• बिहीबार-बैशाख-२०-२०८१

युगकवि र उनको युग चेत 

 

शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव
दीक्षा यैँ हो परहित गरुँ आखिरी श्वाससम्म
ज्वाला दन्कोस् दनदन कहीँ मृत्यु आइ फुकेको
अत्याचारी यदि छ त कहीँ माथ नैं ताक्छु त्यस्को 

 

एउटा सिंगो युग बोकेको रचना जन्माउनु देशभक्त सन्तान जन्माउनु जस्तै कठिन छ । रचनाको चिर स्थायित्व प्रभाव छोड्नका लागि साधना, तप, चिन्तन र आत्मज्ञान हुन आवश्यक छ । अझ प्राकृतिक चोट र पारिवारिक विव्हलताले रचनामा कसी लगाउने काम गर्छ । युगकवि सिद्धिचरण श्रेष्ठ साहित्यलाई कसरी उच्च कोटीको बनाउने भन्नेमा तल्लिन रहेर सिर्जनागर्ने साहित्यकार हुन् । आफूले भोगेको राणाकालीन युगमा जनचेतना र बिद्रोहको अवस्था कस्तो थियो भन्ने देखाउन रचना गरिएको ‘खुकुरी’ शीर्षको यो कविताले सो समयको प्रतिनिधित्व गर्दछ ।  


जेठ ९ गते श्रेष्ठको ११२ औँ जन्मजयन्ती थियो । सामान्य औपचारिकता भन्दा भिन्न तरिकाले कार्यक्रम हुन सकेनन् । अग्रजको उच्च सम्मानको परम्परा बिस्तारै ओझेलमा पर्दैछ । बितेर गएको समयको स्मरणले के हुन्छ र भन्ने भान मौलाउँदै जानु भनेको हामीले फेदी हुँदै शिखरको चुचुरोसम्मको यात्रा पूरा गरेका हौँ भन्ने बिर्सिनु पनि हो । अहिलेको सन्दर्भमा पुराना स्रष्टाको संझना र उनीहरूका बारेमा लेखिने लेखन तुलनात्मक रूपमा कम हुँदै गएको छ । 


कविताबाट आफ्नो उचाइ कायम गरेका श्रेष्ठका मेरो प्रतिबिम्ब (२०२१), कोपिला (२०२१), कुहिरो र घाम (२०४५), सिद्धिचरणका प्रतिनिधि कविता (२०४५), तिरमिर तारा (२०४६) र बाँचिरहेको आवाज (२०४६) कविता कृति प्रकाशित रहेका छन् । कवितामा स्वच्छन्दवाद र क्रान्तिचेतनाको विगुलले पाठकको मनमा तरंग पैदा गर्दछ । यो कविताको शक्ति मात्र होइन एउटा युगका लागि आवश्यक पर्ने औजार पनि हो । त्यसै सूर्य विक्रम ज्ञवालीले नेपाली साहित्याकाशका नयाँ तारा कसरी भन्थें होलान् । ज्ञवालीले हत्तपत्त कसैलाई यो लेखक हो भनेर स्वीकार गर्दैनन् भन्नेहरूलाई ज्ञवालीले श्रेष्ठको बारेमा शारदामा लेखिएको समालोचनामा दिइएको यो उपाधिले धेरैलाई हैरान पारेको थियो । 


लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण समले लखिरहेको परिष्कारवादी लेखन प्रणालीमा स्वच्छन्दवादको सुरुवात गर्न सजिलो थिएन् । कसैले ओगटी रहेको आसनमा उसलाई हटाएर त्यहाँ थपक्क बस्न कहाँ सजिलो छ र ? उनले नयाँ अठोट लिए । उनको अभियान सफल भयो । गोपालप्रसाद रिमाल, केदारमान व्यथित, ईश्वर बल्लभ, बैरागी काइँला, मोहन कोइरालाले उनले देखाएको बाटोमा निर्वाध रूपमा विचरण गरे । यो साहस र साधनाको एउटा प्रयास थियो । त्यसै युगकविको उपाधि कसरी प्राप्त हुन्छ र ?


