• मंगलबार-बैशाख-३०-२०८२

आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा

 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरुले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।

 

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरे । 

 

" आन्दोलन शान्तिपूर्ण हुन्छ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भैरहेको धर्मपरिबर्तनको विरुद्धमा छौँ, हामी देशको समृद्धि र प्रगति चाहन्छौं , राष्ट्रियता बलियो बनाउन चाहन्छौँ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदैछ, त्यो चिर्दै अघि बढ्छौँ" थापाले भने ।

 

उनले थपे, "सरकार हाम्रो जायज माग र आन्दोलनप्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ, दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाबिक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ" ।

 

जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशील हुन कार्यकर्ता पङ्क्तिलाई सो अबसरमा निर्देशन समेत उनले दिए ।

 

यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई थापाले पार्टीमा स्वागत समेत गरे ।

 

 

प्रतिकृया दिनुहोस