प्रधानमन्त्री प्रचण्डको सरकारलाई भारी विश्वासको मत दिनु अघिदेखिनै राजनीतिक दलहरूले सर्तैसर्तका स्टन्डवाजी गरे, गर्दैछन् । विभिन्न दलीय समीकरणद्वारा आफू समेत सहभागी भएको संयुक्त सरकारलाई आफैँले सर्त तेर्साउनु आफैमाथि औंला ठड्याउनु वा प्रश्न गर्नु हो । अन्टसन्ट सर्त तेर्साउनुको सट्टा आफूले सरकारमा गएर गर्ने काम, घोषित नीति र मुलुकको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा खेल्ने भूमिका प्रष्ट पार्नु पर्नेमा देखाउनकै लागि सर्त तेर्साउने सस्तो तरिका नयाँ र साना समूह र दलहरूले अपनाए ।
मूलतः मंसिर ४ पछि शक्तिमा आएका आलाकाँचा दल र प्रतिगामी सोच भएका राप्रपा जस्ता दल आफूलाई पानीमाथिको ओभानो देखाउने हल्का विधिबाट अघि आउँदैछन् । जो जिम्मेवार लोकतान्त्रिक अभ्यास पटक्कै होइन । बरू लोकतन्त्र र प्रणालीप्रति आफू प्रतिबद्ध देखाउन चाहनेले आफू प्रणालीको विकास, सुशासन र विधिमा प्रष्टताका साथ सरकारमा गएर जिम्मेवारी पूरा गर्न लागेको घोषणा गर्नुचाहिँ स्वभाविक हुन्थ्यो । अर्काेतर्फ काँग्रेस सत्ताको समर्थनमा मत दिएर एकैपटक सरकारवादी पक्ष र विपक्षीको कित्तामा बस्दैछ । यो अर्काे नौटंकी भयो ।
कसलाई शर्त ?
संविधानको धारा ७६ (२) अनुसार बनेको संयुक्त सरकारमा सामुहिक ढंगले सहभागी बन्ने, उपप्रधानमन्त्री, गृहमन्त्रीदेखि राम्रा भनिएका मन्त्रालय तथा सत्ताका विभिन्न अंगमा भाग खोज्नेले कसलाई सर्त राख्ने ? जनताको प्रतिनिधि हो भने हामी योयो गर्न सरकारमा जाने, गएका हौं भन्दा भईहाल्छ । होइन भने कसलाई केको सर्त ? सर्त प्रधानमन्त्री प्रचण्डलाई कि ? एमाले अध्यक्ष ओलीलाई ? कि आफैँलाई ? सर्त केवल स्टन्डवाजी मात्रै गर्न राखेको देखियो । सत्ता, भत्ता र सान आफू लिनेले आफै सहभागी सरकारमा कसलाई सर्त तेसाएको ? नयाँ जोगीको यस्तो नौटंकी सुहाएन ।
माधव नेपाल कता ?
सरकारमा जाने कि नजाने भन्ने विषयमा माधव नेपालको समूह त्यसै अलमलमा परेको देखिन्छ । सरकारलाई विश्वासको मत दिए पनि सत्तामा कि विपक्षमा भन्नेमा समूहमा अन्योल कायम छ । स्वतन्त्र हैसियतमा रहेका साँसदलाई भुलाउन सरकारमा जान खुट्टा उचालेको जस्तो गर्ने, पार्टीलाई जनतामा लानको लागि भन्दै नाटक गरी सत्ता बाहिर भन्ने दोकल्चे सोचमा माधव नेपाल देखिन्छन् । अर्काे चुनावसम्ममा उनको पार्टी नाम मात्रको दलमा सीमित हुने प्रष्ट भएकोले उनमा सत्ता र सडक कता जाउँ भन्ने दुद्विधा बढेको हो ।
फोस्सामा रविको स्टन्ट्बाजी
कुनै राजनीतिक इतिहास, संगठन, विचार, दर्शन, कार्यक्रम केही पनि नभएको स्वतन्त्र नामधारी समूहको नेता भन्दै रवि लामिछानेले गठन गरेको समूहले अनेकौैैं राजनीतिक असन्तुष्टि, देउवाको असक्षमता, वाहियात गठबन्धन र दिक्कलाग्दो कार्यशैली र एमालेमा आएको विभाजनको हौवा समेतको फाइदा उठाउँदै फोस्सामा पाएको सीटको बलमा आफै गृहमन्त्री भएको सरकारबाट स्टन्डवाजीको लागि स्वयम् सरकारलाई सर्त राख्दैछन् । हालीले अब योयो गर्ने हो भन्ने ल्याकत सहित कुर्सीमा बसेरै फेरि उनी सर्तवाजीको नाटक गर्दैछन् । त्यो सर्त कसको लागि हो ? त्यो पनि थाहा छैन् ।
राप्रपा : पुरानो जोगी, नयाँ खरानी
पंचायती एकदलीय संस्कृति र संस्कारम हुर्की, खाइपिई गरी मोटाएका राजावादी प्रतिगामी शक्तिको रूपमा चिनिएका राप्रपा कुनै नयाँ जोगी होइन् । उनीहरू पुराना जोगी हुन् । यद्यपि नयाँ देखिन तिनीहरूले आफूलाई ध्वाँसे, छिर्केविर्के र नयाँ खरानी धसेका छन् । प्रतिगामी र पुनर्रउत्थानवादी सोच भएका राप्रपाले समेत नेपालमा स्थापित हुँदै गरेको संघीय गणतन्त्रमा सहभागी भई चुनाव जित्ने अनि प्रणाली र संविधान विरोधी स्टन्डवादी गरी नयाँ जोगीले खरानी धसेजस्तो गरी रहेका छन् । यस्ता पुराना जोगी जो नयाँ रुपमा खरानी धस्दै अगाडि आएका छन् उनीहरूबाट लोकतान्त्रिक गणतन्त्रवादीहरू सतर्क हुनुपर्दछ । गणतन्त्रमा खाने, मोटाउने र गणतन्त्रको विरोध गर्ने हुर्दुङ्गा समूहले प्रणालीलाई बदनाम बनाउँदैछन् ।
कांग्रेसको पनि सर्त ?
