• शनिबार-श्रावण-१२-२०८१

सैनिक अस्पतालमा हुने विभेदपूर्ण उपचारको अन्त्य होस् ? 

चिफसाब ! शान्ति सेनाका अधिकृतबाट थोरै र जवानबाट धेरै रकम कटौती गर्न मिल्छ ?

 

श्रीमान प्रधानसेनापतिज्यू, 
 आज मेरो मनमा उकुसमुकुस भएर रहेका र नेपाली सेनामा सुधार गर्नुपर्ने केही कुराहरु स्मरण गराउन चाहन्छु । गल्ती भए माफ पाउँ ।  म मेरो प्राण भन्दा पनि प्यारो र पवित्र संस्थामा आफ्नो उर्जाशील समयहरु २५ वर्ष पूरा गरी २०६३ सालमा इन्फेन्ट्री बटालियनबाट सुवेदार दर्जामा अवकाश लिई बाँकी जीवन आफ्नै प्राणभन्दा प्यारो ठाउँ ओखलढुंगाको भिरपाखा र माटोसँग दौतरी लाउँदै गाउँमा सामाजिक कार्यमा आफ्नो समय व्यतित गरिरहेको सैनिक हुँ  । आज मैले नेपाली सेनाको स्वास्थ्य र शिक्षामा गरेको लगानी र सहुलियतको बारेमा श्रीमान् समक्ष आफूले देखेको र भोगेको कुरा पनि यसै साँघु साप्ताहिक पत्रिकामार्फत पु¥याउने आँट गरेको छु । 


श्रीमान प्रधानसेनापतिज्यू 
आज भन्दा करिब ३ महिना अगाडि म आफ्नो काम विशेषले काठमाडौं आउँदा मेरो स्वास्थ्य अवस्थामा केही समस्या देखिन गई करिब आधा महिना हाम्रो संस्थाको कल्याणकारीमार्फत संचालनमा रहेको छाउनी सैनिक अस्पतालमा उपचाररत रहँदा यस अस्पतालमा मैले धेरै विभेदहरुको महसुस गरें । के हाम्रो अस्पताललाई भवनको कमी भएर हो वा किन हो ? बिरामीको चाप अत्यन्त धेरै हुनु अनि जवान र विल्लादारहरुका लागि चाहिं विरामी कुरुवा बस्ने ठाउँ पनि नहुनु । तर, अधिकृत वार्डमा भने एउटा बिरामीको लागि सोफा दराज र ३,४ जनासम्म बिरामी कुरुवा बस्न मिल्ने अनेक सुविधाहरु हुनु । तर, जवानको लागि भने कुरुवालाई संस्थाले म्याट्रे पनि उपलब्ध नगराउनु यो कस्तो विभेद हो चिफसाब ? अनि उपचारको लागि अधिकृत वार्डमा र जवानको वार्डमा पनि डाक्टरहरुलाई के फरक फरक निर्देशन हुनु हो र ? उपचारमा त सबै विरामीलाई सम्मानजनकरुपमा सम्पूर्ण उपचारको व्यवस्था हुनुपर्ने होइन र चिफसाब ?  सैनिक अस्पतालमा यो विभेदको चरम रुप होइन ? 


 आज मलाई एउटा चिन्ता यो पनि छ कि आफ्नो पूरा दिन बिताएर अस्पताल आउँदा अस्पतालमा सीमित उपचारको लागि कोटाको बन्दोबस्त हुँदो रहेछ । त्यस बारमा ८,९ बजे बिहान अस्पताल पुग्दा सीमित कोटाको दर्ता पूरा भएमा अर्काे हप्ता यसै बारमा आउनुपर्ने रे यो कस्तो पद्धति हो । के आज विरामी भएको मानिस कोटा प्याक भयो भनेर एक हप्ता कुर्नुपर्ने ? अर्काे कुरा किन डाक्टरहरुको समय १० देखि २ बजेसम्म मात्र हो र ? चिफसाब नत्र अस्पतालमा १० बजेदेखि २ बजेसम्म मेला लाएको जस्तो तछाडमछाड र भिडभाड, एउटा सिपाही बिहानको झिसमितदेखि रातिको १० बजेसम्म आफ्नो कार्यमा रहन्छ र आफ्नो घर परिवार भेट्नेको लागि सीमित १०, १५ दिनको छुट्टी लिई, ६ देखि ८ महिनामा घर जान्छ र पनि संस्थाको र राष्ट्रको सेवामा सन्तुष्ट छ भने तिनै जवानको उपचारमा संस्थाले सीमित कोटा र सीमित समयमा मात्र उपचार गराउँदा अन्याय गरेजस्तो लाग्दैन र ? के दिउँसोको विरामीको चापलाई कम गर्नको लागि आंशिक रुपमा बिहान र बेलुकासम्म १ वटा वार्ड र ओपिडीमा १,२ जना डाक्टरलाई राख्न हामीसँग डाक्टरको कमी भएको भए पनि दिउँसोको केही डाक्टरलाई बिहान र बेलुकाको सिफ्टमा राख्दा कमसेकम दिनको बिरामीको भिडमा अवश्य पनि कमी आउथ्यो कि ? अर्काे कुरा के नेपाली सेनासँग प्रत्येक प्रदेशमा सुविधा सम्पन्न १/१ वटा अस्पताल र काठमाडौंमा भूपू तथा आश्रित परिवारलाई छुट्टै पुरानो अस्पताल महांकालको एक फ्ल्याटमा अस्पताल सञ्चालनमा ल्याउनको लागि के संस्थासँग बजेट नभएर हो वा इच्छाशक्ति नभएर हो ? 

 


   आज संस्थाको कल्याणकारी बजेट करिब आधा खर्ब रहेको भन्ने समाचारमा पनि पढ्न पाइन्छ । अनि देशको लागि कमाण्डको एक आदेशमा आफ्नो ज्यान आहुती दिन पछि नहट्ने जवानको लागि र आफ्नो परिवारको लागि शिक्षा र स्वास्थ्यमा पनि किन संस्थाका नेतृत्वमा रहने चिफसाबलाई आवश्यक सल्लाह र सुधारका कुराहरु पिएसओजमा नउठ्नु विडम्बना हैन ? आफ्नो ज्यानको बाजी लगाएर राष्ट्र र संस्थाले खटाएको ठाउँमा आफ्नो माटोलाई छातिमा राखी विभिन्न देशमा शान्ति स्थापना गरेवापत पाएको रकममा पनि विभेदपूर्ण तरिकाले तल्लो दर्जालाई ४५ प्रतिशत र माथिल्लो अधिकृतलाई २२ प्रतिशत कटौती गरी जम्मा भएको कल्याणकारीको रकमबाट समान सुविधा प्रदान नगरी उल्टो तलको दर्जालाई अन्यायपूर्ण व्यवहार र विभेदपूर्ण सुविधामा आज जवानको मनोबलमा कमी आएको छ । यस प्रसंगमा श्रीमान् समक्ष मैले मर्कामा परेको एकजना हुद्दाको बारेमा लेख्ने अनुमति चाहन्छु । 

 


