• बुधबार-बैशाख-१२-२०८१

सामान्यको बेतिथिः बन्द कोठामा उठ्तीपुठ्तीको हिसाब, पचहत्तर भन्दा बढी पालिका निमित्तको भरमा  

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा नै प्रमुख कार्यकारी अधिकृत पठाउन नसक्दा ७५ भन्दा बढी स्थानीय निकाय प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । मन्त्रालयको अकर्मन्यताका कारण कतिपय महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका निमित्तको भरमा संचालन भइरहेका छन् । स्थानीय तह निर्देशिका अनुसार महानगरपालिका र उपमहानगर पालिकामा सहसचिवस्तरको दरवन्दी रहेको छ भने नगरपालिकाहरूमा उपसचिवस्तरको कर्मचारी रहने व्यवस्था गरिएको छ ।

 
तर, मन्त्रालयको नेतृत्वले आफ्नो स्वार्थपूर्तिका लागि केही स्थानीय तहमा आफ्नो फेवरका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएकोले अनेको अनियमितताका घटनाहरू बाहिर आएका छन् । निर्देशिकामा तोकिएको भन्दा मन्त्रालयको नेतृत्वले तल्लो तहका कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएर पठाउँदा निजामती सेवा प्रशासनमा अनेकौ बेतिथि देखिएका छन् । कयौं स्थानीय तहको नेतृत्व शिक्षा, स्वास्थ्य र प्राबिधिक अधिकृत दशौं तहका कर्मचारीहरू गर्दै आएका छन्् । ती कर्मचारीको खटनपटन शाखा अधिकृतले गर्दा स्थानीय तहका कर्मचारी असन्तुष्ट हुन पुगेको समान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ । 


उपसचिवको भरमा उपमहानगर
मन्त्रालयले समयमा कर्मचारीको खटनपटन गर्न नसक्दा केही उप महानगरपालिका प्रमुख कार्यकारी अधिकृतविहीन हुन पुगेका छन् । यसरी प्रप्रअविहीन रहेको उपमहानगर पालिकाहरूमा धनुषाको जनकपुर पनि परेको छ । सो उपमहानगर पालिकामा २०७९ भदौ ६ गते देखि उपसचिव रत्नेश शशीले कार्यकारीको जिम्मेवारी पाएका छन् ।


त्यसैगरी, बाराको कलैया उपमहानगर पालिकामा पनि उपसचिवको भरमा संचालन भइरहेको छ । नाथु साहले ०७८ असोज १३ देखि कार्यकारी जिम्मेवारी पाएर हाँकिरहेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगर पालिकामा पनि उपसचिवकौ संचालन हुँदै आएको छ । उपसचिव शिवप्रसाद रिजालले ०७९ भदौ २० देखि कार्यकारी अधिकृतको रुपमा काम गरिरहेका छन् । रुपन्देहीको बुटवल उपमहानगर पालिका पनि उपसचिव कै भरमा चलेको छ । सो उपमहानगरमा टेकराज पन्थी ०७९ साउन ११ गते देखि कार्यकारीको भुमिकामा रहेका छन् ।


उप सचिवको दरवन्दीमा 
शाखा अधिकृतहरूको रजाईं

कोशी प्रदेश अन्तर्गतको धनकुटाको महालक्ष्मी नगरपालिकामा उपसचिवस्तरको कर्मचारीको दरवन्दी रहेपनि शाखा अधिकृत नीलकण्ठ विश्वकर्माले सो जिम्मेवारी पाएका छन् । २०७९ भाद्र १ देखि उनले प्रमुख प्रशासकीय अधिकृतसरहको जिम्मेवारी पाएको बताइन्छ । तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा पनि प्रमुख प्रशासकी अधिकृतको जिम्मा शाखा अधिकृत गिरीराज भट्टराईले पाएका छन् । ०७८ मंसिर ७ देखि उनलाई सो जिम्मेवारी आइलागेको हो । लालिगुराँस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लेखा अधिकृत सविना श्रेष्ठले पाएकी छिन् । उनले सो जिम्मेवारी ०७८ पुस ११ देखि पाएकी थिइन् ।


यस्तै, संखुवासभाको धर्मदेवी नगरपालिकामा पनि शाखा अधिकृत जयनारायण खनालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गर्दै आएका छन् । ०७८ जेठ ४ देखि उनले उक्त जिम्मेवारी पाएको बताइएको छ । संखुवासभा कै खाँदवारी नगरपालिका पनि शाखा अधिकृत युवराज आचार्यले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । ०७९ जेठ १३ देखि उनले यो कार्यभार सम्हालेका हुन ।


त्यस्तै, भोजपुरको षडानन्द र भोजपुर दुवै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव छैनन् । षडानन्दमा शाखा अधिकृत विनोद भण्डारीले ०७९ भदौ १ बाट कार्यकारी अधिकारसहितको जिम्मेवारी लिएर काम गरिरहेका छन् । भोजपुर नगरपालिकामा भने अधिकृतस्तर दशौँ तहका शिक्षा सेवाका कर्मचारी रामप्रसाद ढुंगेल ०७९ भदौको २३ गतेदेखि जिम्मेवारी लिएर काम गरिरहेका छन् ।


ओखलढुंगाको सिद्धिचरण नगरपालिकाम शाखा अधिकृत बलराम लम्सालले ०७९ भदौ ७ देखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी संहालिरहेका छन् । उदयपुरको चौदण्डी नगरपालिकामा एकदिन पनि प्रमुख कार्यकारी अधिकृत पदमा बसेको देखिदैन । शाखा अधिकृत चित्रप्रसाद गुरागाईंले ०७९ भाद्र ५ देखि जिम्मेवारी बहन गर्दै आएका छन् । गुरागाईं मन्त्रालयले खटाएको खोटाङ, झापा दुवै स्थानीय तहमा नगएर उदयपुर गएको बताइन्छ । 


मधेश प्रदेशका भाग्यमानी शाखा अधिकृत
सप्तरी जिल्लाको राजविराज नगरपालिका अधिकृत छैटौँ तहका शिक्षाका कर्मचारीबाट संचालन भइरहेको छ । उक्त नगरपालिकामा भोगेन्द्र प्रसाद यादवले ०७८ साल चैतदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको बताइएको छ । कञ्चनरुप नगरपालिकामा पनि शाखा अधिकृत रेणुका साहले जिम्मेवारी सम्हाल्दै आएकी छिन् । उनले ०७८ कार्तिक देखि सो जिम्मेवारी पाएको बताइन्छ ।


त्यस्तै, सप्तरीकै शम्भुनाथ नगरपालिका पनि शाखा अधिकृत राजकुमार दासकै भरमा संचालन भइरहेको छ । उनले ०७९ भदौ देखि सो जिम्मेवारी पाएको सामान्य मन्त्रालयस्रोतले जानकारी दिएको छ । हनुमान नगर कंकालिनी पनि शाखा अधिकृत हरिमोहन सुतिहार कै भरमा ०७९ भदौ २० गते संचालन हुँदै आएको छ ।


यता, सिरहाको गोलबजार नगरपालिका पनि शिक्षा तर्फका अधिकृत दशौं तहका अनन्त कुमार पौड्यालको भरमा संचालन हुँदै आएको छ । मिर्चैया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत सुजित कुमार यादवले पाएका छन् ।

 
उनले ०७९ असोज देखि नगरपालिका हाँकिरहेका छन् । कल्याणपुर नगरपालिका पनि शाखा अधिकृत विष्णु रञ्जन बरालले ०७९ साउनदेखि नेतृत्व गरिरहेका छन् । सुखीपुर नगरपालिकामा स्वास्थ्यका अधिकृत सातौँ तहका चन्द्रेश्वर प्रसाद यादवले नेतृत्व गरेका छन् । कर्जन्हा नगरपालिकामा पनि शिक्षा तर्फका अधिकृत सातौँ तहका बुद्धिमान दनुवारले हाँकेका छन् । 


