रौतहट ३० बैशाख । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल माथि कुटपिट गरेको घटनामा संलग्न सहयोगी पक्राउ परेका छन् । तर मेयर किशोरी साह कलवार र एकजना वडा सदस्य अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले काठमाडौँ सिंहदरवार परिसरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ । सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौँ आएका थिए । प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।
कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकिय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए । घटनामा संलग्न वडा सदस्य गुप्ता फरार भएका छन् ।
बाराका एसपी सन्तोष तामाङले मेयर माथि उजुरी परेको तर अहिलेसम्म मुद्दाको प्रक्रियामा अगाडि नबढेको तथा घटना बारे अनुसन्धान जारी रहेको बताएका छन् । उक्त घटनाले स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीमाथि गर्ने दबाब ,दमन, अत्याचार गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बन्ने गरेको प्रत्यक्ष रूपमा उदाहरण बनेको छ ।
कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेका थिए । घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् । नगरपालिकाद्वारा प्रदान गरिने दैनिक काम लिएरजाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।
यस बर्ष लागेको बिश्व प्रसिद्ध पंचवर्षीय गढीमाई मेलामा अतिथि सेवा लगायत नगरको सरसफाइ शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो । तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दवाब दिँदै आएका थिए ।
त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले बताएका छन् ।
गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोह को अगुवा महिला ममता शर्मा पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए । मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दवाव दिएका थिए ।
मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याईएको छ अरु कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले जवाफ दिए पछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताएका छन् ।
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसायनै नरहेको आरोप लगाएकी छिन् । मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारीलाई आफ्नो घरायसी नोकरको जस्तो व्यबहार गर्ने गरेको बताइन् ।
नगर कार्यपालिका बोर्डमा रहेका २१ जना मध्ये २० जना आफूसँग भएपनि मेयर कलवार एक्लै आफ्नो निजी सम्पतिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन् ।
प्रतिकृया दिनुहोस