• बिहीबार-बैशाख-२०-२०८१

अब उप्रान्तले निर्धारण गरेको मानक

 

कथाले मनको अन्तर चेतनासँगै कल्पनाको दौड गराउँछ, यात्रामा सिधा बाटो परसम्म देखिए जस्तै । सिधा बाटोमा गति बढाउँदा दुर्घटनाको जोखिम कम हुन्छ । घुमाउरो बाटोमा अगाडिको दृष्य देख्नका लागि धिमा गतिमा चल्नुपर्छ । यात्रा गर्दा हुस्सु, कुहिरो र वर्षाको समय अझ सचेत बन्नुपर्छ । कहाँ के कसरी चल्नुपर्छ भन्ने शिल्पलाई आत्मसात गरेर कथा लेख्ने कथाकार हुन नवराज रिजाल । 


हरेक विद्यार्थी एउटा पुस्तक बराबर हो शिक्षकका लागि । उसका गुण, अवगुण, अक्षर र चित्र भएर बस्छन् मनको कुनामा । कुनै चहकिला छन, त कुनै धुमिल पनि । तर, जहाँ, जसरी र जे भएपनि ती सबै समाजका प्रतिबिम्ब हुन्, रिजालले यो विषयलाई अंगिकार गरेका छन् । सामाजिक कथा लेखनका लागि यो एउटा महत्वपूर्ण पक्ष पनि हो ।


हाम्रा सामाजिक समस्या उस्तै छन् । राणाकालमा जस्ता थिए । बहुदलले पनि एउटा संविधान भन्दा बढी केही दिएन । अहिले लोकतन्त्रमा पनि राजनीतिक परिवर्तनले त्यसलाई निकास दिन सकेको छैन् । समाजको मनोदशा र सपना उस्तै छन् । आशा भन्दा खुइँयाको लामो श्वास निरन्तर चलिरहेको छ । तर, जीवन संचालनका लागि विश्वास, आस्था र अठोट राख्नुपर्छ भनेर अभिपे्ररित गर्ने उनको लेखनको ध्येयले जीवन जिउने आशा जगाउँछ । बिस्तारै अँध्यारोले छोपिदै गएको सन्ध्यालाई बिहानी सूर्योदयले झलमल बनाउँछ, पर्खनुपर्छ भन्ने संकेतले नैराश्यतालाई लुप्त पार्छ ।


क्रान्ति र द्वन्द्वमा आम कार्यकर्ता र नागरिकले के पाए ? हामीले सहभागिता जनाएको आन्दोलनको अर्थ र औचित्य के थियो ? हामीले लिएको विचारले किन निरन्तरता पाउन सकेन ? जनताका लागि भनिएका क्रान्तिमा किन जनता नै चेपुवामा परे ? अनगन्ती प्रश्नले लुगामा बिझेको गहुँको टुडोले झैं निरन्तर घोचिरहन्छ । तर, मुलायम कुर्सीमा विराजमान भएको आन्दोलनको नायक गान्धी बनिसकेको छ । ऊ नराम्रो सुन्न, हेर्न र बोल्न चाहँदैन । मूर्तिवत भएको छ ।


कथाले आदर्शको पाठ घोकाउन खोज्दैनन् । आँखामा आएका फूल, धुलो, हरियाली, उजाड सबैलाई समान रूपमा हेरेका छन् । यन्त्रवत रूपमा हेर्छन् देखिएका दृष्यहरू । मनमा डोरीको सहायताले घुर्रो घुमाउँछ र मिठो धुनको सिर्जना गर्छ, शान्तपनका लागि । यी कतै सजिला त कतै अप्ठ्यारा छन् । हाम्रा बानी जस्तै । एउटै रुखमा विष र बिखमा हुन्छ भन्ने कुरालाई पछ्याए झैं । 


कथामा विगत, वर्तमान र भविष्यको संकेत गरिएको छ । यहाँ केही नजान्ने भनिएकाहरूले प्रशस्त ज्ञान प्रस्तुत गरेका छन् । विद्वान भनिएकाको चरित्र उदाङ्ग छ । सधैं सपना बेचेर रमाउन खोज्नेहरूलाई हायलकायल पारिएको छ । अब परिणाम नदिने भारी बोक्न सकिदैन भनेर परिवर्तित व्यवस्थाप्रति झटारो हानिएको छ । यसले एउटा विद्रोह मात्र होइन अव सचेत युगको सुरुवात हुन्छ भन्ने संकेत प्रस्तुत गरेको छ ।


मधेश आफैंमा पोलिएको छ । हामीले सम्म देखेको यो जमिन अन्नको भण्डार भएपनि यहाँ खाली पेटको कथाले हाम्रो युगिन चेत र राजनीतिक संस्कारको चित्र प्रष्ट देखाउँछ । गिर्दो साख र पुर्खाको विरासत जोगाउनबाट मधेश कमजोर बन्दै गएको छ । माटो बग्न र बेचिनबाट रोक्नका लागि तारबार मात्र हैन पहरा दिन हतार भइसकेको छ ।


साठी र सत्तरीको दशकमा लेखिएका मझौला खालका १७ कथाले फरक परिवेश र विषयको चर्चा गर्छन् । राजनीति किन गरिएको खरानी घस्न हो र ? शिक्षक किन भएको, पढाउन मात्र हो र ? यहाँ पेशा एउटा भाँडो मात्र हो । यसमा के के हाल्नु पर्छ । कसरी हाल्नु पर्छ । भाँडोमा हालेको वस्तुको भण्डारण कसरी गरिन्छ । ब्याख्या विश्लेषण गरिएको छ । हामीले पेशालाई पेशाको रूपमा भन्दा पनि त्यसबाट कसरी अतिरिक्त लाभ आर्जन गर्न सकिन्छ भनेर खोजी गरिरहेको तथ्यलाई उजागर गरिएको छ ।  


विवाह, मृत्यु र जन्मको सार के हो ? धारामा चिप्लिएर कसरी मृत्यु हुन्छ ? मानवीय संवेदनाको चक्रमा घुमिरहन के गर्नुपर्छ । भोग्ने जीवन र आडम्बरी जीवनको बोध कसरी गर्ने ? हामी बोल्न जान्नेहरू रवाफिलो तरिकाले बोलिरहेका छौँ । बोल्न नसक्नेहरू हाम्रो कुरा सुनिरहेका छन् । हामीले थापेको जालोमा नजानिदो तरिकाले तानिएर बेरिदैछन् सोझा सिधा जनताहरू । तव न बजाइरहेछन् थपडी, हामीले के के न गरे जस्तो गरेर । तर, यो आडम्बरको बर्कोले कतिदिन थेग्छ चिसिदै गएको अभाव र अक्रोसको रूप । कुनैपनि समय फ्यात्त भुइँमा झर्न सक्छ कुहेको मेवा जस्तै ।


छोटा बाक्य र सजिला शब्दले गाँठो पर्दैन पढ्नका लागि । विद्यार्थीको उत्तर पुस्तिका हेरेर उत्तर जाँच्दा जाँच्दै भएन भनेर लोप्रिएका ओठले क्रसको चिन्ह हानेको याद आएर होला, सरल भावमा परिवेशको वर्णन गरिएको छ । पात्रहरू उच्च, निम्न र मध्य गराएर प्रस्तुत गरिएको छ । जातीयताको हिसाबले पदको विभाजन गरिएको छ । यसले पुरातन शैली र सोच कायम छ भन्ने देखाउँछ । उच्च कुलको लागि उच्च पद र निम्न कुलका लागि निम्न पद सिर्जना गरिएका कारण यो प्रस्ट हुन्छ । 


बोल्न नसक्ने पात्रले शारीरिक र मानसिक दुवै प्रकारका यातना भोगेका छन् । उनीहरू निर्वस्त्र हुँदा पनि आफ्नो पक्षमा बोल्नका लागि साहरा पाएका छैनन् । लोकतन्त्रमा उत्पीडनको अवस्था कस्तो छ भनेर यो कथाले संकेत गरेको छ । यस्ता घटना कहिले पो भएका थिएनन् र सदीयौँदेखि यस्तै छ भनेर व्यवस्था बदलिएपनि प्रवृत्ति र विचार नबदलिएको देखाएर लोकतन्त्रको सचित्र प्रष्ट पारिएको छ ।


कथामा संवाद र वर्णन दुवै गराउन खोजिएको छ । कतै संवाद भन्दा बढी वर्णनमा समय खर्च गरिएको छ । वर्णनले विषयलाई प्रस्ट त पारेको छ । तर, आफ्नो विचार राखेर सफाइ लिनुपर्नेमा त्यहाँ वकिल खडा गरेर उसले भन्न खोजेको विषयलाई लुकाएर छल गरिएको छ । यो पाठकका लागि अन्याय हो भन्ने लाग्छ ।
 

प्रतिकृया दिनुहोस