• बिहीबार-बैशाख-२०-२०८१

चालिसको दशकमै गजल लेख्ने स्रष्टा खै ?

 

चालिसको दसकमा नेपाली गजल लेखन अहिले जस्तो मौलाइसकेको थिएन् । गजललाई नेपालका मूर्धन्य मानिएका साहित्यकारले नै यो साहित्य नै नभएको जिकिरसमेत गरे । उर्दू, फारसी विधा नेपाली साहित्यमा किन आवश्यक प¥यो भनेर धेरै साहित्यकार र समालोचकले प्रत्यक्ष र परोक्ष रूपमा गजलप्रति विषवमन गरे ।


यसरी हेलाको भावले हेरिएको गजलको रस बुझेका मनु ब्राजाकी, ललिजन रावल, ज्ञानुवाकर पौडेल, बूँद राना, धर्मोगत शर्मा ‘तुफान’, रवि प्राञ्जल र डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजलमा आफ्नो लेखनलाई त्रीव बनाए । 


गजलमा एकरूपमा ल्याउनका लागि ललिजन रावलले ०४६/४७ सालतिर गजल विधाको एउटा ग्रन्थ बनाउने विचार अघिसारे । जसको फलस्वरुप ०४७ मा (समकालीन नेपाली गजल) प्रकाशित भयो । यो ग्रन्थलाई मूर्तरूप दिन गजलकारको खोजी गर्दा त्यति सजिलो नभएको उनले बताएका थिए । आफूले भेटेका गजलकार मध्ये रवि प्राञ्जललाई अत्यन्तै गम्भीर गजलकारको रूपमा पाएकोसमेत उनले चर्चा गरेका छन् ।

 

प्राञ्जलले ‘ढले छ कि वैंश आज, कालोकालो रातभित्र जून नखोज, आउँछु भन्ने परदेशी फर्कि आएन, जूनसँग तिमीलाई माग्न पनि सकिएन, छातीभरि नीलकाँडा, हिँड्दा हिँड्दै जिन्दगी नै, जूनलाई आफ्नो कथा सुनाएर रात काटे, चलायो मनको दहमा कसैले, बित्यो आधी जीवन रहरै रहरमा, सपना फुलेन जिन्दगीमा, नखुलेको आकास खुलेर आयो, किन खानु झुटो कसम फेरि तोड्ने भए, पुगेथेँ म टाढा उनी संझी आए’लगायत  गजल रेकर्ड गराए ।

रावलको गजल सङ्ग्रह पहिला प्रकाशित भएपनि उनले गजल जान्ने र बुझेर गजलकार मनु ब्राजाकी रहेको उल्लेख गरे । ब्राजाकीले पनि रावलले गजलमा गरेको कालविभाजनसँग सहमत भएको बताएका थिए । यो विषय ब्राजाकीले आफ्नो कृति गजलगंगाको भूमिकामा उल्लेख गरेका छन् । 



रावलले नेपालमा गजल रेकर्डको सुरुवातसमेत गरे । ‘बाटो हेरिहेरि कति दशैं गयो तिहार गयो’ ०४५ सालमा रेकर्ड भयो । यो नै नेपाली रेकर्ड भएको पहिलो गजल थियो । त्यो वेला गजल भनेको के हो भन्ने नै कसैले नबुझेको रावलको दावी छ । ०४७ मा उनले ‘एउटा परदेशी आइसोध्यो’ बोलको अर्को गजलको रेकर्ड गराए । रावलका डेढ दर्जनभन्दा बढी गजल रेकर्ड भएका छन् । रावलले आफूनै सिद्धान्तत पहिलो गजलकार भएको पनि दावी गरेका छन् । तर, उनी पूर्व मोतीराम भट्टले नेपाली गजल लेखनको परम्परा बसाएको चर्चा छँदैछ । लेखन परम्परा र विचार बाझिएपनि सिद्धान्त र यसको औचित्य बारेमा रावलले दिएको योगदान नेपाली गजलका लागि कम छैन ।



 पाञ्जलले पनि आफू गजलमा लागेर आफ्नो कवित्व र गीतकार लगभग ओझेलमा परेको स्वीकार गरेका छन् । प्राञ्जलले ‘ढले छ कि वैंश आज, कालोकालो रातभित्र जून नखोज, आउँछु भन्ने परदेशी फर्कि आएन, जूनसँग तिमीलाई माग्न पनि सकिएन, छातीभरि नीलकाँडा, हिँड्दा हिँड्दै जिन्दगी नै, जूनलाई आफ्नो कथा सुनाएर रात काटे, चलायो मनको दहमा कसैले, बित्यो आधी जीवन रहरै रहरमा, सपना फुलेन जिन्दगीमा, नखुलेको आकास खुलेर आयो, किन खानु झुटो कसम फेरि तोड्ने भए, पुगेथेँ म टाढा उनी संझी आए’लगायत  गजल रेकर्ड गराए । एक दर्जनभन्दा बढी गजल कम्पोज भएर पनि रेकर्ड हुन सकेनन् । उनी आफै संगीतसमेत गर्ने सर्जक भएर पनि होला उनको लेखन बगेको छ । पौडेलले गजलको रागमा लागेर मुक्तक लेखन कमजोर भएको बताएका थिए । राना र न्यौपाने अहिले फाट्टफुट्ट गजल लेखिरहेपनि रावल र प्राञ्जलको गजल लेखन शुन्य बराबर छ । 


पुनजागरण कालमा गजल केही होइन भन्ने विषयलाई पछि स्वनामधन्य विद्वानले पनि निरुत्साहित तुल्याउन सकेनन् । गजल सिद्धान्तको मान्यताले यस विधाको अर्थ र औचित्य स्पस्ट पारेपछि नयाँ लेखनमा लाग्नेहरूका लागि आधार तय भयो । जसका कारण आज नेपाली गजल स्थापित मात्र होइन चर्चाको शिखरमा रहेको छ । 


अहिलेका मै हुँ भन्ने गजलकार र सिद्धान्तकार बनेका शरद वस्ती पनि त्यो वेला गजल केही होइन भन्ने लाइनमा थिए । अहिले उनै वस्तीले गजल सिद्धान्त घोकाइरहेको रावल बताउँछन् । यो महत्व बुझेर भएको हुनाले सन्तोष गर्ने ठाउँ रहेको गजलकारले बताएका छन् ।


देवी नेपालले गजल खासै नलेखेपनि उनले पनि आफ्नो ‘छन्द पराग’ कृतिमा गजलको ब्याख्या र लक्षण सहितको विश्लेषण गरेका छन् । यी आधारहरूलाई हेर्दा नेपाली गजल लेखनलाई बढवा दिनका लागि धेरैले योगदान दिएका छन् भन्न सकिन्छ । 


प्रा.डा कृष्णहरि बरालको ‘गीत गजल सिद्धान्त’ लेख्नुका साथै चर्चित गजलको सिर्जना गरे । उनका चर्चित गजलहरूमा ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाऊ कुन ठाऊँ जाऊ मान्छे नमर्ने सहर हुँदैन’ बोलको गजलले चर्चा कमायो । ‘यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छ्यौ, साँच्चै नबुझ्ने हौँ कि नबुझे जस्तै बन्छ्यौ’ले पनि आशा जगायो । त्यसपछि गजल केही हो भन्ने भयो । युवापुस्तामा विपिन किरण, रुपक वनबासीले चर्चा पाए । विपिन किरणको ‘नबिर्से तिमीलाई नपाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई’ चर्चित बन्यो । रुपकको ‘प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनै बेला, दिंदै कतिलाई हातहातमा हिँडियो कुनै बेला’ले चर्चाको शिखर चुमे । 


रावल, प्राञ्जलको जस्तै विपिन र रुपकको पनि अहिले गजल लेखन सक्रियता कम छ । एक पटक चर्चा पाएर परिचय बनाए पनि यिनीहरू अहिले खासै लेखनमा सक्रिय हुन छोडेका छन् । अहिले रावत, सुमन स्मारिका र प्रदीप रोदनका गजलले वाहीवाही पाएपनि अन्य नयाँ लेखकले खासै चर्चा कमाउन सकेका छैनन् । 


पुराना पुस्ताले कम लेख्ने र नयाँलाई कम रुचाइने भएका कारण फेरि गजल लेखन ओझेलमा पर्न थालेको छ । मोतीराम पछि रावलहरूको पुस्तालाई पर्खनु परेजस्तै गजलले फेरि अर्को पुस्ता कुर्नु त पर्दैन ?
 

प्रतिकृया दिनुहोस