चितवन, ८ मङ्सिर । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।
उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।
यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिनुभएको छ । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताउनुभयो ।
त्यसैगरी रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।
नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् । अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।



