• बिहीबार-बैशाख-२०-२०८१

‘भूत–प्रेत’का कथालाई अछेताको डर

 

नेपाली कथाको मुख्य स्रोत भनेको लोककथाहरू हुन् । नेपाली लोककथाको लेखन परम्परा नहँुदासम्म दन्त्य कथाको रूपमा रहे । लेखनको सुरुवातपछि कथाकारहरूले धार्मिक र पौराणिक विषयलाई रोचक तरिकाले प्रस्तुत गरे । यसको मुख्य ध्येय भनेको दन्त्य कथा सुनिरहेका स्रोतालाई पाठकमा रूपान्तर गर्नु रहेको थियो भनेर कथाकार तथा समालोचक मोहन राज शर्माले आफ्ना लेखहरूमा उल्लेख गरेको पाइन्छ । 


विश्वका हरेक कुनामा भूतप्रेतको कथा लेखिन्छ । हिन्दू समाजले भूतप्रेत हुन्छ भनि मानेको विषयलाई पश्चिमा मुलुकमा ‘सैतान’ भन्ने गरिन्छ । नेपाल र भारतमा विशेष गरेर धामी झाँक्रीको चलन छ । मानिस विरामी पर्दा उसलाई भूतप्रेत, मसान वा नजर लागेको भनेर अक्षेता मन्छाउने चलन नयाँ होइन । भूतप्रेतलाई विषय बनाएर रोचक कथा लेखनमा लागेका स्रस्टा हुन टंकबहादुर आले मगर ।


भारतका धेरै भूभागमा बसेर कर्म यात्रा डो¥याउँदै आएका उनी कथा र चित्रकलामा विशेष दखल राख्छन् । कथामा पौराणिक विषय र लोककथाका किस्सा जोडेर लेखिएका कथाहरूको सङ्ग्रह ‘अक्षता’मा मझौला खालका १५ कथा समावेश गरेका छन् ।


कथामा लोक र आधुनिक दुवै विषयको समिश्रण गरेर लेखिएको हुनाले रोचकता बढेको छ । कथामा आएका प्रसंगले कल्पनाशक्ति र सिर्जनशीलताको चमत्कार देखाएका छन् । श्रुति परम्पराको लोककथा लोप हुन लागेको अवस्थालाई पुनः ताजगी बनाउन आलेले प्रयास गरेका छन् । धामी झाँक्री, भूतप्रेत र जनावरको माध्यमबाट विषयवस्तु प्रस्तुत गरेर पशु वाक्यको चैतन्य कस्तो थियो भनेर उजागर गरिएको छ । यसले कथाको बुनोट सुन्दर मात्र होइन। चखिलो हुन पुगेको छ ।


चराचर मात्र नभएर ढुंगाले मान्छे खाएको प्रसंगले चैतन्य र कल्पनाको वर्णन गरिएको छ । लोककथामा वर्णन गरिएको विषय अवास्तविक र कल्पनाको दौड भएपनि असत्य हो भनेर भन्न सकिदैन । यो लोककथाको एउटा सशक्त र सवल पक्ष हो । कुन विषयलाई कसरी प्रभावकारी बनाउने भन्ने बौद्धिकचेतले कथाको विषयभन्दा पात्रको बोल्ने कलाले लठ्ठ पारेको छ । 


कथाका पात्र मानवीय मात्र नभएर मानवेतर पनि छन् । ती सबै कुनै न कुनै रूपमा प्रेत आत्माको प्रभावमा छन् । उनीहरू बोल्दा साविक मानिसले जस्तै प्रस्तुत भएपनि उनीहरू वास्तवमा प्रेतमा रूपान्तरित भएका छन् । माछो, कुकुर, बिरालो, लाटोकोसेरा, हाँस, वाज जस्ता जीवजन्तुको प्रयोगले कथाको सार्थकता र विस्वास बढाएको छ ।


मानिसका पापकर्मले कुप्रो बन्ने, र कुनै पनि रोगको फल भनेको पाप कर्म हो भनेर नराम्रो काम गर्न नहुने सन्देश दिएइको छ । पाप कर्मले मानिसलाई कुजो बनाउँछ भनेर खराब आचरणबाट टाढा रहन भनिएको छ । यसले समाजको मनोविज्ञान र जनविश्वास कस्तो थियो भनेर देखाउँछ । 