स्वच्छन्दतावाद र क्रान्तिकारी कविता लेखनमा श्रेष्ठलाई देवकोटाभन्दा अग्रस्थानमा राखिएको छ । श्रेष्ठले क्रान्तिलाई बिम्बमा लुकाएर अटाएका कारण त्यो सनक देवकोटामा पनि सरेको हो भनेर समालोचकले भनेका थिए । यसले उनको लेखनको सामथ्र्यलाई आँकलन गर्न सजिलो बनाएको छ ।  


विषयवस्तु र गाम्भीर्यताका हिसाबले उनका रचनामा दोष देखाउन सकिदैन । तर, भाषिक शुद्धतामा भने लगामबिना दौडिएको भनेर ज्ञवालीले नै आलोचना पनि गरेका छन । यसरी हेर्दा उनले शब्द चयन र भावलाई महत्वमा राखेको देखिन्छ । उच्चारण अवयवका हिसाबले त्यसको मर्मलाई छोडेको हो भन्नेमा शंका छैन ।


हरेक कविता उत्तिकै शक्तिशाली छन् तर खुकुरी, आमा, मेरो प्यारो ओखलढुंगा शीर्षकका कविताले नेपाली पाठकको मन जितेका छन । खुकुरी र आमा बीर रसमा संरचना भएर पनि होला कविता पढ्दा शरीरमा काँडा उम्रिन्छ । अहिले नै अन्यायको बिरुद्धमा विगुल फुक्न मन लाग्छ । शान्त रसमा रचना गरिएको मेरो प्यारो ओखलढुंगाले प्रकृतिको वर्णन गरेको छ । यो कविता जति पढ्यो उति भाव गहिरो भएर आउँछ । गद्यमा मात्र होइन पद्यमा पनि उनमा राम्रो ज्ञान थियो भन्ने बुझ्नका लागि ‘वसन्त’ शीर्षकको वंशस्त छन्दमा लेखिएको रचना पढ्दा थाहा हुन्छ । 


राणाकालीन समयमा राणा विरोधी गतिविधि गरेको आरोपमा श्रेष्ठले १८ वर्ष लामो जेल जीवन बिताउनु परेको थियो । जुद्ध शमशेरको महर्षी बन्ने अभिलाषाले २००२ साल जेल जीवनबाट मुक्ति मिल्यो । मेरो प्रतिबिम्ब कृति जेल जीवनका अनुभूतिलाई संगालेर रचना गरिएको कृति भएको कवि स्वयम्ले स्वीकार गरेको विषय हो ।


राणाहरू यतिसम्म क्रुर थिए कि श्रेष्ठका बाबुको मृत्यु हुँदा दाहसंस्कार र काजकिरिया गर्नसमेत उनलाई दिइएन् । उनले जेलमुक्त भएपछि भनेका थिए ‘मेरो बाबुको मृत्यु भएको हो कि कतै गएका हुन् ?’ मैले उनको पत्तो पाउन सकिन । यो भनाइले आफूले नदेखेको कुनै पनि कुरा सत्य हुन्छ भन्ने छैन भन्ने संकेत गरेको छ । हिन्दु परम्परामा आफ्नो बाबुको सद्गत र काजक्रिया गर्नु छोराको कतब्र्य हो भनिएपनि राणाहरूले श्रेष्ठलाई  रोकेका थिए । यहाँ भन्दा ठुलो अन्याय रैतीप्रति के हुन सक्छ ?

 

संकट पर्छ मान्छेलाई, ढुंगालाई के पर्छ
असिना आई फूलवारीकै फूलहरू पहिले झार्छ ।  

 

हामीले श्रेष्ठले देखाएको युगबोध र चेतनाको संचारलाई निरन्तरता दिन पनि हामीले उनको स्मरण गर्न जरुरी छ । नेपाली साहित्यको श्रीबृद्धिका लागि आफ्नो ऊर्जावान समय खर्च गर्ने युगकविप्रति हार्दिक श्रद्धासुमन ।

प्रतिकृया दिनुहोस