलेकाहीं मिहिनेत नगर्नेलाई पनि लोटरी लाग्न सक्छ । देशमा सफल नभएकाहरू विदेश गएर सफल पनि हुन सक्छन् । कोही विदेश गएर कमाएर नेपालमा केही गर्छु भनेर फर्किन्छन् तर निराश बनेर फेरि बाहिरिने प्रयास गर्छन् । तिनै बाहिरिने प्रयास गर्नेमा पर्छन् अशोक लामा । ओखलढुंगाका यी ३० वर्षे युवाले विदेश बसाईपछि नेपाल फर्केरै गाडी किनेर चलाउने सोचे । तर, सफल भएनन् । नेपालको गाडीलाइनको अवस्था दयनीय भइसकेको रहेछ । अपराधिक गतिविधि बढेको रहेछ । किन यस्तो भयो ? बा ४ ख ७०५३ नम्बरका चालक उनै अशोकसंग सडक पाइलटसंगको अन्तरंगमा साँघु प्रतिनिधिले लिएको अन्तर्वार्ताको यो मुख्य अंश –सम्पादक)
० गाडीलाइनको यात्रा कसरी सुरु भयो ?
–सानो उमेरदेखि नै रहर थियो । ड्राइभरले कसरी गाडी चलाउँदो रहेछ भनेर अगाडि गएरै हेर्ने गर्थें । २० वर्षको भएँ । १० कक्षा पढ्दापढ्दै काठमाडौं आइयो । भिनाजुले मारुती भ्यान चलाउनु हुन्थ्यो । अनि त्यही भ्यान सिकें । त्यसपछि काठमाडौंमै हाते ट्याक्टर चलाएँ दुई वर्ष । गाडीको लाइसेन्स बनाएर निशान चलाउन थालें । डेढ वर्षजति निशान नै चलाएँ ।
० त्यसपछि के गर्नु भयो नि ?
–त्यसपछि विदेश गएँ । साढे दुई वर्ष कतार बसें । एक वर्ष कम्पनीमा र बाँकी डेढ वर्ष अनधिकृत बसें । अनि चेकिङमा समातिएँ । जेलमा खास २७ दिन बस्नुपर्ने थियो । तर, २४ घण्टामा एक पटक खान पाइने त्यसमाथि पनि लास्टमा परियो । त्यही निहुँमा झगडा प¥यो । नेपाली अरु दुई जना पनि थप समय गरी चार महिना जेल प¥यौं । जेलर यमनी थियो । ऊ पनि हामीसंगै प¥यो । ९ दिन त जमिन मुनी अँध्यारोमा कडा सजाय भोगियो ।
० अनि त्यसपछि ?
–त्यसपछि नेपाल आएँ । डेढ वर्ष जति यतै बसें । त्यो समयमा बस चलाएँ । त्यसपछि साउदी अरेबिया गएँ । ६ वर्ष साउदी बसेर ट्रेलर चलाएँ ।
० गाडी चलाउन कहाँ सजिलो ?
–विदेशमै सजिलो । साउदीमा नियम राम्रो छ । यहाँ त नियम नै राम्रो छैन । अपराध गरे अपराधीलाई कडा कार्वाही गर्नुपर्छ । जसले अपराध गर्छ उसलाई किन छोड्ने ? आपसमा प्रतिस्पर्धा गर्छन् । एकले अर्कालाई दुर्घटनामा पार्न खोज्छन् । गाडी कन्डिसनमा पनि हुन्न । ओभर स्पिड हुन्छ । आजकल के के खाएर चलाउँछन् कुन्नि । धेरै नै दुर्घटना पनि भइरहेको छ ।
० साउदीबाट फर्केर के गर्नुभयो ?
–फेरि बस चलाइरहेको छु । पहिले अरनिकोको चलाएँ । अहिले अन्नपूर्णको चलाइरहेको छु ।
० कस्तो लागिरहेको छ ?
–पहिले त रहर लाग्थ्यो अब त बाध्यता भयो । न खानको टुंगो न सुत्नको । कहिलेकाहीं त खल्तीमा पैसा भएर समेत खान पाइँदैन । राम्रो बाटो भएर नियममा चलाउन पाए त ठीकै हो । यहाँ त नियम नै तोड्ने सबैले ।
० ट्राफिक प्रहरीको ब्यवहार कस्तो छ नि ?
–ट्राफिक प्रहरीको त कुरै नगरौं । अति गर्छ । हामीले गल्ती गरेकै हो । तर, हामीलाई यात्रु ओराल्ने÷चढाउने ठाउँ चाहियो त नि । यहाँका ट्राफिक बोल्नै नजान्ने । सीधै ‘राँडीको छोरा’ भन्यो मलाई ६–७ महिना पहिले । पर लुकेर बसेको रहेछ । च्याप्पै समायो । असाध्यै गाली ग¥यो । गौशालामा लगेर राख्यो । मेरो गाडीमा दुई जना सेना पनि चढेका रहेछन् ।
उनीहरूले सपोर्ट गरे । अनि गाडी छाड्यो । विधि सुधार्न हैन जसरी पनि कार्वाही गरौं भन्ने मानसिकता राख्छ ट्राफिक प्रहरी । विदेशमा सन्चोविसन्चो सोधेर मात्र कार्वाही प्रक्रिया थाल्छ । मान्छे नै मारे पनि गल्ती हेर्छ ।
० भोलिको सोच चाहिं के छ नि ?
–विदेशबाट नेपालमा आएर गाडी किनेर चलाउँछु भन्ने सोचेको थिएँ । त्यसकै लागि फर्कें । तर, आफूले गाडी किनेर चलाउन नहुने रै’छ भन्ठानेरै अरुको गाडी चलाइरहेको छु । गाडी धेरै भए । गाडी पनि थपिने भएपछि घाटा खान गाडी किन्ने सोच त्यागें । अब फेरि विदेश नै फर्किने सोचमा पो पुगेको छु ।
० के के समस्या छन् सडक र गाडीका ?
–सम्मान कहिल्यै नपाइने । जसको पनि गालाी खानुपर्ने । पकेटमार या चोर भन्ने थाहा हुन्न । कतिबेला कसले सिध्याउला भन्ने डर । एकपटक पुलिस सिभिलमा रहेछ थाहा पाएर अरु पुलिसलाई खबर ग¥यो । ४–५ जना थिए । अन्तिममा चक्कु देखाएर भागे । तर, ड्राइभर खलासीको सेटिङ रहेछ भनेरै पो कार्वाही गर्न खोज्यो पुलिसले । अरबमा जस्तो चोरका औंला नै काटिदिने हो भने अपराध कम हुने थियो । त्यहाँको नियम कानून त पुलिसले पनि तोड्न पाउँदैन ।
० सरकारले केही गर्छ कि ?
–सरकारले मजदूरका लागि केही गर्ला भन्ने विश्वास छैन । माओवादीले धनी गरिबलाई बराबरी भन्थ्यो । छुवाछुत हुँदैन भन्थ्यो । आश्वासन बाँड्थ्यो । भोट हालियो । त्यो सबै ब्यर्थै गयो ! खै त सर्वहाराका लागि प्रचण्ड र बादलले के गरे त ?