  अस्पतालमा उपचारको क्रममा बिरामीको कुरुवा अर्थात १ जना हुँदा जो नेपाली सेनाबाट १७ वर्ष पूरा गरी जागिरबाट अवकाश लिई विदेशी मुलुक कतारमा कामको सिलसिलामा आफ्नो दाहिने हात गुमाउन पुग्नु भएको छ । नेपालमा फर्की जन्मथलो सोलुखुम्बु जिल्लाको विकट ठाउँमा आफ्नो पीडादायक जीवन व्यतित गरिरहनु भएको छ । करिब ६ महिना अघि कतारबाट आउँदा उहाँसँग न त परिवारको गाँसको लागि पेन्सन आउन पनि अझै १ वर्ष बाँकी थियो । अरु आयस्रोत पनि के हुनु र पहाडी इलाकामा मकै र कोदो पनि उब्जाउ गर्नुको लागि श्रीमती बाहेक घरमा कोही नभएको आमा बुवा सानै उमेरमा बित्नु भएको र साना साना ३ जना छोराछोरीलाई पढाउनको कुरा त परै जाओस् । विचरा बिहान बेलुकाको छाक टार्न पनि ज्यादै सकस भएको कुरा अस्पताल बसाइँमा उहाँको श्रीमतीको भावविह्ल शब्दबाट म पनि ज्यादै नै भक्कानिएँ ।

 


  चिफसाब एक जना हुँदा जो नेपाली सेनाको निश्चित समय पूरा गरी आफ्नो सन्तानको स्वास्थ्य र शिक्षाको लागि अर्थात् खुसीको लागि विदेशबाट आफ्नो दाहिने हात गुमाएर आज विहान बेलुकाको गाँस, स्वास्थ्य र शिक्षाको लागि तड्पिरहेको छ । यी पूर्व सैनिकको तीन जना छोराछोरीमा दुईवटाले मात्र उपचार गर्न पाउने रे । फेरि जेठोले उपचार पुस्तिका बनाइसकेपछि कान्छोले उपचार पुस्तिका बनाउन नपाउने रे ? यो कस्तो अन्याय हो ? 

 


चिफसाब फेरि निज हुद्दाको आमा र बुवाको बिरामी पुस्तिका नबनाउँदा आमा र बुबाको मृत्यु भइसकेको रहेछ, त्यसैले संस्थाले सम्भव भएमा सबै छोराछोरीको उपचार गर्ने नभएमा निज हुद्दाको आमा अथवा बुवाको सट्टामा तेस्रो अर्थात चौथो सन्तानले उपचार गर्नको लागि उपचार पुस्तिका बनाउनको लागि विभागीय जिम्मेवारीमा रहनु भएका जर्साबहरुले यस विषयमा अध्ययन गरी सही सल्लाह र सुझाव चिफसाब समक्ष पु¥याउनको लागि अनुरोध गर्दछु । 

 


चिफसाब आज कम्तीमा पनि सैनिकका सन्ततिलाई नेपाली सेनाले आवश्यक ठाउँमा आवश्यक विद्यालयको निर्माण गरी कम्तीमा पनि २ जना छोराछोरीलाई १२ कक्षासम्म अनिवार्य सैनिकको आफ्नै विद्यालयमा पढ्ने व्यवस्था गर्न के सम्भव नभएर हो वा यसमा सोच नभएर हो ? आज जवानले आफ्ना छोराछोरीर्ला पढाउन नसक्ने र आफ्नो आयस्रोत ज्यादै न्यून भएर भूपू होस् वा कार्यरत जवान जागिरभन्दा पनि विदेशतर्फ दिन प्रतिदिन पलायन भइरहेका छन् ।

 

कमसेकम सैनिकका छोराछोरीलाई शिक्षा र स्वास्थ्यमा सेनाको नेतृत्वले आवश्यक विद्यालय र अस्पतालको विस्तार गरी सेनाको विद्यालय भन्दा बाहिर सैनिकका छोराछोरी पढ्न जान नपर्ने व्यवस्था भएमा पक्कै पनि आज हजारौं जवानहरु विदेश पलायन हुनबाट कमी आई आफ्नै देशको माटोमा समर्पित हुने थिए कि भन्ने आशाको साथ यो अनुरोध पत्र लेखेको छु । पीडित सैनिकहरुको भलोको लागि नेपाली सेनाले अवस्य सोच्ने अपेक्षा गरेको छु ।  –अवकास प्राप्त सुवेदार, नेपाली सेना 

प्रतिकृया दिनुहोस