पात्रहरूले परिवेश अनुसार कथाको वाचनलाई रोचक तरिकाले प्रस्तुत गरेका छन् । कसैलाई तर्साएर त कसैलाई फकाएर काम गराउनमा पात्रहरू सफल भएका छन् । यसरी प्रस्तुत भएका कथाले दन्त्य कथामा सुनिरहेको लयलाई दृष्यमा बदल्ने काम गरेका छन । श्रव्य परम्परालाई पाठ्यमा रूपान्तर  गर्न लयले अहंम भूमिका खेलेको छ । 


समाजका संस्कार र समुदायका भाषिक विषयले कथाको महत्व र हाम्रो सामाजिक लवज कस्तो छ भन्ने देखाएका छन् । कथाको मध्यविन्दु र अन्त्यविन्दुलाई भन्दा परम्परागत कथन शैलीमा नै धेरै कथा बहेका छन् । कथाको कथ्य विषयभन्दा प्रस्तुती वेजोड रहेको हुनाले कथामा अमिल्दो प्रसंग आएको देखिदैन । भाषाको दखलताभन्दा लवजलाई प्राथमिकतामा राखेर लेखिएको हुनाले यो कथा मेरो हो भन्ने आत्मबोध सबैलाई हुन्छ । यो कथाको ठुलो शक्तिशाली र प्रभावकारी पाटो हो । 


पौराणिक विषयमा पनि नवीन शैली र शिल्पको प्रयोगले खारिएको लेखन हो भन्ने देखाउँछ । जो पनि आफ्नो बारेमा राम्रो भनेको सुन्न लालायित हुन्छ, यो मानवीय स्वभाव हो । तर, यहाँ कथामा यही राम्रो सुन्ने लोलुपताका कारण धेरै पात्रले आफ्नो गुह्य विषयको उजागर गरेका छन् । यो एउटा आश्चर्यको खोज मात्र होइन मानवीय स्वभावको पर्याय पनि हो । 


गाउँको परिवेशलाई विशेष प्राथमिकता दिएका कारण कथाको भुगोल बलियो देखिएको छ । यसले कथाको विश्वानियता बलियो बनाउँछ भने आफ्ना अग्रजको सम्मान गर्छ । तेजनारायण शेर्पाले यो कृतिको बारेमा पुरानो शैलीलाई नयाँ शैलीमा रूपान्तर  गर्नु भनेको सुनबाट गहनाको निर्माण गर्नुजस्तै हो भनेका छन् । यो विषयले पात्र र कथा दुवैलाई न्याय भएको छ भन्न सकिने आधार प्रस्तुत गरिएकोे प्रष्ट पार्छ । 


मगर समुदायका मिथकले मगरको धर्म, संस्कृति र परम्परा कस्तो थियो भन्ने विषय जान्नका लागि नयाँ पुस्तालाई सहयोगी भएको छ । अन्य अध्येतालाई पनि यो विषयको थप गहिराइ र मानक नाप्नका लागि बाटो खोलिदिएको छ । मानवले पशुमाथि कसरी नियन्त्रण गर्छन् र गरिरहेका छन् भन्ने पक्षको उजागर गरेर हामीले कतै पशुमाथि अन्याय त गरिरहेका छैनौँ भनेर सोच्न बाध्य पारिएको छ । चकमकको विषय उठाएर आगोको स्रोत र उसले हाम्रो इच्छा र आवश्यकतालाई कसरी परिपूर्ति गर्छ भन्ने देखाएको छ । 


कथाले समय बोल्छ । परिवेशको रंग देखाउँछ । हरेक कथाको इशारा सत्मार्ग हो । तर, खराब पात्र बोकेकाहरूले दिएको दुःखलाई थाप्लोमा बोक्दाबोक्दा गह्रौँ भएपछि चौतारो खोजेर बिसाउनु त छँदैछ फेरिपनि । टंकले यही एउटा परम्परालाई बिसाउने काम गरेका छन् । अब यो कपासको बियाजस्तै फैलिनेछ, यत्रतत्र । 


स्थानीय लवजलाई पैल्याउनु पर्ने बाध्यताका कारण केही कथामा भाषिक सन्दर्भ अनौठो लाग्छ । वाक्यको संगठन मिल्दैन । यो अमिल्दो विषय हो । यो पक्षलाई बिर्सने हो भने नेपाली कथा परम्परामा नयाँ रुपका कथाको उदय भएको छ भन्न सकिन्छ । ओझेलमा परेको नीति, लोक र दन्त्य कथालाई नयाँ रूपमा प्रस्तुत गरेर पाठकलाई नेपाली श्रुति परम्परामा कथाको वर्णन कसरी हुन्थ्यो भनेर पुनः ताजगी गराएकोमा कथाकारलाई धन्यवाद । 
 

प्रतिकृया दिनुहोस