• बिहीबार-बैशाख-२०-२०८१

राल्फा आन्दोलनको पर्यायमा पारिजात 

 

रहरै रहरले तानेर दार्जिलिङबाट नेपाल ल्यायो । १७ वर्षको उमेरमा दार्जिलिङको सुविधासम्पन्न शहर छोडेर भर्खरै निर्माणको तयारीमा जुटेको नेपालमा उनको मन किन बस्यो भन्न सकिन्न । धेरै अन्तर्वार्तामा भनेको उनको अभिव्यक्तिलाई मान्ने हो भने नेपालको सौन्दर्य हेर्नका लागि आफू नेपाल आएको बताएको पाइन्छ ।


नेपालले के दियो भन्दापनि उनले नेपाललाई धेरै दिएकी छिन् । नेपाली कर्मभूमिमा लेखिएको शिरीषको फूल कृतिले वि.सं.२०२२ सालमा मदन पुरस्कार पायो । यस कृतिको अंग्रेजी अनुवाद ‘ब्लु मेमोसा’ अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश भएको छ । यो नेपाली साहित्यका लागि एउटा ऊर्जा र उत्प्रेरणाको विषय हो । 


प्रजातन्त्रको उदयमा पनि राजाबाट जनताले राम्रो सेवा÷सुविधा पाउन सकेनन् भन्ने विद्रोही भावका कारण राजालाई फालौँ (राल्फा) आन्दोलनको सुरुवात भयो । रेडियो नेपालभित्रैबाट वि.सं.२०२१–०२३ सालमा राल्फाको सुरुवात भएको थियो । सरकारी संस्था रेडियोबाट नै सरकारको विरोध गर्ने र साहित्यिक कार्यक्रमको उत्पादन गर्ने वामपन्थी समूह त्यहाँ थियो । जसका कारण राल्फाले आफ्नो परिचय र पूर्णता पायो ।


  रेडियो नेपालले गायन र वाचनको रोयल्टी नदिएको निहुँमा सुरु भएको यो आन्दोलन पछि सांस्कृतिक आन्दोलनमा परिणत भयो । बाहनाजे भएपनि यो आन्दोलनको अभीष्ट इच्छा भनेको पञ्चायती व्यवस्था हटाउनु थियो । रामेश र रायन रेडियो नेपालका कर्मचारी थिए । उनीहरूले विरोधका लागि कविता, गीत र उपन्यासको प्रयोग गरे । रामेश, रायन, मञ्जुल र पारिजात यो अभियानका मुख्य सर्जक थिए । रेडियोले कीर्ते गरेको पारिश्रमिक विवाद चर्किएको अवस्थामा फर्केर फेरि रेडियो नेपाल गएनन् । फलत : आन्दोलनले अर्को रूप लियो । 


यो समूहको नेतृत्व रामेशले लिए । एरिम, मञ्जुल, पारिजात, गणेश रसिक र रायनले उनलाई साथ दिए । यो समूह रामेश र मञ्जुलको मन मिलुञ्जेलसम्म राल्फा आन्दोलनको नामले चर्चित भयो । रामेश र मञ्जुलको भाग नमिलेर पानी बाराबार भएपछि यो समूह सेलाएर गयो । पारिजातको पनि वि.सं.२०५० सालमा देहावसान भयो । 


पारिजात यो समूहकी नायिका थिइन् । गोविन्द बहादुर मल्लको नाटक ‘युगको सिकार’मा उनले नायिकाको भूमिका निर्वाह गरेकी थिइन् । उनको कलात्मक प्रस्तुतिको बारेमा धेरैले प्रशंसा गरेका छन् । ईश्वर बरालले एक प्रसङ्गमा भनेका छन् ‘बैंशमा पारिजातको शारीरिक सौन्दर्य, रूप र बोलीको प्रभावले युवाहरू मोहित हुन्थे ।’ उनको लेखनमा पनि त्यो रूप सौन्दर्य र प्रेम पोखिएको छ ।


  २६ वर्षको उमेरमा शरीरमा आएको लुलोपनाले उनलाई हिँड्डुलमा समस्या पार्दै लग्यो । धेरै हिँड्डुल गर्न नसकेपनि यसले लेखन र अध्ययनको मौका मिल्यो । दर्शनशास्त्र र साहित्यमा चाख बढेका कारण नै उनले शिरीषको फूल जस्तो अमर कृतिको सिर्जना गरिन् । 


