• शनिबार-भदौ-२२-२०८१

छन्दले त्यागेको लय

 

नेपाली छन्द परम्पराको इतिहास लामो छ । ओइलाउँदै गएको छन्दलाई प्राण भर्नका लागि प्रा.डा रामप्रसाद ज्ञवाली र डा. देवी नेपालले छन्द तरंग अभियान चलाए । जसले छन्द सिक्न र लेख्न चाहनेहरुका लागि बाटो सहज बनाइदियो । पुराना ग्रन्थहरु छन्दमा लेखिएका हुँदा तिनको रस हरेक मानस जिब्रोमा सजिलै बस्छ । छन्दको लोकप्रियता यसैको परिणाम पनि हो । 


भोजपुर भन्ने वित्तिकै हाम्रो मानसपटलमा दैवज्ञराज न्यौपानेको नाम छन्दको सुवासमा जोडिन्छ । त्यसै भूमिमा जन्मिएका ज्ञानराज सुवेदीले सूर्योदय नामक महाकाव्यलाई प्रकाशनमा ल्याएका छन् । ३८ वर्ष मास्टरी गरेका उनले यो कृतिमा बिभिन्न छन्दमा कविता लेखेका छन् । 


हामी कतिले लयात्मक रचनालाई छन्द भन्ने ठान्दछौँ । तर छन्दको मान्यता अनुसार लय मिठासका लागि मात्र हो । यसमा गण व्यवस्था सर्वमान्य हुन्छ । उनका कवितामा बिद्रोह र थकित राजनीति अवस्था देखाएको छ । अभाव र हाम्रो ग्रामिण परिवेशको बयान छ । आशाको संचार छ ।


कविता भनेको वौद्धिक विचारको प्रवाह हो । यसमा झड्का हुन्छ । जुन शब्द उच्चारण गर्दा नै शरीरमा शान्त बसेका रौँका प्वालबाट विद्युत् निस्कन्छन । आरामले सुतरे बसेका रौँहरु एकाएक ठाडो हुन्छन् । हामीले कविताको शक्ति यसैमा खोज्छौँ । यो पाठकले लेखकबाट गरेको आशा पनि हो । यहाँ पाठकलाई निराश पार्ने छुट कविलाई हुँदैन ।


  सुवेदीका कवितामा कविको भाव छरिएको छ, तर कविताको भाव लुप्त छ । शब्दको बुनोटले जसरी कवितालाई नदी झैं बग्नमा मद्दत गर्नुपर्ने हो, धेरै स्थानमा ढाँडको बारीमा हलो अड्किएको भान पार्छ । कतै अमिल्दा शब्दले पौढता भन्दा बढी सिकारुको आभास दिन्छ । जसका कारण छन्द बुझेको पाठकका लागि आश्चर्यमा पार्छ । एउटा शिक्षण पेशा गरेर ३८ वर्ष विद्यार्थीलाई पाठ घोकाएको व्यक्तिले यसरी छन्दको प्रयोग गर्नु भनेको छन्दलाई न्याय नगरेको हो भन्ने ठर्हछ । 


यो किन भनिएको हो भने मंगलाचरणमा नै कविता यसरी लेखिएको छ भने भित्र के होला भन्ने छन्द साधनामा लागेकाहरुको मनमा नलाग्ने कुरै हुँदैन ।

 

देशै दुर्गतिमा पुग्यो अब भनी चिन्ता र चासो लिने
सोच्दैछन् जनता सपुतहरु क्यै दुइचारमा मानिने
चित्तौन्का रवि एक, हर्कत हुने बालेन काठमाण्डूका
साङ्पाङ् हर्क तथा बरिष्ठ तहका ज्ञानेन्द्र शाही यता ।। (पृष्ठ १२)

 

यसरी एक स्थानमा हर्कत भनेर हर्क भनेको हो वा कसलाई भनेको भन्न सकिन्न । किनभने हर्क त भन्नु पर्ने थियो होला । 


सोचौं आज सबै भएर एक नै गाम्भीर्य कुरो छ यो
संवेदन् शील कसोरी हुन गो ? यो देशको हो कुरो
भन्नै पर्दछ शासकै किन भए ? हो दोष यिनकै छ है
को हो त्यो जनता बेचेर धनी भैं खादै र निल्दै छ है । (पृष्ठ १३)

 

यहाँ पहिलो लाइनमा दुई वटा छन्द भंग छन् । दोस्रोमा झन् धेरै गल्ती रहेका छन् । तेस्रो लाइनमा पनि छन्द भंग नै चौथोमा पनि उसै गरिएको छ । यसको अर्थ के हो भने कविलाई छन्दको ज्ञान कम भएको हो वा उनले छन्द केही पनि होइन भन्ने ठानेका हुन् भन्न सकिन्न । 


यसरी कविता लेख्दा जो छन्द साधकहरु छन् उनीहरुको मनमा आफ्नो साधनामा ठोस पर्छ कि पर्दैन भनेर म स्वयम् कविलाई नै प्रश्न सोध्न चाहन्छु । यदि आफुलाई कुनै विषयमा दुविधा भए अरुबाट सिकेर शुद्ध हुने उपाय खोज्न आजको प्रविधिको युगमा सहजता हुने थियो । हतारो हो भनौँ भने १९ औँं कृति लेखिसकेका कविलाई २० औँ कृति प्रकाशनका लागि हतार किन ?
अर्को उदाहरणको रूपमा हेरौँं ।


खोक्रो जीवन बोकी हिड्नु परदा के सार जिउनु यहाँ
खोक्रै मादल बच्छ शासकजीको के गीत गाउनु यहाँ
ढाक्रे भैकन बित्छ जीवन भने के नाच्नु यस्ठाउँमा
मान्छे भै पशुतुल्य जीवन रहे के गर्छ ? सर्कार यहाँ (पृष्ठ ३३)

 

घुम्दै आइपुगेको यो कृतिलाई मैले पठन बाह्य संग्रहमा राखेको थिए । यसको समीक्षा लेख्दा मैले आफुलाई अन्याय गर्न सकिन । म एक सचेत पाठक हुँ । मैले देखेको दृष्यलाई मात्र उतार्न खोजेको हुँ । लेखकीय असुविधाका लागि म क्षमा चाहन्छु ।


कविता पढेर प्राप्त गरिने आनन्द र ज्ञान हो । यहाँ ज्ञान र आनन्द दुवै प्राप्त गर्नका लागि मलाई कष्ट भएको छ । आगामी दिनमा कविले यो विषयमा सचेत हुन अनुरोध गर्न सक्छु, बाँकी त लेखकीय भूमिका मात्र हो । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस