काठमाडौं । खानेपानी मन्त्रालयका विवादस्पद सचिव रामआधार प्रसाद साह र प्रशासन महाशाखा प्रमुख सहसचिव अर्जुन गौतमको बिचमा कमिशनको काममा मिलेमतो हुँदै आएको चर्चा सुरु भएको छ । मन्त्रालयमा सचिव साह र प्रशासन महाशाखा सहसचिव गौतमबाहेक उपसचिव र सहसचिवसँग राम्रो सम्बन्ध नभएको कर्मचारीहरु बताउछन् । सचिव साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुँदाकै निजी सचिव देवेन्द्र केसीलाई मन्त्रालयमा भित्र्याएर आफ्नो पिए बनाएका छन् ।
यसअघिका सचिवहरुले प्रयोग गर्दै आएको कोठा पनि परिवर्तन गरेर उनले गोप्य भेटघाट कमिशन असुली गर्न सजिलो पारेको आरोप कर्मचारीले लगाएका छन् । प्रशासन महाशाखा प्रमुख गौतमले प्रयोग गर्दै आएको कार्य कक्षलाई अहिले सचिव साहले रंगरोगन, नयाँ कार्पेट, फर्निचर सजावट गरी चिटिक्क पारेका छन् । उक्त कार्यबापत लागेको खर्च रकम भने मन्त्रालय मातहतको अन्यत्रै निकायबाट भुक्तानी गरिएको कर्मचारी स्रोतले जानकारी दिएको छ । सचिव साहले आफ्नो कार्यकक्षभित्र पनि सिसिटिभीको सेट जडान गर्न लगाएको स्रोतले दावी गरेको छ ।
साहलाई आफ्नै कर्मचारीको त्रास
सचिव साहले गोप्य भेटघाट गर्दा सिटिटिभि बन्द गर्ने गरेका छन । अरू बेला खुला गर्ने गर्न मिल्ने गरी सिसिटिभिको स्वीच आफ्नै टेवल मुनि राखेको स्रोत बताउँछ । विगत बद्नाम र खराव कार्यशैली भएकोले उनको प्रायः कर्मचारीहरूसँग विवाद परिरहन्छ । केही हप्ता अगाडि सरुवाको रमाना पत्र बुझ्ने विषयमा उनले दिएको धम्की सहन नसकेपछि एकजना उपसचिवले उनलाई झण्डै कार्यकक्षमा हातै हाल्न पुगेका थिए ।
त्यसपछि उनी डराएर कार्यकक्ष भित्रै सिसिटिभि जडान गरेको हुनसक्ने मन्त्रालय स्रोतले आशंका गरेको छ । नत्र सिंहदरबारभित्रका कुनै पनि मन्त्रालयका मन्त्री र सचिवको कार्यकक्षभित्र सिसिटिभि जडान गरिएको छैन । उनकै कार्यकक्षमा चाहिँ किन सिसिटिभी जडान गर्नुप¥यो भनी कर्मचारीहरूले प्रश्न उठाएका छन् ।
सवारी साधनको चरम दुरुपयोग
सचिव साहले अख्तियारको दुरुपयोग गर्दै मन्त्री महिन्द्रप्रसाद राय यादवको भन्दा बढी सवारीसाधन प्रयोग गर्दै आएका छन् । सरकारी खर्च कटौती गर्ने नीतिलाई उनले पुरै लत्याएको माथि उल्लेखित विषयले पनि पुष्टि गरेको छ । स्रोत साधन, जनशक्ति र इन्धनको चरम दुरुपयोग गर्दै आएको आरोप छ ।
मन्त्रालयबाट उनले एउटा सवारी साधन सुबिधा पाउने भएपनि मेलम्ची खानेपानी विकास समिति र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) बाट पनि सवारीसाधन लिएर अख्तियारको चरम व्यापक दुरूपयोग गर्दै आएको गुनासो कर्मचारीले गरेका छन । मन्त्रालयले दिएको सवारीसाधन उपयोग गरेको भएपनि अन्य भने श्रीमती, छोरा–छोरी र आफन्तले प्रयोग गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।
सहसचिव गौतमसँग
उनको केमेस्ट्री मिल्दोजुल्दो
सचिव साहले कमिशन नदिने सहसचिव, आयोजना प्रमुख, डिभिजन प्रमुख र इन्जिनियरहरूलाई नयाँ आर्थिक वर्षको शुरुवातमा नै सरूवा गर्ने मौखिक निर्देशन दिएर तर्साउदै आएको आरोप छ । उनले पुँजीगत बजेट रकम खर्चका आधारमा पाँच प्रतिशत कमिशन मन्त्रालयमा ल्याएर प्रशासन महाशाखाका सहसचिव अर्जुन गौतमलाई दिन मौखिक निर्देशन दिएको व्यापक चर्चा मन्त्रालयमा चल्दै आएको छ ।