शिरीषको फूलको नाम के राख्ने भनेर दुविधा बढेर प्रेमा शाहको सहयोग लिइन् । आफैले भने यो उपन्यासको नाम ‘ढिला विष’ राख्न खोजेकी थिइन् तर प्रेमाले शिरीषको फूल नाम जुराइ दिइन् । त्यही नामले पारिजातलाई चिनायो । शिरीषको फूललाई आफ्ना राजनीतिक गुरु गोविन्द भट्टले ‘कागजको फूल’को संज्ञा दिएपछि रिसाएकी उनले शिरीषको फूल च्यातिदिन पाठकलाई भनेकी थिइन् । यो विषयले थप चर्चा पायो ।


अन्तरमुखी, अटेरी, जिद्दी र एकलकाँटे स्वभाव भएकी उनलाई धेरैले रुचाउँदैन थिए । चित्तरन्जन नेपालीले पारिजातमा अद्भूत लेखन क्षमता छ भन्ने जानेर साहित्य लेख्न अभिप्रेरित गरेको पारिजात स्वयम्ले बताएकी छिन् । पारिजातको लेखनले आफ्नो स्वभाव, प्रेम र रुचीको बारेमा धेरै बोलेको छ । त्यो बरी होस् वा सकम्वरी । बैंशले मातिएको मान्छे होस् वा सुयोगवीर । नत्र यौनको चर्चा, रक्सीको मादकता र चुरोटको धुवाँको प्रभाव लेखनमा कसरी हुन्थ्यो र ? फूल सजाउने सौन्दर्यको पाटो फेरि बेग्लै छ । त्यो छोडिनु भनेको पारिजातको एउटा अंश छोडिनु बराबर हो ।


यौनको बारेमा उनी आफैले खुलेर लेखेको एउटा विषयको सँधै चर्चा हुन्छ । ‘मैले यौनलाई बुझे र लेख्ने सामथ्र्य जाग्यो । मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझै मसँग छ ।’ यो भनाइ उनले धनुवीर मुखियालाई भनेको चर्चा पाइन्छ । उनको यो भनाइले प्रेम र यौनको सामिप्यता नजिक छ भन्ने देखाउँछ । 


पारिजातको शंकर लामिछानेसँगको प्रेम चर्चा छ, यो विषय के हो भन्ने बारेमा बासुदेव लुईंटेलले पारिजातले प्रेम अरुलाई नै गर्थिन् । शंकर त पारिजातको भान्छे हुन् भनेर तल्लोस्तरको देखाएका छन् । धेरैले पारिजातको शिरीषको फूल शंकरले लेखेका हुन् भन्ने शंका यो भनाइले निवारण गर्छ । यसको अर्थ शंकरको भन्दा पारिजातको लेखाइ अब्बल छ भन्ने अर्थ लाग्छ । त्यसो त शंकरको लेखनलाई पनि कम आँक्न सकिदैन । यी दुवै नेपाली साहित्यका बलिया राजमार्ग हुन् ।


प्रेम, प्रकृति र जीवनलाई बुझेकी लेखिकामा कसरी विद्रोहको ज्वारभाटा आयो भन्ने विषय मनमा आउन सक्छ । यसको सजह उत्तर छ–उनले पहिलो दुईलाई छोडिन् र अन्तिमको एकलाई अंगालिन । जीवन बाँच्नका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको विचार र स्वतन्त्रता हो । खाना नखाइ २८ दिन, पानी नपिएर ४ दिन, हावा नखाएर केही मिनेट मान्छे बाँच्न सक्छ । तर, विचारबिना एक पल पनि बाँच्न सक्दैन भनिन्छ । उनले अंगिकार गरेको विषय पनि यही हो ।


जति अभाव भएपनि उनले कसैसँग हात फैलाएर बाँच्न चाहिनन् । चन्दा र आर्थिक सहयोग लिइनन् । बरु मदन पुरस्कारमा पाएको चाँदीको फ्रेम बेचिन । यो स्वाभिमानको एउटा अनुपम नमूना थियो । चैत ३ मा उनको स्मृति दिवस थियो । साहित्यिक संस्था र प्रज्ञा प्रतिष्ठानले समेत उनको संझनामा कुनै कार्यक्रमको आयोजना गरेको खबर सुन्न पाइएन । प्रगतिशील साहित्यकारको रूपमा आफ्नो छवि निर्माण गरेकी उनले स्वछन्दतावाद र छायावादलाई अंगिकार गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस