पर्वत, २८ भदौ : जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १४ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।
देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले आज एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार कुश्मा नगरपालिकाबाट १२, विहादी गाउँपालिकाका एक र चितवनका एक जनालाई पक्राउ गरिएको हो । नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन, २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो । यीमध्ये केही युवा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा समेत पक्राउ परेका छन् ।
पर्वत जिल्ला कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट फरार भएका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्नसमेत अनुरोध गरेको छ । प्रहरीले यसरी फरार रहेका व्यक्तिहरू कहीँकतै देखेको अवस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्नसमेत अनुरोध गरेको छ ।
---
प्रतिकृया दिनुहोस