• शनिबार-भदौ-२८-२०८२

जिप्रकामा आगजनी गर्ने क्रममा आफैँ जलेर घाइते भएका तामाङको मृ त्यु

 

कास्की, २८ भदौ : पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । यही भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए । 

 

सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल पोखरा-१६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार आगो लगाउने क्रममा आफैँ जलेर घाइते भएका तामाङलाई उनकै साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । पोखरामा जेनजी प्रदर्शनका क्रममा हालसम्म तीन जनाले ज्यान गुमाएका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । यसअघि दुई महिलाको प्रदर्शनकारीले आगजनी गर्दा जलेर मृत्यु भएको थियो ।

 

पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटोसोरुम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक/एक जना महिला जलेर निधन भएको अवस्थामा शव फेला परेको थियो । निज दुवै जना कामदार थिए ।

 

जिल्ला प्रहरी कार्यालयले भने सुरक्षाकर्मीको बल प्रयोगबाट अहिलेसम्म कसैको पनि ज्यान नगएको जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, बगर तथा विभिन्न प्रहरी पोष्टहरूमा आगजनी गरेका छन् ।

 

प्रहरी नायब उपरीक्षक बस्नेतले क्षति पुगेका प्रहरी चौकी तथा पोष्टहरूको सरसफाइ गरी सेवा सुरु गर्न लागिएको जानकारी दिनुभयो । 
---

 

प्रतिकृया दिनुहोस