सहसचिव गौतम पनि सचिव साह जस्तै विवादमा पर्दै आएका कर्मचारी हुन् । सहसचिव गौतम मालपोत कार्यालय रसुवाको प्रमुख अधिकृत हुँदा ५२ रोपनी जग्गा हिनामिना काण्ड विवादमा मुछिएका थिए । त्यसपछि रातारात टेकुस्थित आयुर्वेद विभागको प्रशासन शाखामा सरूवा भएका थिए । विभागमा कार्यरत रहँदा उनले कविराज चिकित्सकहरूको सरूवा गरिदिने नाममा व्यक्तिगत फाइदा उठाएको आरोप लागेको थियो । त्यो बेला स्वास्थ्य तथा जनसंख्या सचिव रहेका डा. प्रविण मिश्र र डा. सुधा शर्माले सचेत गराउनु परेको कर्मचारी स्रोतले बताएको छ ।
यही कारण उनको सरुवा वीर अस्पतालमा गरिएको थियो । वीरको प्रशासन शाखामा रहँदा पनि उनको स्वार्थी प्रवृत्ति र शैली भने रोकिएन । अस्पतालको लागि आवश्यक सामान, उपकरण खरिद प्रकरणमासमेत उनको निकै वोलवाला चल्ने गरेको व्यवसायीहरु बताउँछन । टेण्डरमार्फत खरिद गर्नुपर्ने सामानलाई विभाग–विभागको नाममा अलग अलग टुक्र्याएर कोटेसनमा खरिद गर्नेगरी बिस प्रतिशतसम्म कमिशन खाने प्रपन्च मिलाएका थिए । काजमा बसेका कर्मचारीसँग मासिक खर्च असुली गर्ने गरेको स्रोतले बतायो । सचिव साहले पनि नापतौल तथा गुणस्तर विभागको महानिर्देशक हुँदा यस्तै बद्नामी कमाएका थिए ।
वन विभागमा पनि बदनामी
सहसचिव गौतम वन तथा भूसंरक्षण विभागको प्रशासन शाखा प्रमुख हुँदा पनि उनले डिएफओ र रेन्जर सरूवामा राम्रो आफ्नो स्वार्थ हेरेर काम गर्ने गरेका थिए । त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रशासन शाखामा केही समय कार्य गर्दा भने उनले खासै चलखेलको अवसर प्राप्त गर्न नपाएको कर्मचारी स्रोत बताउँछ ।
खाद्यमा कार्यरत रहेकै बखत फाइल बढुवाबाट उनी सहसचिव भएका थिए । स्रोत भन्छ ‘गौतम जहाँ मधेसी मूलका सचिव र महानिर्देशक छन, त्यही निकायमा सरूवा भएर जान रुचाउने स्वभावका कर्मचारी भनेर चिनिएका छन ।’ सबै तौरतरिका हतकण्डा प्रयोग गरेर मन्त्री, सचिव र महानिर्देशकलाई आफ्नो हित अनुकूल परिचालन गर्न उनी सिपालु रहेको चर्चा हुने गर्दछ । गौतमले अहिले खानेपानी मन्त्रालयमा सचिव साहलाई हात लिएर गत आर्थिक वर्षको निर्माण सम्पन्न भएका कामको कमिशनमा चासो राखेको ठेकेदारहरु बताउछन् ।
मन्त्रीलाई बद्नाम गराउँदै
सोझा र केही गरौं भन्ने भावना भएका मन्त्री यादवलाई सचिव साह र सहसचिव गौतमको टिमले बदनाम गर्ने चिन्ता मन्त्रालयमा बढ्दै गएको छ । पूर्वगृह मन्त्री वालकृष्ण खाणलाई सचिवले जस्तै हस्ताक्षर गर्न लगाएर राजनीतिक करियर बिर्गाने हुन कि भनेर मन्त्रालयका उपसचिव र सहसचिवहरू त्रसित भएका छन ।
आफ्नो आदेश मान्ने नदेखेर नै सचिव साहले प्रशासन शाखाका उपसचिव चेतप्रसाद उप्रेतीलाई दुई महिनामा नै संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुस्करलाई भनसुन गरेर जिल्ला समन्वय समिति ओखलढुंगा खेदेका थिए । उनले कासमु भरेर साउनको पहिलो हप्ता रमाना बुझेर सरूवा भएको निकायमा जान्छु भन्दा पनि सचिव साहले त्यो सुविधा दिएनन् । उप्रेतीले जति अनुनयबिनय गर्दा नमानेर ‘म अन्यत्र सरूवा भएको कर्मचारी मन्त्रालयमा राख्दिन’ भन्दै जबर्जस्ती सरूवापत्र बुझ्न लगाएका थिए । त्यसवेला उपसचिव उप्रेतीले र सचिव साहका बिचमा भनाभन मात्र भएको थिएन, हाताहालको स्थिति आएको थियो ।
२२ महिना मात्र सेवा अवधि बाँकी भएका उप्रेतीले खानेपनी विभागमा झण्डै दुई वर्ष बिताएका थिए । मन्त्रालयमा सरुवा भएर आएको दुई महिनामा नै उनको सरुवा ओखलढुंगामा गरेको भन्दै सचिवमाथि जाइलागेका थिए । उपसचिव उप्रेती सचिव साह माथि आक्रमक रुपमा प्रस्तुत भएपछि उनी भने ‘ठुलै अपराध झै’ गरी स्यालेण्डर गर्दै टेवुलमा घुसे मुन्टो पारेर चुपचाप बसेको स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८० साउन १)