सर्लाहीको लालवन्दी नगरपालिकामा शिक्षा तर्फका अधिकृत नवौँ तहका बासुदेव तिमिल्सिना प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । हरिपुर नगरपालिकामा पनि शाखा अधिकृत दिवाकर भुजेल प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । बरहथवा नगरपालिकामा शिक्षा तर्फका उपसचिव राम विनय कुमार सिंहले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।


सर्लाहीकै वागमति नगरपालिका शाखा अधिकृत बिमल कुमार पोखरेलको नेतृत्वमा संचालन हुँदै आएको छ । मलंगवा नगरपालिका शिक्षा समूहका दशौँ तहका होमनाथ सुवेदी अधिकृतको भरमा संचालन भइरहेको छ । बलरा नगरपालिका पनि शाखा अधिकृत उमेश महतो भरमा संचालन हुँदै आएको छ । गोडैता नगरपालिका भने इन्जिनियरिङ सेवा समूहका रमेश प्रसाद यादवको जिम्मेवारीमा संचालन भइरहेको छ । 


महोत्तरीको मटिहानी नगरपालिका पनि शाखा अधिकृतको भरमा संचालन हुँदै आएको छ । नगरपालिकाम शाखा अधिकृत चन्द्रशेखर शर्मा प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । वलवा नगरपालिमा अधिकृत प्रमोद कुमार ठाकुर प्रमुख प्रशासकीय अधिकेत रहेका छन् । 


मधेश प्रदेशका अधिकांश 
स्थानीय तह अधिकृतको भरमा

धनुषाको शहीदनगरमा सावान कुमार चौधरी, सवैलामा कृष्ण पौडेल र मिथिला विहारी नगरपालिमा पनि अधिकृतस्तरको कर्मचारीबाट संचालनमा रहेका छन् । मिथिलामा शिक्षातर्फका अधिकृत नवौँ तहका रामदरश यादव रहेका छन् । हंसपुर नगरपालिकामा सुबोध कुमार ठाकुर र नगराइनमा स्वास्थ्यका अधिकृत सातौँ तहका राम गुलाम लाल कर्ण प्रमुख प्रशासकी अधिकृत रहेका छन् ।


बाराको महागढीमाइ नगरपालिकामा जनस्वास्थ्य तर्फका सातौँ तहका अधिकृत विजय कुमार कुशवाह र पचरौता नगरपालिकामा अधिकृतस्तरका महेश कुमार मिश्रले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर हाँकिरहेका छन् । रौतहटको माधव नारायणमा अधिकृत मनिष झा, फतुवा विजयपुरमा शम्भु प्रसाद यादव प्रमुख प्रशासकीय अधिकृतको भुमिकामा रहेका छन् । राजपुरमा अधिकृत छैटौँ बैजु ठाकुर, देवाही गोनाहीमा सिकिन्द्र प्रसाद साह र राजदेवी नगरपालिकामा पनि अधिकृत प्रलव कायस्थलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ  । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका भुदेव झाले इशनाथ नगरपालिकाको अतिरिक्त समेत जिम्मेवारी पाएका छन् ।


बागमती प्रदेशका पालिकामा 
पनि शाखा अधिकृतको भर

बागमती प्रदेश अन्तर्गत काभ्रेको मण्डन देउपुरमा शिक्षातर्फका उपसचिव लोक बहादुर लोप्चनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । काठमाडौंको नागार्जुन नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेकोे छ । मकवानपुरको थाहा नगरपालिकामा अधिकृतस्तरका अजित घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । 


गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको चापाकोटमा अधिकृत धु्रव खनालले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । लुम्बिनी प्रदेशको भुमिकास्थानमा शिक्षा तर्फका अधिकृत नारायण प्रसाद पोखरेलले नगरपालिको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । दाङको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पद रिक्त भएपनि त्यहाँ कसैलाई जिम्मेवारी तोकिएको छैन् । बर्दियाको मधुवन नगरपालिकामा धर्मराज न्यौपानेलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ ।


कर्णाली प्रदेश : कृषि, शिक्षा र 
स्वास्थ्यकालाई जिम्मेवारी

कालिकोट जिल्लाको रास्कोट नगरपालिका संचालनको जिम्मा कृषितर्फका अधिकृत सातौँ जवान सिंह बमलाई दिइएको छ । तिलागुफाको प्रशासन संचालनको जिम्मा लाल बहादुर मल्लले पाएका छन् । जाजरकोट जिल्लाको छेडागाँडको प्रशासन संचालनको जिम्मा पाउनेमा अधिकृत छैटौँका गंग बहादुर रोकाय रहेका छन् ।


दैलेखको दुल्लुमा शिक्षातर्फका अधिकृत दशैँ  ज्ञानमणि नेपाल छन् । नारायणमा भक्तबहादुर मल्ललाई कार्यालय संचालनको जिम्मेवारी दिइएको छ । रुकुम पश्चिमका मुसिकोट, चौरजहारी आठबिसकोट पनि शाखा अधिकृतको भरमा संचालन भइरहेका छन् । मुसिकोटमा अहिलेसम्म कसैलाई जिम्मेवारी नतोकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी चौरजहारीमा शिक्षा तर्फका आठौँ तहका अधिकृत शेरप्रसाद ढकाललाई जिम्मेवारी दिइएको छ ।


आठबिसकोटमा जनस्वास्थ्य निरिक्षक मणिराज साहको भरमा ०७८ भदौदेखि नगरपालिकाको काम कारवाही भइरहेको छ । सल्यानमा शारदा, बागचौर र वनगाडा कुपिन्डेमा पनि उपसचिव छैनन् । शारदामा शिक्षा तर्फका अधिकृत दशौँ तहका लिलाधर बबालले ०७८ साउन देखि निमित्तको जिम्मेवारी लिएर संचालन गरिरहेका छन् । बागचौरमा शाखा अधिकृत अनन्त कुमार गौतम रहेका छन् । वनगाडा कुपिन्डेमा जगतबहादुर घर्तीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ ।


बाजुराको बुढीनन्दामा अधिकृत छैठौँ तहका रामदत्त न्यौपाने विगत १ वर्षदेखि निमित्त भएर काम चलाइरहेका छन् । त्रिवेणीमा स्वास्थ्य तर्फका अधिकृत छैठौँ तहका चिरञ्जीवी प्रसाद साह ०७७ सालदेखि निमित्त भएर कमाण्ड संहालिरहेका छन् । मंगलसेनमा अधिकृत छैठौँ तहका खकेन्द्र बहादुर सोडारीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । कमल बजारमा खड्क बहादुर विष्टलाई जिम्मेवारी तोकिएको छ । 


अछामको पञ्चदेवलमा शिक्षातर्फका अधिकृत शिवप्रसाद रेग्मी र डोटीको दिपायल सिलगडीमा जिल्ला समन्वयन समितिका खेमराज गुरुङलाई थप जिम्मेवारी दिएर नगरपालिका संंचालन भइरहेको छ । दार्चुलाको महाकालीमा नर बहादुर ठगुन्नालाई थप जिम्मेवारी दिइएको छ । दशरथमा अधिकृत सातौँका विक्रम बहादुर चन्द निमित्त प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बसेका छन् ।


डडेल्धुराको अमरगढीमा लक्ष्मी प्रसाद उपाध्यायले निमित्तको जिम्मेवारी पाएको ८ महिना पुरा भएको छ । कञ्चनपुरको बेलौरीमा नर बहादुर विश्वकर्माले काम गरिरहेका छन् । शुक्लाफाँटामा शिक्षा समूहका आठौँ तहका अधिकृत टिकेन्द्र राज भट्ट ०७८ मंसिरदेखि निमित्तको जिम्मेवारीमा छन् । महाकालीमा शिक्षा तर्फका अधिकृत दशौँ तहका गणेश मिश्रले कार्यकारी प्रमुखको कुर्सीमा बस्नु परेको छ । (साँघु साप्ताहिक, २०७९ चैत १३)

प्रतिकृया दिनुहोस