२०४७ को संविधानपछि लगातार जस्तो सत्तामा रहेर मुलुक लुट्ने काँग्रेसलाई जहिल्यै सत्तामा बस्नैपर्ने स्वादे बानी परेको कारण सरकारलाई समर्थन गर्दै मोलमोलाइ गर्दैछ । सत्ताको स्वाद लतार्नसम्म लतार्दै आएको काँग्रेस थोरै समय पनि सत्तामा बस्न नपाएपछि पानी बिनाको माछो समान बन्यो, बन्दैछ । तिनै काँग्रेसीहरू फेरि प्रचण्ड प्रधानमन्त्री भएको सरकारलाई सर्तैसर्त राख्दै स्टन्डवादी गर्दैछन् । सत्ता कि प्रतिपक्षीको दोसाँधमा रहेको काँग्रेसले कुन षडयन्त्र गर्न प्रचण्डलाई समर्थन गर्यो ? यसमा अनेकौं आशंका देखिन्छ । उसले गरेका यस्ता कार्य र कदमले काँग्रेस स्वमय् हिलोमा जाकिने पक्का भयो ।
अब सहकार्य नगरे कहिले ?
२०७९ मंसिर ४ को निर्वाचनको नतिजानै यस्तो आयो कि कुनै एकदल मात्र होइन दुई भन्दा बढी दल मिल्नैपर्ने बाध्यकारी अवस्था भएकोले अब यहाँ झगडा गर्दै स्टन्डवादी गर्ने फुर्सद र छुट कसैलाई छैन । मुलुकको वृहत् हित, सुशासन, विकास, सुरक्षा, नागरिकको आकांक्षा र अपेक्षाको सम्बोधन कसरी गर्ने भन्ने कुराको चासो तथा चिन्तन एवम् कार्य गर्नैपर्ने भयो ।
यसर्थ अब कुनै दल वा राजनीतिक समूहले अर्काेलाई सर्तैसर्त थोपर्ने होइन कि मिलेरै अघि बढ्नुपर्ने स्थिति बन्यो । सहमति, सहकार्य, एकता तथा हार्दिकतापूर्वक राज्य सत्तामा सहभागी बन्ने र जनताले दिएको जनमत अनुसार कार्य गर्नुपर्ने खाँचो भएकोलेनै सर्त र स्टन्डवाजीको अर्थ देखिन्न । सत्तामा सहभागी भएको मध्ये एमाले ठूलो दल त हो तापनि एमाले मात्रले अन्य दल वा समूहलाई दिने होइन ।
सबै समूह, दल र सहयात्री मिलेरै राज्यको राजनीतिक स्थिरता, समृद्धि, सुशासन तथा विकासमा सक्रियता बढाउनु पर्ने हो । यस्तो जटिल अवस्थामा आफ्नो नाक जोगाउने र स्टन्ड देखाउन अन्टसन्ट सर्त राख्ने कामले मुलुक र प्रणालीको हित गर्दैन ।
प्रणाली नै रहेन र मुलुक कमजोर बन्यो भने त्यहाँ कुनै दल विशेषले के सर्त राख्यो भन्ने कुराले तात्विक अर्थ र महत्व राख्दैन । यसर्थ हाल जारी राखिएका स्टन्डवाजीलाई बन्द गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्री प्रचण्डलाई वा ओलीलाई योयो चाहियो भनेर पनि दिने भाँडोमा सीमित वस्तु वा अवस्था भएकोले कसले बढी माग्ने र स्टन्ड देखाउने भन्ने होडवाजी गर्नुको औचित्य देखिन्न ।
सधैंजसो सत्तामा रहेर तर मारेको नेपाली काँग्रेसले आफूलई मुुलुकको एउटा ठूलो र जिम्मेवार दलको रूपमा मात्र उभ्याउने होइन कि मुलुकको लोकतान्त्रिक, गणतान्त्रिक र संवैधानिक प्रणालीलाई समृद्ध बनाउन आवश्यक सहयोग र कार्य गर्नु पर्ने भएको छ ।
राजनीतिक प्रणालीलाई समृद्ध र सुदृढ बनाउनुको विकल्प छैन् । प्रणाली बलियो भएमात्र राजनीतिक दल, समूह र नागरिक समाज पनि समृद्ध बन्ने भएकोले प्रणालीको विकासमा आफू वा आफ्नो समूहले कहाँबाट केकसरी सहयोगी भूमिका निर्वाह गर्न सकिने हो भन्ने कुरातर्फ सबै सचेत हुनैपर्दछ ।
राज्यको अवस्था र आवश्यकताले सर्तैसर्तको स्टन्डवाजी गर्ने वा रमिते बन्ने छुट कसैलाई छैन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई सर्त तेर्साएर योयो चाहियो भन्नेले मुुलुकको आवश्यकता र हितका आफू र आफ्नो समूहले कहाँ के कसरी जिम्मेवारीपूर्वक सहयोग गर्न सक्ने हो त्यतातर्फ सोच्नुपर्ने देखिन्छ ।



